विमानस्थलमा हामीले हाम्रो यात्रुलाई नमस्कार गर्न पनि पाएनौं-विजय श्रेष्ठ

  २०७८ कार्तिक २८ गते ११:२६     विकासन्युज

विजय श्रेष्ठ, हिमालय एयरलाइन्सका बरिष्ठ उपाध्यक्ष

हिमालय एयरलाइन्स नेपालको यती वर्ल्ड इन्भेष्टमेन्ट कम्पनी र तिब्बतको सिभिल एभियसन डभेलपमेन्ट एन्ड इन्भेष्टमेन्टको संयुक्त लगानीमा सञ्चालित एयरलाइन्स कम्पनी हो । यसमा यती समूहको ५१ प्रतिशत र ४९ प्रतिशत तिब्बत एयरलाइन्सको लगानी रहेको छ । एयरलाइन्ससँग हाल एयरबस ३२० सिरिजका चार थान जहाज छन् । प्रस्तुत छ कम्पनीका बरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठसँग विगत ७ वर्षमा यस कम्पनीको आरोहअवरोह, वर्तमान अवस्था र भविष्यको योजनाबारेमा समुन्द्रा घिमिरेले गरेको विकास वहस ।

सन् २०१४ देखि शुरु भएको हिमालयन एयरलाइन्सको व्यवसायिक यात्राको समिक्षा कसरी गर्नुहुन्छ ?

हामीले सन् २०१४ सालमा हाम्रो बिजनेशलाई नेपालमा व्यवसायिक रुपमा सुरु गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रियाहरु सक्ने काम गर्यौं । नेपाल सरकारबाट अनुमति लिएपछि हामीले सन् २०१५ को जुन महिनामा जहाज ल्याएर उडानको तयारी (फ्लाइट अपरेशन) गर्ने योजना थियो ।

तर अप्रिलमा गएको महाभूकम्पले गर्दा हामीले सम्पूर्ण तयारी केही समय रोक्नुपर्यो । जहाज खरिद, कर्मचारीको व्यवस्थापनदेखि भौतिक पूर्वाधारका सम्पूर्ण कामलाई हामीले पोस्टपोण्ड गर्नुपर्ने भयो । त्यसले गर्दा हाम्रो कामलाई एक वर्ष रोक्नुपर्याे ।

भूकम्पका कारण हामीले सन् २०१६ मा मात्र सबै काम सक्यौं । हामीले एक वर्ष यतिकै खेर फाल्नुपर्यो । उक्त एक वर्षसम्म आम्दानीको बाटो खोल्न सकेनौं, आम्दानीको मुहान नै बन्द भयो । एक वर्षसम्म हाम्रो लगानी मात्र भयो, प्रतिफल केही भएन । हाम्रो सुरुवाती चरण नै दुःखद हुन गयो । तयारीको हिसाबले हामीले सबै इनर्जी, पावर लगाएर तयारी गरेका थियौं, तर सर्भिस लन्च गर्न नपाउँदा सवा एक वर्ष यत्तिकै गयो ।

व्यवसायिक रुपमा हेर्दा अहिले नाफा वा नोक्सान कस्तो अवस्थामा छौं ?

वास्तवमा भन्ने हो भने सन् २०१६ सालदेखि हामीले व्यवसाय सुरु गरेका हौं । हाम्रो सेवाको सुरुवातसँगै हामीले जहाज थप गर्यौं । जहाजको संख्या सँगसँगै हामीले उडान रुट (गन्तव्य) विस्तार, जनशक्तिको व्यवस्थापन गरेका थियौं । सुरुको अवस्थामा हामीलाई केही समस्या भयो । नयाँ क्षेत्र । भर्खरै जन्मेको बच्चालाई देखिने समस्या जस्तै हामीलाई पनि केही समस्या देखिएको थियो । अहिलेसम्म हामीले सुरुवातमा भूकम्पदेखि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को अवस्थामा आइपुग्दा हामी नाफामा जान सकेका छैनौं । हामी झण्डै १० अर्ब नेपाली रुपैयाँ बराबर हामी नोक्सानमा छौं ।

तर अहिलेको नोक्सानलाई हामीले अनपेक्षित रुपमा लिएका छैनौं । हाम्रो बिजनेश प्लान लामो छ । सानातिना नोक्सानमा डराएर हुँदैन भन्ने हिसाबले योजना अनुसार काम गरेका छौं । हामीलाई विश्वास छ, हामी केही समयपछि नाफामा जान्छौं ।

अहिलेको अवस्था (कोभिड महामारी) मा हामीले उद्धार, मेडिकल कार्गाेदेखि चार्टड उडान गर्यौं । महामारीको अवस्थामा हामीले सरकारलाई सहयोग गर्नेदेखि (राहत कोषमा १ करोड जम्मा गर्नेदेखि निःशुल्क मेडिकल उडानसम्म) नियमित उडान सुचारु नै राखेका थियौं ।

कोभिडको महामारीमा हामीले सबै कर्मचारीलाई सुरक्षित साथ काममा खटाएका थियौं । कोही कर्मचारीलाई केही भएन । हामीले हाम्रा सम्पूर्ण कर्मचारीलाई नियमित रुपमा तलब तथा भत्ता उपलब्ध गराएका थियौं । कर्मचारीको कार्यक्षमताका आधारमा केही कर्मचारीलाई पुरस्कृत समेत गर्न सक्यौं, यही नै ठूलो उपलब्धि हो ।

कोरोनाका कारण जनता घरभित्र बसिरहेको अवस्थामा हामी निडरका साथ निरन्तर जनताको सेवामा खटियौं । यही नै हाम्रो उपलब्धी भयो । हामीले सरकारलाई बुझाउनुपर्ने रकम (ठूला करदाता, नेपाल नागरिक उडड्यन प्राधिकरण, विमानस्थल कार्यालयदेखि नेपाल वायुसेवा निगमलाई) नियमित रुपमा बुझाएका छौं ।

हामी नाफामा जान अझै केही समय लाग्छ । हाम्रो क्षमता विस्तारदेखि (जहाज थप) उडान गन्तव्य विस्तार लगायतका बाँकी धेरै काम गर्नुपर्छ । कोभिडले गर्दा योजना अनुसार जहाज ल्याउन सकिएको छैन । हामीले हाल ४ वटा जहाजबाट उडान गरिरहेका छौं । सन् २०२१ को सुरुवाती चरणमा नै हामीले नयाँ जहाज ल्याउनका लागि सरकारबाट अनुमति पाएका थियौं । सरकारले जहाज खरिदका लागि एक वर्षको समय दिएको थियो । तर कोरोना महामारीका कारण हामीले जहाज ल्याउन सकेनौं । अब पुनः जहाज खरिदका लागि अनुमति लिएर नयाँ प्रक्रिया सुरु गर्नुपर्छ ।
अन्य वायुसेवा कम्पनीहरुले भएका जहाज विस्थापन गरिरहेका छन् । तर हामीले थप जहाज खरिद गरेर उडान सुरु गर्ने तयारी गरेका छौं । कोभिडले रोकेको जहाज खरिद प्रक्रिया हामीले पुनः सुरु गरेका छौं, सम्भवत अर्काे वर्षभित्र जहाज आइसक्छ ।

हामी क्रमश क्षमता विस्तार गर्ने योजनामा छौं । जहाज थपसँगै कर्मचारी, ग्राउण्ड ह्याडलीङ, गन्तव्य विस्तारका सबै कामहरु हुन्छन् । प्यान्डामिक (कोभिड) को अवस्था सकिएपछि हामीले जहाज थपसँगै नयाँ÷नयाँ गन्तव्यमा उडान विस्तार गर्छौं । चीनका विभिन्न १० गन्तव्यमा उडान विस्तार गर्ने हाम्रो तयारी छ । चीन सरकारले नाका खुला गर्नासाथ हामी ५ गन्तव्यमा उडान विस्तारको तयारीमा छौं । नाका खुला हुनासाथ उडान सुरु गर्न हामीले सबै व्यवस्था मिलाइसकेका छौं ।

चीनसँगै हामी अन्य गन्तव्यमा उडान विस्तारको तयारीमा छौं । हाल अन्य देशको तुलनामा घुमफिरका लागि चीनका पर्यटकहरु धेरै बाहिरिने गरेका छन् । चीनका १० गन्तव्यमा नियमित उडान गरेर हामीले चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने छौं । हाम्रो गन्तव्य विस्तारसँगै नेपालको पर्यटन क्षेत्रमा धेरै सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौं ।

हामीले उडान सुरु गरेदेखि क्षमता विस्तार गरिरहेका छौं । नेपाली कोपाइलटको क्षमता विस्तार गरेर हामीले क्याप्टेन बनाएका छौं । सुरुवाती चरणमा हाम्रा सबै पाइलट विदेशी थिए । अहिले १ तिहाई नेपाली क्याप्टेन हामीले बनाइसकेका छौं । अब केही समयमा नै हामीले सबै विदेशी पाइलटलाई हटाएर सबै नेपाली क्यापटेन बनाउछौं । सोही तयारी अनुसार केही पाइटलहरु तालिमका लागि विदेश गएका छन् । नेपाली दक्ष जनशक्तिलाई टप म्यानेजमेन्टमा राख्ने हाम्रो योजना छ ।

नाफामा जानलाई कति समय लाग्छ, केही अनुमान छ ?

हामी आफ्नो कुरामा स्पष्ट छौं । चीन र नेपालीकोे संयुक्त लगानीमा सञ्चालित एयरलाइन्स कम्पनी हो । दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउने, देशको अर्थतन्त्रलाई जोगाउँने, पर्यटन क्षेत्रलाई पुस गर्नेदेखि एभिएसन क्षेत्रमा काम गर्ने हाम्रो योजना हो । योजना अनुसार हामीले यी चार क्षेत्रमा काम गर्न सक्यौं भने हामी नाफामा जान्छौ । हामीले अहिले नाफाभन्दा पनि सेवामा जोड दिएका छौं । हामी तत्काल नाफाभन्दा पछि कम्पनीलाई ग्रो गर्न लागेका छौं ।

केही समय अघि सेल्फ ग्राउण्ड ह्याण्डलिङको विषय चर्चामा थियो । समस्या समाधान भयो ?

हामीलाई नेपाल सरकारले सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएको हो । सरकारले दिएको अनुमति अनुसार हामीले काम गर्न पाएनौं । यात्रीहरु विमानस्थलमा चेकिङ गर्ने प्रक्रिया, विमानस्थलमा बस्ने व्यवस्था विमानस्थलले नै गर्छ । त्यसपछि ती यात्रुलाई जहाजसम्म पुर्याएर बसाउने, जहाजको बेसिक सफाइ गर्ने कामलाई हामीले सेल्फ ग्राउण्ड ह्याण्डलिङ भन्छौं । यस्तै, कमर्शियल ग्राउण्ड ह्याण्डलिङ भनेको जहाजको भित्र बाहिर सफाइ गर्ने, पुस गर्नेदेखि उडानका लागि तयारी गर्ने काम हो ।

हाम्रो आश्रयस्थल भनेको नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । होम बेस भएको विमानस्थलमा हामीले हाम्रो यात्रुलाई नमस्कार गर्न सरकारले दिएको अनुमतिको समेत प्रयोग गर्न पाएनौं । अनुमति अनुसार काम गर्न नपाउँदा हामीले प्रतिउडान ३ हजार डलर नेपाल वायुसेवा निगमलाई बुझाउने गरेका छौं ।

हामीले हाम्रो यात्रुलाई नमस्कार गर्न नपाउने ? व्यवसायिक रुपमा सरकारले दिएको अनुमतिको उपयोग गर्न पाउनुपर्छ जस्तो लाग्छ । सरकारको अनुमति पाएर पनि हामीले सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम गर्न पाएनौं । महङ्गो शुल्क लिने तर राम्रो सेवा नभएको भन्दै धेरै गुनासो आउने गरेको छ । निगमले लिएको पैसा अनुसार काम गरेन ।

लोकल बजारमा भूकम्प र विश्व बजारमा कोभिड–१९ झेल्नुपर्याे । तपाईंहरुलाई गलत समयमा व्यवयास सुरु गरिएछ भन्ने अनुभूति हुन्छ ?
यो कोइन्सीडेन्ट मात्र हो । भैपरी आउने कुरा कसैलाई थाहा हुँदैन् । भूकम्प सन् २०१५ मा नगएको भए अरु कुनै समयमा त जान्थ्यो होला नी । अब अहिले कोभिड महामारी आएको छ । कोभिड नभएपनि अन्य कुनै महामारी आउथ्यो होला नी, हैन र ।

२००० सालदेखि एभिएसन क्षेत्रमा क्रमशः विभिन्न समस्या आएका छन् । यो चक्र प्रणाली अनुसार आइरहन्छन् । हाम्रो जीवनमा जसरी विभिन्न खालका समस्या आउँछन्, त्यसरी नै व्यवसायमा पनि आउँछ नै । नियम एकै हो, हामीले समाधान गर्ने हो, भागेर सुख नै छैन नि । यस्ता खालका समस्याहरु आउँछन्, ढिलो चाडो मात्र हो ।

विदेशी कम्पनीको संयुक्त लगानीमा कम्पनी सञ्चालन गरिएको छ । जोइन्ट भेन्चरमा काम गर्दा एयरलाइन्सलाई सञ्चालन कस्तो हुँदोरहेछ ?

विदेशी जोइन्ट भेन्चरका केही फाइदाहरु पक्कै छन् । हामीले फाइदा नै लिएका छौं । हामीले एयरबस २२० (न्यारोवडी) नेपाल ल्याउँदा आवश्यक जनशक्ति केही थिएन । हामीलाई पाइलट, कोपाइलट, एयरहोस्टेज, इन्जिनियरदेखि दक्ष कामदारको आवश्यक थियो । तर हामीले खोजेजस्तो दक्ष जनशक्ति नेपालमा उपलब्ध भएन ।

विदेशी कम्पनीसँगको साझेदारी अझ भनौं एभियसन क्षेत्रकै कम्पनीसँगको संयुक्त लगानी थियो । चीनमा आन्तरिक उडान गरिरहेको कम्पनीसँगको संयुक्त लगानी हुँदा हामीले आवश्यक पर्ने उपकरणदेखि सबै म्यानपावर चीनबाटै पायौं । बाहिर देख्दा जति सजिलो छ नी, तर अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनी सञ्चालन गर्न धेरै अप्ठ्यारो छ । धेरै अप्ठ्यारोका बीच पनि हामीलाई विदेशी कम्पनीको लगानी र सहयोगका कारण काम गर्न सहज भयो । एउटै क्षेत्रको जोइन्ट भेन्चर भएर हामीलाई धेरै सहज भएको छ । हामीले धेरै सहयोग लिएका छौं ।

सरकारले हिमालय एयरलाइन्सलाई अलि धेरै माया गरेको छ भनिन्छ नि ?

सरकारले हिमालयलाई मात्र हैन, नेपालमा उडान गर्ने सबै एभियसन (वायुसेवा कम्पनीलाई) माया गरेको छ । नेपालको सरकार सँधैभरि असल सरकारको रुपमा रहेको छ । सरकारले सबै वायुसेवा कम्पनीलाई हेर्ने नजर पोजेटिभ छ, यो पक्का नै हो । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली लगानीका कम्पनी नभई नेपालमा उडान गर्ने सम्पूर्ण विदेशी कम्पनीलाई हेर्ने नजर एकै छ ।

सरकारले सहयोग नगर्ने हो भनै २९÷३० वटा विदेशी वायुुसेवा कम्पनीले नेपालमा उडान गर्ने थिएनन् होला । अर्काे कुरा सरकारलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि एभियसनकै मुख्य भूमिका छ भन्ने कुरा थाहा छ । सोही कारण सरकारले एभियसनलाई पोजेटिभ दृष्टिकोणबाट हुर्नुपर्छ ।

अर्काे कुरा जोइन्ट भेञ्चरको लगानी भएका कम्पनीमा सटेन कुरामा सरकारको पोलिसी राम्रो भएपनि केही कुरामा समस्या छ ।

हामी नोक्सानमा गएको कम्पनी हो । करिब तीन वर्ष अगाडी हामीलाई पुँजीको आवश्यक परेको थियो । हामीले सरकारसँग विदेशी पेरेन्ट कम्पनीबाट लोन ल्याउनका लागि अनुमति मागेका थियौं । त्यतिबेला हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई बक्यौता रकम स्वरुप ठूलो रकम भुक्तानी गर्नुपर्ने थियो ।

सरकारलाई विभिन्न शीर्षकमा गरी ५० करोडभन्दा बढी रकम हामीले भुक्तानी गर्न सकेका थिएनौं । हामीलाई जोइन्ट भेञ्चर सुरु गर्ने समयमा विदेशी लोन, डाइरेक्ट इन्भेष्टमेन्टका रुपमा आउँथ्यो । तर पछि हामीले काम गर्दा गर्दै विदेशी कम्पनीले डाइरेक्ट लोन ल्याउन नपाउने, अझ भनौं पेरेन्ट कम्पनीबाट त लोन दिनै नपाउने नियम ल्यायो ।

हामी नोक्सानीमा गएका कम्पनीलाई स्वदेश तथा विदेशी कुनै पनि कम्पनीले लोन दिँदैनन् । लोन ल्याउन नपाउने सम्बन्धित कम्पनीबाट लोन ल्याउन नपाउने व्यवस्था हुँदा हामीलाई धेरै अप्ठ्यारो पर्यो । त्यसपछि मैले सरकारसँग सरकारी ऋण भुक्तानी गर्न भएपनि विदेशी कम्पनीबाट लोन ल्याउने व्यवस्था मिलाईदिनुस् भनेर निवेदन गरे । सरकारले सो निवेदन स्वीकृत गरेन ।

हामीलाई धेरै अप्ठ्यारो हुँदा सरकारले सहयोग गरेको छैन, नियम अनुसार अनुमति पाएको कामको त हामीले प्रतिफल पाउन सकेका छैनौं, कसरी माया गर्याे सरकारले हिमालय एयरलाइन्सलाई ?

सरकारलाई राजश्व तिर्न, कम्पनीलाई जोगाई राख्ने र दुई देशबीचको सम्बन्ध हामीले जोगाएका छौं नी । हामीलाई सरकारले ऋण ल्याउन नदिएको बेला फरेन इन्भेष्टमेन्टका लागी आग्रह गरिरहेको थियो । विदेशी कम्पनीलाई आउ भन्ने अनि आवश्यक पर्दा सहयोग नगर्ने सरकारको पुरानै नियम हो ।

लामो समयदेखि नेपाली आकाश ईयुको कालोसूचीमा छ । कालोसूचीबाट हटाउन पाएको भए, नेपालको एभियसनसँगै पर्यटन क्षेत्रलाई ठूलो राहत हुन्थ्यो ?

नेपाली आकाश सन् २०१३ देखि यूरोपियन युनियन (ईयु) को कालोसूचीमा छ । आइकाओ र ईयुले नेपाली आकाशलाई सँगै कालोसूचीमा राखेपनि करिब तीन वर्ष अगाडी आइकाओले कालोसूचीबाट हटाइसकेको छ । आइकाओको कालोसूचीबाट नेपाली आकाश हट्नुको केही मुख्य कारण हामी पनि हो । हिमालय एयरलाइन्सको सेफ्टी स्टाण्डर्डलाई आधार बनाएर नै कालोसूचीको सूचीबाट हटाउन धेरै सहयोग पुगको छ ।

आइकाओ, नेपाल नागरिक उडड्यन प्राधिकरणका अधिकारीहरु हाम्रो सेफ्टी स्टाण्डर्डको अनुगमन गर्न आउनु भएको थियो । क्यानका हाकिमहरुको अगाडी नै आइकाओको प्रातिनिधिले हिमालय एशिया प्यासिफिकको दाजोमा (राम्रो एयरलाइन्समा पर्छ) राम्रो छ भनेर भनेका थिए । नेपाल अझै ईयुको कालोसूचीमा नै रहेको छ । यसका पछाडी केही मुख्य कारणहरु छन्, ती पुरा भएपछि हट्छ ।

ईयुले औंल्याएको एउटा मुख्य कुरा हो नेपाल नागरिक उडड्यन प्राधिकरण ट्क्याएर सेवा प्रदायक र नियामक निकाय छुट्टा छुट्टै बनाउनुपर्ने । ईयुले औंल्याए अनुसार क्यानलाई दुई भागमा विभाजन गर्न पर्यटन मन्त्रालयले नयाँ विद्येयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको छ । संसद्ले सो विधेयक पारित गरेर क्यान दुई भागमा विभाजन भएपछि ईयुले कालोसूचीबाट हटाउने मुख्य सम्भावना देखिएको छ ।

ईयुको कालोसूचीबाट नेपाली आकाश हटेसँगै नेपालमा युरोपियन पर्यटन धेरै भित्रने अनुमान गरिएको छ । विश्वमा युरोपियन नागरिकको संख्यासँगै बसाई र खर्च पनि धेरै गर्छन् भन्ने अनुमान छ । कालोसूचीबाट नेपाल हटेसँगै युरोपका नागरिकलाई नेपाल आउन सहज हुन्छ । नेपाली एयरलाइन्सले युरोपमा सिधा उडान गर्न सक्छन्, नभए पनि अरु एयरलाइन्सहरु सिधै नेपाल आउन सक्छन् । सिधा उडान सुचारु भएसँगै पर्यटकीय गतिविधि पनि बढ्ने अनुमान गर्न सकिन्छ ।

कम्पनी यहि मोडलमा सञ्चालन हुन्छ, कि पब्लिक कम्पनीमा जान्छ ?

हामी जोइन्ट भेन्चर कम्पनी हौं । हाम्रो तत्कालीन योजना पब्लिकमा जाने छैन । हाम्रो सम्झौता अनुसार कम्पनी यहि मोडलमा सञ्चालन हुन्छ । हामी लगानी थप्छौं । कम्पनीलाई अगाडी बढाउन लगानीको आवश्यक त पर्छ नै, तर कति थपिन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन ।

कोभिडले विश्वकै अर्थतन्त्र धरासायी बनेको समयमा हिमालयले चार्टर्ड उडान गरेर कर्मचारीलाई बोनस दियो भन्ने हल्ला छ नि, के यो सत्य हो ?
हो, हामी कोभिडको समयमा यतिकै बसेनौं । हामीले माग अनुसार स्वास्थ्य मापदण्डको पालना गर्दै चार्टर्ड, उद्धार, मेडिकल कार्गाे लगायतका उडानहरु सुचारु नै राखेका थियौं ।

हामी कर्मचारी केन्द्रीत कम्पनी हो । नेपालका कमै संस्थामा सातामा २ दिन छुट्टी हुन्छ । तर हामीले हप्तामा २ दिन छुट्टी दिने गरेका छौं ।
हामीले कर्मचारीको क्षमता र दक्षता अनुसार २ दिन बिदासँगै समय समयमा उनीहरुलाई अपग्रेड गर्दै लगेका छौं । कर्मचारीलाई हामीले बोनस हैन, कोभिडको समयमा पनि नियमित रुपमा सेवा सुविधा दिन सक्यौं ।

हामीले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न बोनस होइन इन्सेन्टिभ दिन्छौं, त्यही दिएका हौं । यो हामीले आवश्यकता अनुसार दिने गरेका छौं, नियमित प्रक्रिया हो, कोभिडको समयमा मात्र दिएका हैनौं ।

अन्त्यमा कम्पनीको नयाँ जहाज थपसँगै नयाँ योजना के के छन् ?
हामीले सन् २०२२ भित्र थप एउटा जहाज ल्याउने तयारी थालेका छौं । हामीले चीन सरकारले नाका खुला गरेपछि १० वटा गन्तव्यसम्म उडान विस्तार गर्ने तयारीमा छौं । ५ गन्तव्यमा हामीलाई कोभिड सुरु हुनुभन्दा अगाडी नै अनुमति पाएका हौं, नाका खुला हुनासाथ थप प्रक्रिया अगाडी बढाउछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.