राष्ट्र बैंकको नीतिको असरः तीन महिनामै सेयर धितो कर्जा २ अर्ब ३६ करोडले घट्यो

  २०७८ कार्तिक ३० गते १६:२५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको कर्जा प्रवाहमा कडाई गर्ने नीतिगत प्रयासको असर देखिएको छ । नीतिगत असरकै कारण गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मार्जिन प्रकृतिको कर्जा २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीले कम प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार गत आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा ८ अर्ब ९९ करोड ३० लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा बढेको थियो । तर, चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा २ अर्ब ३६ करोड ९७ लाख रुपैयाँले मार्जिन प्रकृतिको कर्जा घटेको छ । गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा मार्जिन प्रकृतिको कर्जा २.२ प्रतिशतले कम प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले गत असोज मसान्तसम्ममा सेयर खरिद गर्ने प्रयोजनको लागि प्रयोग हुने मार्जिन प्रकृतिको कर्जा १ खर्ब ३ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ बराबर दिएका छन् । गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको कर्जा १ खर्ब ६ अर्ब २८ करोड ३९ लाख रुपैयाँ बराबर दिएका थिए ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एउटै व्यक्ति वा कम्पनीले एक बैंक वा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म र सबै बैंक तथा वित्तीय संस्थाहरुबाट गरी १२ करोड रुपैयाँसम्म मार्जिन प्रकृतिको कर्जा लिन पाउने नीतिगत व्यवस्था गरेको थियो । यस्तो व्यवस्थाले थोरै ऋण लिएर सेयरमा लगानी गर्ने लगानीकर्तालाई फाइदा पुग्ने राष्ट्र बैंकको तर्क थियो ।

हालै सार्वजनिक भएको तथ्यांकले राष्ट्र बैंकको तर्कलाई सही सावित गरिदिएको छ । तथ्यांकले १ करोड रुपैयाँभन्दा बढीको मार्जिन प्रकृतिको कर्जा प्रवाह ७.६ प्रतिशतले घटेको छ भने ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कर्जा ७ प्रतिशतले बढेको छ । यस्तै, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको कर्जा ९.५ प्रतिशतले बढेको छ भने २५ लाख रुपैयाँभन्दा कम कर्जा १५.२ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले सानो परिमाणको ऋण लिएर सेयरमा लगानी गर्नेहरुलाई सहयोग पुर्याउन भन्दै ४ करोड र १२ करोड रुपैयाँको सीमा तोकेको थियो । यद्यपि, राष्ट्र बैंकले गरेको यस्तो नीतिगत व्यवस्थाको लगानीकर्ताका संघ संस्थाहरुले विरोध गरेका थिए भने मौद्रिक नीति सार्वजनिक भएको केही समयपछि सेयर बजार घटेको पनि थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.