मन्त्रिपरिषद निर्णयः पुनर्बीमा कम्पनीको अध्यक्षमा घिमिरे, वायुसेवा निगममा अधिकारी

  २०७८ कार्तिक ९ गते १०:५५     विकासन्युज

काठमाडौं । सरकारले राष्ट्रिय वायुसेवा निगम र नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष नियुक्त गरेको छ । सरकारका प्रवक्ता समेत रहेका संचार तथास सु्चना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निगम अध्यक्षमा युवराज अधिकारी र नेपाल पुनर्बीमा कम्पनीको संचालक समिति अध्यक्षमा बीमा विज्ञ रविन्द्र घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीले संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय ध्वजावाहकको मर्यादा र प्रतिष्ठा बढाउने गरी काम गर्ने बताए । उनले भने, ‘निगमको विभिन्न विभागको जिम्मेवारीमा रहेर लामो समय सेवा गरेको व्यक्ति भएकाले आज मेरो नियुक्तिमा निगमका कर्मचारीहरु अत्यन्तै खुशी छन् । म गएपछि निगमभित्रको लामो समयदेखिको कर्मचारीको आन्दोलन पनि रोकिन्छ । भोलि मैले उनीहरुलाई सम्बोधन गर्नेछु ।’

अध्यक्ष अधिकारीले निगमको बृहत्तर हित, संस्थागत सुदृढीकरण तथा कर्मचारीको हक, हित र सेवाको सुरक्षाको सुनिश्चितता हुने गरी आफूले काम गर्ने विश्वास व्यक्त गरे । निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजिएको भन्दै निगमभित्रका विभिन्न कर्मचारी ट्रेड युनियनले १०४ दिन लामो आन्दोलन गरेका थिए ।

निगमका प्रहाप्रबन्धक डिमप्रसाद पौडेलको राजीनामाको माग गर्दै कर्मचारीले निरन्तर आन्दोलन गर्दा निगमका महत्वपूर्ण काम कारबाही प्रभावित भएको थियो । गत असोज २२ गते नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निगमका कर्मचारी ट्रेड युनियनलाई मन्त्रालयमा बोलाएर छलफल गरी आन्दोलन स्थगित गराएका थिए ।

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गत असार १८ देखि निगम केन्द्रीय कार्यालयमा धर्नालगायत कार्यक्रम गर्दै आएका थिए । निगमका महाप्रबन्धक १०२ दिनदेखि कार्यालय पुग्न सक्नुभएको थिएन । असोज २५ गतेदेखि आन्दोलन स्थगित गरिएको छ ।

निगमले अनुमति पाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड हेन्डलिङ सेवाका लागि आवश्यक तयारीको कार्य आन्दोलनले प्रभावित भएको निगमले विज्ञप्ति जारी गरेर जनाएको थियो । त्यस्तै निगममा आइएफआरएस प्रणाली लागू गर्ने सम्बन्धमा गर्नुपर्ने तयारी, अनलाइन टिकट प्रणालीसमेत हुने गरी पिएसएस लागू गर्ने सम्बन्धमा गरी राखिएको तयारीको काम पनि अघि बढ्न सकेको थिएन ।

ए ३२० को इन्जिन मर्मतका लागि एमआरओ छान्नेसम्बन्धी सम्पूर्ण प्रक्रिया अवरोध भएको छ भने अर्थ मन्त्रालयको निर्देशनबमोजिम गर्नुपर्ने निगमको अद्यावधिक डिडिएसम्बन्धी काम पनि प्रभावित भएको थियो । निगम यवस्थापनले तयार गरी सञ्चालक समितिले स्वीकृत गरेको १० वर्षे व्यावसायिक योजना कार्यान्वयन गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि विमान सङ्ख्या थप गर्न नेपाल सरकारसँग समन्वय गर्नेसम्बन्धी सम्पूर्ण कामलगायत काम कारबाहीहरू प्रभावित हुन पुगेको निगमले जनाएको थियो ।

निकै कठिन परिस्थितिमा निगमले नेतृत्व पाएसँगै निगमका आगामी काम कारबाही प्रभावकारी ढङ्गले अघि बढ्ने निगमभित्रका कर्मचारीको विश्वास छ । निगमकका एक उच्च अधिकारीले निगमभित्र लामो समयदेखिको अन्योलपूर्ण अवस्थाको अन्त्य भई नीतिगत योजनाका साथ प्रभावकारी काम हुने बताए ।

यसअघि निगमको अर्थ विभागको निर्देशक पदको जिम्मेवारी सम्हालिसकेका नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारी उमेर हदका कारण सेवा निवृत्त भएका थिए । निगममा ३४ वर्ष दुई महिना दुई दिन सेवा गरेर अधिकारी गत वर्ष सेवा निवृत्त भएका थिए । लोकसेवामार्फत चौथो तहदेखि सेवा प्रवेश गरेका अधिकारीले निगमभित्रका विभिन्न चारवटा विभागको निर्देशकका रुपमा काम गरिसकेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.