सन् २०२० देखि सेयर बजारमा फरक प्रबृत्ति, यसपाली पनि दोहोरिने संकेत

  २०७८ कार्तिक ९ गते १६:४३     विकासन्युज

काठमाडौं । सेयर बजारमा कारोबार गर्नेहरुले दिनैपिच्छेको मूल्य अन्तरमा खेल्ने गर्छन् । एक दिनमै हुने उतारचढाव पनि कारोबारीहरुका लागि कमाउने अवसर बन्छ ।

तर, लगानीकर्ता भने दैनिक हुने उतारचढाबप्रति त्यति ध्यान दिदैनन् । उनीहरुलाई आफूले लगानी गरेको कम्पनी कस्तो छ, कति प्रतिफल दिन सक्छ, कम्पनीको आगामी योजना के कस्ता छन्, भविष्यमा कम्पनी कस्तो बन्न सक्छ भन्ने जस्ता प्राविधिक, आधारभूत र अन्य परिस्थितिजन्य कुराहरुको विश्लेषण गरेर लगानी व्यवस्थापन गरिरहेका हुन्छन् ।

सेयर लगानीकर्तालाई कम्पनीले दिने प्रतिफलको खास महत्व रहन्छ भने कारोबारीलाई दैनिक मूल्य अन्तरको महत्व बढी हुन्छ । तर, नेपाली पुँजी बजारमा लगानीकर्ता र कारोबारी खासै छुट्टिने गरेका छैनन् । एक व्यक्ति कुनै समय लगानीकर्ताको रुपमा प्रस्तुत भइरहेको हुन्छ भने कुनै समय कारोबारी जस्तो व्यवहार गर्ने गरेका छन् ।

यद्यपि, लगानीकर्ता र कारोबारी दुबैलाई सेयर लगानीबाट प्राप्त हुने प्रतिफल कम्पनीहरुले प्रदान गर्ने लाभांशले महत्व राख्छ । यस्तै महत्व राख्ने भएकोले विगतका वर्षहरुमा कम्पनीले लाभांश घोषणा गर्ने मौसम सुरु भएपछि सेयरको माग बढेर मूल्य बढ्ने तथा लाभांश वितरणको लागि बुक क्लोजपछि मूल्य घट्ने गरेको थियो ।

तर, सन् २०२० यता भने यो प्रबृत्तिमा फरकपन देखिएको छ । कम्पनीहरुले लाभांश घोषण गर्ने समयभन्दा पनि घोषणा तथा लाभांश वितरणपछि सेयर बजार बढ्ने गरेको तथ्यांकले पुष्टी गरेको छ ।

कम्पनी कानुन अनुसार कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको वार्षिक साधारणसभा पछिल्लो वर्षको पुस मसान्तसम्ममा गरिसक्नु पर्ने हुन्छ । यसैकारण कम्पनीहरुले अग्रेजी महिनाको सेप्टेम्बर (भदौ) देखि नोभेम्बर (मंसिर) सम्म लाभांश प्रस्ताव गरी पुस डिसेम्बर (पुस मसान्त) सम्ममा साधारणसभा गरिसक्ने गरेका छन् ।

कम्पनीले लाभांश घोषणा गरी बुक क्लोज हुनुभन्दा अघि सेप्टेम्बरदेखि नोभेम्बर (भदौदेखि मंसिर) सम्म सेयर बजार बढ्ने विगतको उदाहरण वितपरित सन् २०२० यता भने लाभांश घोषणापछि सेयर बजार बढ्ने गरेको देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकले यो कुराको पुष्ट पनि गर्छ । जस्तो कि सन् २०१८ को जुलाई १ मा ११८४.५३ विन्दुमा रहेको परिसुचक सो वर्षको अक्टोबर २४ मा बढेर १२४९.९३ विन्दुमा पुगेको थियो । सन् २०१९ को फेब्रुअरी १८ मा परिसुचक घटेर ११०२.५१ विन्दुमा आएको थियो ।

सन् २०१९ को मे ७ मा भने परिसुचक १३०१.२८ विन्दुमा पुगेको थियो ।

सन् २०२० को जनवरी १ मा परिसुचक ११६९.५ विन्दुमा पुगेको थियो । त्यसपछि ६ तारिकमा १२००.६९ विन्दुमा, जनवरी १६ मा १३१०.२३ विन्दुमा र फेब्रुअरी २३ मा १५०४.१४ विन्दुमा पुगेको थियो । फेब्रुअरी २७ मा परिसुचक बढेर १६३२.१७ विन्दुमा पुगेको थियो । जबकि यो समयमा कम्पनीहरुले प्रदान गर्ने लाभाशं वितरण गरिसकेका थिए ।

सन् २०२० को जुन २९ मा परिसुचक घटेर ११८८.७० विन्दुमा आइपुगेको थियो भने त्यसपछि उडान सुरु गरेको नेप्सेले ३१९८.६० विन्दुसम्म चुमेको थियो ।

नेप्सेका अनुसार सन् २०२० को जुलाई १९ मा परिसुचक बढेर १४७९ विन्दुमा, सेप्टेम्बर २ मा १५१०.५७ विन्दुमा, अक्टोबर २२ मा १६०६.२५ विन्दुमा, नोभेम्बर ११ मा १७०७.६७ विन्दुमा, नोभेम्बर २४ मा १८१०.११ विन्दुमा, नोभेम्बर २९ मा १९६८.२७ विन्दुमा र डिसेम्बर १ मा २०००.४ विन्दुमा पुगेको थियो ।

सन् २०२१ लागेपछि पनि सेयर बजारमा बुलरन रोकिएन । सन २०२१ को जनवरी ३ मा परिसुचक २१७५.३९ विन्दुमा पुग्यो । यस्तै, जनवरी १० मा २२३५.७२ विन्दुमा, जनवरी १७ मा २३१५ विन्दुमा, जनवरी २४ मा २४२४.८४ विन्दुमा, फेब्रुअरी ७ मा २५२४ विन्दुमा र फेब्रुअरी १६ मा २६०१ विन्दुमा परिसुचक पुगेको थियो ।

यस्तै, सन् २०२१ को अप्रिल १३ मा २७१४.७९ विन्दुमा, मे २३ मा २८२० विन्दुमा, जुन ६ मा २९०६.८९ विन्दुमा, जुन १४ मा ३०२५.८२ विन्दुमा, अगष्ट ३ मा ३१११.०९ विन्दुमा र अगष्ट १८ मा ३१९८.६ विन्दुमा पुगेको थियो ।

परिसुचक करिब ३२ सय विन्दुको नजिकबाट घट्न सुरु गरेको थियो । यसअवधिमा परिसुचक घटेर २५ सय विन्दुबाट पनि तल झरेको थियो । यद्यपि, यो सातादेखि बढ्न थालेको बजार प्रत्येक दिन दोहोरो अंकले बढ्दै गरेको छ । यसैकारण यो वर्ष पनि लाभांश मौसम सकिएपछि पनि बजार बढिरहने हो कि भन्ने देखिएको छ । लाभांश वितरणपछि खरिद गरिएको सेयरबाट लाभांश पाउनको लागि भने अर्काे एक वर्ष कुर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.