म्याद गुज्रिएका सामानमा रिलेबलिङ गर्ने गोल्डेन नेपाल सप्लायर्सलाई कारबाही

  २०७८ कार्तिक ९ गते १५:०८     विकासन्युज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गोल्डेन नेपाल सप्लायर्स टोखा–५ लाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वको टोलीले सोमबार साँझ टोखा क्षेत्रमा गरेको बजार अनुगनका क्रममा मिति गुज्रिएको खाद्य वस्तु (लेज, कुर्कुरे)लाई रिलेभलिङ गरेर पुनः बजार पठाउन तयारी अवस्थामा राखिएको खेला पारेको थियो ।

जिप्रका सूचना अधिकारी उमाकान्त अधिकारीले रिलेभलिङ गरेर बजार पठाउन लागिएको झण्डै १४ लाख बराबरको सामग्रीलाई जफत गरि सिल गरिएको जानकारी दिए ।

बजार अनुगमनका क्रममा उक्त कार्यमा सङ्लग्न व्यवसायीलाई उपभोक्ता हित संरक्षण ऐन, २०७५ को दफा १६ को २ बमोजिम तत्काल तीन लाख जरिवानाका लागि कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

पुरानो वस्तुलाई नयाँ हो भनी देखाई वा झुक्याइ बिक्री गरेको पाइएकोले सोही ऐनको दफा ३९ को ख को प्रावधान बमोजिम कारबाही हुने व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत विभिन्‍न सरोकारवाला निकायहरुबाट कात्तिक १ गतेदेखि ७ गतेसम्म १०२ वटा पसलमा अनुगमन गरिएको थियो ।

एक साताको अवधिमा खाद्यान्‍न, लत्ता कपडा, तरकारी लगायतका पसलको अनुगमन गर्दा ३९ वटालाई कारवाहीस्वरुप जरिवाना गर्दा तीन लाख १० हजार राजश्व संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.