निर्जीवन बीमा कम्पनीले संकलन गरे २८ प्रतिशत बढी प्रिमियम, शिखरले एक अर्ब बढी उठाउँदा अन्यको कति ?

  २०७८ कार्तिक ८ गते १३:३८     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे ९ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीले गत साउन, भदौ र असोजसम्ममा कूल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

जुन गत वर्षको तुलनामा २७.८८ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्ममा ७ अर्ब ५८ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ।

नियामक निकाय बीमा समितिका अनुसार २० कम्पनीले गत असोजसम्ममा ७ लाख ३० हजार ९९७ वटा बीमालेख बिक्री गरी सो मात्राको प्रिमियम संकलन गरेका हुन् । जसमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा प्रिमियम संकलन गरेर अर्बौं क्लबमा प्रवेश गर्न सफल भएको छ । कम्पनीले तीन महिनामै १ अर्ब ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको हो । यो अवधिमा कम्पनीले ६७ हजार ०९७ वटा बीमालेख बिक्री गरिसकेको छ ।

त्यस्तै, सबैभन्दा बढी संख्यामा बीमालेख बिक्री गर्नेमा नेको इन्स्योरेन्स अगाडि रहेको छ । इन्स्योरेन्सले तीन महिनाभित्रमा ८१ हजार ५५६ वटा बीमालेख बिक्री गरी ८१ करोड २८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनी बीमाशुल्कको आधारमा भने सधाझैं तेश्रो स्थानमा रहेको छ ।

त्यस्तै, सबैभन्दा बढी बीमाशुल्क आर्जनमा सगरमाथा इन्स्योरेन्स दोश्रो स्थानमा रहेको छ । इन्स्योरेन्सले ६६ हजार ९४० वटा बीमालेख जारी गरी ९० करोड ६७ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी, ६१ करोड देखि ६९ करोड रुपैयाँसम्म बीमाशुल्क आर्जन गर्नेमा सिद्धार्थ, एनएलजी र प्रिमियर इन्स्योरेन्स रहेका छन् । यी तीनले क्रमशः ६३ हजार, ५४ हजार र ३८ हजार वटा बीमालेख बिक्री गरिसकेका छन् ।

उता राष्ट्रिय बीमा कम्पनी र यूनाईटेड इन्स्योरेन्सबीच टक्कर रहेको छ । यी दुईले समीक्षा अवधिमा ४४ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । जसमध्ये प्रिमियम संकलनमा राष्ट्रिय बीमा कम्पनी अलिकति अगाडि रहेको छ भने सबैभन्दा बढी बीमालेख बिक्री गर्नेमा यूनाईटेड इन्स्योरेन्स धेरैले अगाडि पर्न सफल भएको छ ।

कुनको कति ?

त्यस्तै, ४० करोडभन्दा बढी प्रिमियम उठाउनेमा हिमालयन जनरल र अजोड इन्स्योरेन्स रहेका छन् । यी दुईले क्रमशः ४२ करोड ४६ लाख र ४१ करोड ४९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका समितिले जनाएको छ ।

समितिका अनुसार न्युनतम ३० करोड र अधिकतम ४० करोड रुपैयाँसम्म बीमाशुल्क आर्जन गर्नेमा ७ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स र दी ओरियन्टल तथा नेपाल र एभरेष्ट इन्स्योरेन्सबीच टक्कर देखिएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र दी ओरियन्टलले क्रमशः ३६ करोड ३७ लाख र ३६ करोड २० लाख रुपैयाँ प्रिमियम उठाएका छन् । त्यसैगरी, ३४ करोड ९ लाख रुपैयाँ प्रिमियम उठाएको नेपाल इन्स्योरेन्सलाई टक्कर दिँदै एभरेष्ट इन्स्योरेन्सले ३४ करोड २ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

उता ३० करोड रुपैयाभन्दा कम बीमाशुल्क संकलन गर्नेमा तीन कम्पनी नेशनल, जनरल र सानिमा जनरल रहेका छन् । जसमध्ये सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा कम अर्थात २२ करोड ३७ लाख रुपैयाँ बराबरको मात्रै प्रिमियम उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.