सुदूरपश्चिममा मिर्गौला पिडितलाई उपचारमा समस्या, काठमाडौं वा भारत नै जानुपर्ने बाध्यता

  २०७८ कार्तिक १६ गते १२:३८     विकासन्युज

काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडाैं नै जानुपर्ने बाध्यता रहेको छ ।

डायलासिसका लागी अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शैयामा ज्यान गुमाइरहेका छन भने कतिपय बिरामीहरू पालो कुरिरहेका छन् ।

अस्पतालको फार्मेसीमा मिर्गौला डायलासिसको सामान्य औषधी पनि नपाइदा बिरामीहरू चर्कोमूल्य तिरेर निजी फार्मेसीबाट औषधी खरिद गर्न बाध्य छन् । प्रदेशका एक मात्र स्थान सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा उपलब्ध भए पनि सेवा त्यति प्रभावकारी नबन्दा सेवाग्राही हैरानी खेप्न बाध्य छन् ।

६ वटा मेसिनबाट मात्रै सेवा प्रदान भइरहँदा बिरामीहरूले पालो कुर्नै पर्ने बाध्यता रहेको छ । झन् त्यसमा अस्पतालको फार्मेसीमा डायलासिसको लागी सामान्य औषधी समेत नपाइदा झनै समस्या भइरहेको बिरामीका आफन्तहरूको गुनासो छ ।

सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ्ग हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ । अस्पतालसँग १० वटा मेसिनबाट सेवा प्रदान गर्ने सहमति भएपनि हाल ६ वटा मेसिन मात्रै सञ्चालनमा छन् । एक हप्तामा हाल ५३ जनाले डायलासिस सेवा लिइरहेको विरंग हेल्थ केयरका व्यवस्थापक दीपक भट्ट बताउँछन् । सामान्य डायलासिसको सेवा यहाँ प्रदान गरिए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाडौं अथवा भारत नै जानुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

बढ्दो पत्थरी, मधुमेह, उच्च रक्तचाप र अस्त व्यस्त जीवन शैलीका कारण नै किट्नी फेल हुने क्रम बढेकाे विभिन्न अध्ययनहरुले देखाएका छन् । सरकारले डायलासिस सेवा निःशुल्क गरे पनि फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न आर्थिक नहुँदा अस्पतालमै ज्यान जाने होकि चिन्तामा उनीहरू छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.