१३ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेबलमा, कुन कम्पनीमा किन बढ्यो लगानीकर्ताको आकर्षण ?

  २०७८ कार्तिक ३० गते १५:५६     विकासन्युज

काठमाडौं । आजको दिन दोस्रो बजार सकारात्मक रह्यो । कारोबार रकम, परिसुचकको बृद्धि जस्ता सुचकले दोस्रो बजार सकारात्मक रहेको देखाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १३ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेबलमा पुग्यो । कुनै पनि कम्पनीको सेयर मूल्य एकै दिन १० प्रतिशतले बढ्नु भनेको मूल्य बढेर सर्किट लेबलमा पुगेको मानिन्छ । एकै दिन कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढ्न वा घट्न पाउँदैन । नेप्सेले कुनै पनि कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ भने सोभन्दा बढी घट्न दिदैन । यस्तै, १० प्रतिशतले बढेको छ भने पनि सोभन्दा बढी बढ्न दिदैन ।

आज १३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज ६ वटा कम्पनीहरु नेपाल टेलिकम (एनटीसी), नेपाल बंगलादेश (एनबी) बैंक, महालक्ष्मी विकास बैंक, पन्चकन्या माई हाइड्रोपावर, अपर तामाकोशी जलविद्युत र मैलुङखोल जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्ेको छ ।

यस्तै, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । प्रभु इन्स्योरेन्स कम्पनीको मूल्य ९.५३ प्रतिशतले, श्रीइन्भेष्टमेन्ट फाइनान्स कम्पनीको ९.४३ प्रतिशतले, लिवर्टी इनर्जी कम्पनीको ९.२१ प्रतिशतले, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ९.०८ प्रतिशतले र नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.०७ प्रतिशतले बढेको छ ।

किन बढ्यो मूल्य ?

आज दोस्रो बजारमा १० प्रतिशतले सेयर मूल्य बढेकामध्ये एनबी बैंक अर्काे एक वाणिज्य बैंकसँग मर्जरमा जाँदैछ भन्ने हल्लाले काम गरेको छ । नविल बैंक र एनबी बैंकबीच मर्जर हुँदैछ भन्ने हल्ला दोस्रो बजारमा व्यापक हुँदा सेयर मूल्य बढेर सर्किट लेबलमा पुगेको हो ।

एनबी बैंकको सेयर मूल्य दोस्रो बजारमा यसअघि पनि नबिल बैंकसँग मर्जरमा जादैछ भन्ने हल्लाले बढेको थियो । एनबी बैंकको बंगलादेशी साझेदार आईएफआईसीले आफ्नो स्वामित्वको सेयर विक्री गर्न लागेको छ । सो सेयर नेपाली व्यवसायी तथा नबिल बैंकका लगानीकर्ता विनोद चौधरीले किन्ने गृहकार्य भएको र एनबी बैंक पनि नबिलसँग मर्जरमा जान्छ भन्ने विश्लेषणका आधारमा एनबीको सेयर मूल्य बढेको हो ।

एनटीसीको सेयर मूल्य बढ्नुमा भने स्वभाविक कारण देखिन्छ । एनटीसीले आज प्रकाशित गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा उसको नाफा ५० प्रतिशतको हाराहारीमा बृद्धि भएको देखाएको छ । एनटीसीको नाफा बृद्धि भएको वित्तीय विवरण प्रकाशित भएकोले सो कम्पनीको सेयर मूल्य बढेको हो ।

१० प्रतिशतले नै मूल्य बढेको महालक्ष्मी विकास बैंकको सेयर मूल्य केही दिनयता बढ्ने गरेको छ । मूल्य बढेर सर्किट लेबलमा कारोबार भएको अर्काे कम्पनी पन्चकन्या माईले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ११२ प्रतिशतले नाफा बढेको वित्तीय विवरण आज मात्रै प्रकाशित गरेको थियो ।

यस्तै, अपर तामाकोशीले पनि आज नै वित्तीय विवरण प्रकाशित गरेको छ । तामाकोशीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै ८६ करोड रुपैयाँ नाफा भएको वित्तीय विवरण प्रकाशित गरेको छ । नाफा बृद्धि भएको वित्तीय विवरण प्रकाशित भएकोले पनि अपर तामाकोशीको मूल्य बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.