गौतमबुद्ध विमानस्थलमा ३ सय डलर महंगो शुल्कमा सुटुक्क छिराइयो भारतीय कम्पनी

  २०७८ कार्तिक २५ गते १०:५४     समुन्द्र घिमिरे

काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगेको भैरवहास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) का लागि २ छुट्टा छुट्टै कम्पनीलाई अनुमति दिइएको पाइएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को केही दिनअघि बसेको सञ्चालक समिति बैंठकले इन्डियन एयरपोर्ट अथोरिटी (एएआई) लाई क्यालिब्रेसन फ्लाइटले अनुमति दिने निर्णय गरेको हो ।

यसअघि नै क्यानले गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडानका लागि थाइल्याण्डको एरो थाइलाई अनुमति दिएको थियो । एरो थाइकोे सम्झौता रद्द नगरी क्यान बोर्डले एआईलाई पुनः अनुमति दिने निर्णय गरेको हो ।

खरिद नियमावली अनुसार एउटा कम्पनीसँग भएको अनुमति रद्द नगरी अर्काे कम्पनीलाई अनुमति दिन पाइदैन । तर, क्यान बोर्डले अपरिपक्क निर्णय गर्दा एरो थाइ अदालत जाने तयारी गरेको छ ।

आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पुरा गरी क्लालिब्रेसन फ्लाइट गर्ने भन्दै प्राधिकरणलाई पत्र पठाएको थियो । तर प्राधिकरणले उडानमा ढिलाई हुने भन्दै एकतर्फि रुपमा सम्झौता रद्द भएको भन्दै इमेल पठाएको थियो ।

सो कम्पनीले नेपाल आउँछु भन्दै पत्र पठाउँदा सिमित व्यक्तिको स्वार्थका कारण भारतीय कम्पनीलाई अनुमति दिने निर्णय भएको कर्मचारीहरु बताउँछन् ।

‘कोभिडका कारण थाइल्याण्ड सरकारले आप्ना नागरिकलाई देशबाहिर जाने अनुमति दिएको थिएन, भर्खर खुला भएको छ, कम्पनीले मिति तोकेर नै नेपाल आउछु भनेर इमेल गरेको छ, जानकारी हुँदाहुँदै एकतर्फि रुपमा सम्झौता रद्द भयो भनी अर्काे कम्पनीलाई अनुमति दिने निर्णय गर्नुको पछाडी ठूलो स्थार्थ लुकेको देखिन्छ’, क्यानका एक कर्मचारीले भने ।

राष्ट्रिय गौरवका आयोजना र विमानस्थल आयोजनाका सम्बन्धित कर्मचारीले समेत एकतर्फि रुपमा एरो थाइको ठेक्का रद्द गरिएको विषयमा जानकारी नभएको जनाएका छन् ।

क्यानका निवर्तमान महानिर्देशक राजन पोखरेलले एरो थाइलाई इमेत मार्फत पत्र पठाउँदै ठेक्का सम्झौता रद्द भएको जनाएका थिए ।

बोर्डले आफूलाई एयर थाइसँगको सम्झौताको विषयमा प्रश्न गर्ने भन्दै एकतर्फि रुपमा इमेत गरी ठेक्का रद्द गरिएको पोखरेलले जनाएका थिए ।

उनले आप्नो स्वार्थ अनुसार एकतर्फि रुपमा प्रस्ताव गरेर बोर्डसँगै मन्त्रीलाई समेत गुमराहमा राखेको क्यानका एक कर्मचारीले बताए । उनले आप्नो स्वार्थ पूरा गर्नखोज्दा अन्तर्राष्ट्रिय विमानस्थलसँगै छिमेकी देशसँगको सम्बन्धमा समेत असर पर्ने देखिएको जानकारहरु बताउँछन् ।

कसको स्वार्थमा दिईयो भारतीय कम्पनीलाई अनुमति ?

क्यानका निर्वतमान महानिर्देशक राजन पोखरेल र क्यानकै कमिनिकेशन, नेविगेशन र सर्भिलेन्स विभागका प्रमुख मुकुल मिश्रको मिलोमोतोमा एरो थाइको अनुमति रद्द नगरी भारतीय कम्पनीलाई अनुमति दिने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा पठाइएको थियो ।

क्यानाका महानिर्देशकको रुपमा चार वर्षका लागि नियुक्त भएका र कार्यकाल थप हुने सम्भावन रहेको भन्दै पोखरेलले भारतीय कम्पनीलाई अनुमति दिने प्रस्ताव बोर्डमा पठाएका थिए । उनले आफ्नो स्वार्थका कारण राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विवादमा पारेका हुन् ।

उनले पठाएको प्रस्ताव अनुसार केही दिन अघि बसेको बोर्डले भारतीय कम्पनीलाई क्यालेब्रेसन उडानको अनुमति दिने निर्णय गरेको थियो ।

तर, क्यानका सञ्चालकमा रुपमा रहेका भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटा र निजी क्षेत्रबाट प्रतिनिधित्व गरेका महेशकुमार गुरागाईले एउटा कम्पनीसँग भएको सम्झौता रद्द नगरी अर्काे कम्पनीलाई दिने निर्णय अपरिपक्क भएको भन्दै सो निर्णयमा हस्ताक्षर गरेका छैनन् ।

बिना प्रतिस्पर्धा प्रतिघण्टा ५ सय डलर महंगोमा निर्णय

क्यानले गौतमबुद्ध विमानस्थल सहित रात्रीकालिन उडान हुने ९ वटा विमानस्थलको क्यालिब्रेसन उडानका लागि एसो थाइसँग सम्झौता गरेको छ । तीन वर्षका लागि गरिएको सो सम्झौता अनुसार एक वर्ष उडान भएपनि कोभिडका कारण क्यालिब्रेसन उडान हुन सकेको छैन ।

प्रत्येक वर्ष रात्रीकालिन उडान हुने विमानस्थलमा क्यालिब्रेसन उडान गर्नुपर्छ । सोही अनुसार रात्रीकालिन उडान हुने ९ वटा विमानस्थलका लागि प्रतिघण्टा ३१ सय र गौतमबुद्ध विमानस्थलमा ३३ सय अमेरिकी डलरमा सम्झौता भएको थियो ।

तर, केही दिनअघि क्यान बोर्डले गौतमबुद्ध सहित अन्य विमानस्थलमा प्रतिघण्टा ३६ सय अमेरिकी डलरमा उडान गर्नेगरी निर्णय गरेको छ ।

बोलपत्र आह्वान मार्फत दिईएको कम्पनीसँग भएको सम्झौता रोकेर बिना प्रतिस्पर्धा महंगो दरमा भारतीय कम्पनीलाई अनुमति दिने निर्णय भएको क्यानका एक कर्मचारीले जानकारी दिए ।

उनका अनुसार सिमित व्यक्तिको स्वार्थका कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा अन्यौल भएको छ ।

‘क्यान बोर्डबाट नियम विपरित निर्णय भएको छ, ५ वर्षदेखिको तयारीका बाबजुत भारत सरकारले भारतको आकाश हुँदै गौतमबुद्ध विमानस्थलमा हवाई प्रवेशको अनुमति दिएको छैन, एयर थाइसँगको सम्झौता रद्द नगर्दै भारतीय कम्पनीलाई अनुमति दिने निर्णय गर्दा समस्या हुने देखिन्छ’, ती कर्मचारीले भने ।

क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो ।

क्यालिब्रेसन फ्लाइटपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम अनुसार एआईपी एरोनटिकल पब्लिकेसनमा विमानस्थल सम्बन्धित विवरण प्रकाशन गरेर मात्रै परीक्षण उडान गर्न पाइन्छ । क्यालिब्रेसन फ्लाइटका लागि करिब ३ महिनाको समय लाग्नेछ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ–वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।

विमानस्थलमा जडान गर्नुपर्न रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरणहरू, ब्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिन आदि यन्त्र–उपकरण जडान कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

क्यान सञ्चालक समितिको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सदस्यहरूमा पर्यटन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डे, अर्थ मन्त्रालय अन्तरगतको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा, निजी क्षेत्रबाट महेशकुमार गुरागाईं र सदस्य सचिवको रुपमा महानिर्देशक राजकुमार क्षेत्री छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.