विदेशबाट नेपाली कामदारको माग धमाधम आउन थाल्यो, एक महिनामै ४० हजारले छोडे देश

  २०७८ कार्तिक २३ गते १४:०४     विकासन्युज

काठमाडौं । नेपालको वैदेशिक रोजगारी कोभिड–१९ अघिको अवस्थामा फर्किएको छ । पछिल्लो समय कोरोना संक्रमणदर ओरालो लागेसँगै वैदेशिक रोजगारी फेरि पुरानै अवस्थामा फर्किएको म्यानपावर व्यवसायीहरु बताउँछन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठका अनुसार वैदेशिक रोजगारी कोभिड अघिको अवस्थामा फर्किएको छ ।
‘कोरोना कालमा वैदेशिक रोजगारी संकटमा नै परेको थियो, पछिल्लो समय रोजगारीको मागसँगै विदेशिनेको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको छ’, उनले भने, ‘हाल दैनिक रुपमा १२ सयभन्दा बढी नेपालीहरु बैदेशिक रोजगारीका लागि विदेशीने गरेका छन् ।’

कोभिड–१९ सुरु हुनुभन्दा अगाडि मासिक  ४० हजारभन्दा बढी नेपाली श्रमिक रोजगारीका लागि बाहिरिने गरेका थिए । उनका अनुसार कोभिडपछि मलेसिया बाहेक अन्य सबै खाडी देशबाट राम्रो माग आएको छ । हाल साउदी, कतार, दुबै लगायतका देशको रोजगारीका लागि नेपाली श्रमिकहरु बाहिरिएका छन् ।

असोजमा ४० हजार विदेशीए

कोभिड संक्रमणको संख्यामा कमि भएपछि वैदेशिक रोजगारीका लागि नेपाल छोड्नेको संख्यामा वृद्धि भएको छ । असोज महिनामा मात्र रोजगारीका लागि ४० हजार श्रमिकले श्रम अनुमति लिएको बैदेशिक रोजगार विभागले जनाएको छ । गत वर्षको असोजमा ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका थिए ।

विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउन र भदौमा ४१ हजार ८२८ जनाले श्रम स्वीकृति लिएका थिए ।

श्रम स्वीकृति लिनेको संख्या बढ्न थालेसँगै वैदेशिक रोजगारी क्षेत्र पुरानै लयमा फर्किएको वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले बताउँछन् । उनका अनुसार कोरोना संक्रमण अघिको सामान्य अवस्थामा मासिक रुपमा ४० हजार युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए ।

खोपको समस्या

रोजगारदाता देशले तोकेको कोरोना विरुद्धको खोप नेपालमा उपलब्ध नहुँदा रोजगारीमा जाने यात्रु समस्यामा पर्ने गरेको म्यानपावर व्यवसायी रोहन गुरुङ बताउँछन् ।

‘हाम्रो देशमा प्रयोग भएको खोप खाडीका देशमा प्रयोगमा छैनन् । तोकिएको खोप नहुँदा विदेशीने श्रमिक समस्यामा परेका छन्, नेपालमा रोजगारीको सम्भावना छैन, बाध्यताले विदेशिन्छु भन्ने श्रमिक पनि सरकारको वेवास्ताका कारण समस्यामा पर्ने गरेका छन्’, उनले भने, ‘अधिकांश देशले जोनसन एण्ड जोन्सन खोपलाई मान्यता दिएको छ, तर सो खोप नेपालमा उपलब्ध नहुँदा धेरै समस्या हुने गरेकोे छ ।’

उनका अनुसार कुवेत सरकारले जोनसन एण्ड जोनसन खोपलाई मात्र मान्यता दिएको छ । तर नेपालमा सो खोप उपलब्ध नहुँदा धेरै श्रमिक रोकिएका छन् ।

‘तोकिएकोे खोप लगाउन नपाउँदा कुवेत सरकारले अन्य देशका नागरिकलाई क्यारेन्टाइन हटाएपछि नेपालीलाई १० दिन क्यारेन्टाइनको व्यवस्था कायम नै राखेको छ’, उनले भने, ‘भारत, पाकिस्तान लगायतका देशले पत्र पठाएर क्यारेन्टाइन अवधि हटाएको हो । तर नेपाल सरकार र सम्बन्धीत देशको दुतावासको वेवास्ताका कारण नेपालीलाई क्यारेन्टाइनले गर्दा आर्थिक भार थपिएको छ ।’

उनका अनुसार सरकार, दुतावास र सम्बन्धित निकायको वेवास्ताका कारण १० दिन क्यारेन्टाइन बस्दा ५० हजारबढी आर्थिक भार थपिएको छ । व्यवसायीका अनुसार रोजगारदाता देशले तोकेको खोप नेपालमा उपलब्ध नहुँदा एउटा खोप लगाएर अर्काे खोप लगाएको प्रमाणीकरण गर्दै नेपालीहरु रोजगारीका लागि विदेशीने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.