३ महिनामा नेपालको व्यापारः निर्यात व्यापार दोब्बर बृद्धि, व्यापारघाटा ५८ प्रतिशतले बढ्यो

  २०७८ कार्तिक ८ गते १७:४२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिना निर्यात व्यापारको दृष्टिले राम्रो देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ३ महिनामा निर्यात व्यापार गत वर्षको तुलनामा दोब्बर बृद्धि भएको छ ।

विभागका अनुसार गत असोज मसान्तसम्ममा ६५ अर्ब ५ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ३१ अर्ब ४ करोड रुपैयाँ बराबरको बस्तु तथा निर्यात भएको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको ३ महिनामा निर्यात व्यापार १०९.५४ प्रतिशतले बृद्धि भएको छ ।

गत असोज मसान्तसम्ममा ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ९२ अर्ब २६ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो । आयात व्यापार भने गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको ३ महिनामा ६३.७३ प्रतिशतले बृद्धि भएको छ ।

निर्यात व्यापारमा सुधार देखिए पनि नेपालको अन्तराष्ट्रिय व्यापारमा घाटा बृद्धि भने कायमै छ । विभागका अनुसार गत असोज मसान्तसम्ममा नेपालको व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको ३ महिना (साउन, भदौ र असोज) मा व्यापार घाटा ५८.२८ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपालको कुल अन्तराष्ट्रिय व्यापार ६८.१३ प्रतिशतले बढेर ५ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपालको अन्तराष्ट्रिय व्यापार ३ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ बराबर थियो । नेपालको कुल व्यापारमा निर्यात व्यापारको हिस्सा ११.९७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यस्तो हिस्सा ९.६ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.