६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन

  २०७८ कार्तिक ९ गते ११:५८     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खुल्ला गरेको छ । दोेस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि अनलाइन आवेदन बन्द गरिएको थियो ।

विभागले सोमबमार रातिबाट अनलाइन आवेदन खुल्ला गरेको जनाएको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने बताए । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा परेका थिए ।

आवेदन खुला भएसँगै विभागले दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिने जनाईएको छ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् ।

सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ ।|

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागेको हो ।

लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ । वेवसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले बताए । कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ । कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्ने उनले बताए ।

नयाँ मापदण्डानुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ । पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।

उनले भने, ‘लिखित परीक्षामा सीमित प्रश्नबाटै आउने भएकाले उत्तीर्ण अङ्क पहिले ५० भएकामा अहिले ६० बनाइएको छ ।’ प्रयोगात्मक परीक्षामा सामान्य खालका गल्ती भइहालेमा पनि सहभागी उत्तीर्ण नहुने गरेकामा अहिले ससाना गल्ती गरे पनि अनुत्तीर्ण नहुने मापदण्डमा व्यवस्था छ ।

प्रयोगात्मक परीक्षामा आठ वटा आधार रहेकामा कुनैमा गल्ती गर्नै नहुने र कुनैकुनैमा सानो गल्ती भइहालेमा पनि पास नै हुने प्रवक्ता डा भुषालले बताए । नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिन पाउँनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.