सेयर बजार ओरालो लाग्ने क्रम जारी, दिनभरमा पौने ९५ लाख कित्ता किनबेच

  २०७८ कार्तिक २५ गते १५:२५     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । यो साताको शुरुवातदेखि ओरालो लागेको बजार बिहीबार अन्तिम कारोबारमा पनि उच्च अंकले घटेर ओरालो लागेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ५९.५७ अंकले घटेर २६९०.२९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१७ प्रतिशतले घटी हो ।

बजारमा कारोबार रकम पनि घटेको छ । मंगलबार ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार भने ५ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबार रकमको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ४७ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको अन्तिम कारोबार भने प्रतिकित्ता ७१४ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा ९.९९ प्रतिशत अर्थात ९५.६० रुपैयाँले घटी हो ।

निरन्तर घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले घटेको छ ।

उता दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको हो ।

बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूह ३१६ अंकले ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.