पाँचथरकाे याङवरकमा २५ करोडको लागतका तीन ठूला आयोजना निर्माण सुरु

  २०७८ कार्तिक ८ गते १३:१७     विकासन्युज

पाँचथर । स्थानीय तहले पर्याप्त र अपेक्षित काम नगरेको भनेर बेलाबखत आलोचना हुने गर्छन् । कतिपय स्थानीय तहले बजेट नपाउँदा अत्यावाश्यक काम पनि गर्न नसकेको गुनासो गर्छन् । आलोचना र बजेट अभावको महसुस याङवरक गाउँपालिकाले पनि गरेको हो । निरन्तरताको प्रयास, माथिल्ला सरकारको सहयोग तथा स्थानीय आवश्यकतासँग जुध्दै सो गाउँपालिकाले पूर्वाधार विकासमा एक पछि अर्को गर्दै फड्को मारिरहेको छ ।

यही क्रममा आर्थिक वर्ष २०७८/७९ को सुरुआतमै गाउँपालिकाको महत्वका करिब २५ करोड लागतका तीन ठूला पूर्वाधार आयोजनाको निर्माण थालेको छ । यसका लागि दुई आयोजनाको ठेक्का सम्झौता भइसकेको छ भने एउटाको बोलपत्र आह्वान भई निर्माण कम्पनी छनोट हुन लागेको छ ।

याङवरक–४ थर्पुको बरडाँडामा आधारभूत अस्पताल निर्माणको ठेक्का सम्झौता सम्पन्न गरेको छ । गाउँपालिकाले आह्वान गरेको ठेक्का प्रस्तावअनुसार गत साउन २१ गते आधारभूत अस्पतालको निर्माण सम्झौता भएको हो । गाउँपालिकाका इञ्जिनीयर शरद दाहालका अनुसार नमूना वीर जेभी मोरङले भ्याटसहित १४ करोड ५७ लाख २२ हजार ६४४ को लागतमा आधारभूत अस्पताल निर्माणको ठेक्का पाएको छ ।

दुई ठूला ब्लकसहितको अस्पताल निर्माणकार्य २०८० साल भदौ १ गते सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । सङ्घीय सरकारको लगानीमा बन्न १५ श्य्याको अस्पताल निर्माण हुन लागेको हो ।

यस्तै गाउँपालिकाको पहिचानका रुपमा स्थापित याङवरक पोखरी संरक्षण तथा पर्यटकीय पूर्वाधार निर्माणका लागिसमेत ठेक्का सम्झौता सम्पन्न गरिएको छ । ‘निशान कालिका धाम तथा याङवरक पोखरी संरक्षण’ आयोजनाका लागि छ करोड ४४ लाख २५ हजार ९२ लागतमा पोखरीको संरक्षण तथा पर्यटकीय संरचना निर्माण हुन लागेको हो । सिएम–जोशी–आँशु जेभी काठमाडौंसँग गत भदौ २४ गते सम्पन्न सम्झौताअनुसार २०८१ साल असोज १ गतेभित्र निर्माणकार्य सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको इञ्जिनीयर दाहालले जानकारी दिए ।

यस आयोजनाअन्तर्गत याङवरक पोखरीको संरक्षणसहित पर्यटकीय संरचना, मन्दिरलगायत संरचना निर्माण हुनेछन् । गाउँपालिकाले विशेष महत्व दिएको यस स्थानमा व्यवस्थित संरचना निर्माण हुन लागेका हुन् । निशान कालिका धामतर्फ घेराबारा, मन्दिर पुनःनिर्माण, टायल विच्छ््याउने काम निजी तथा सरकारी लगानीमा करिब पूरा हुन लागेको छ ।

यस्तै गाउँपालिकाको लगानीमा बहुउद्देश्यीय कबर्डहल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । गाउँपालिकाले तीन ब्याडमिन्टन कोड, एउटा भलिबल कोड, ५०० दर्शक अटाउने प्यारापिट, बाहिरी सजावटसहितको कबर्डहल निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । कबर्डहल निर्माणका लागि चार करोड तीन लाखको लागत अनुमान गरिएको गाउँपालिकाका इञ्जिनीयर दाहालले जानकारी दिए ।

गाउँपालिकाले एकै पटक तीन ठूला पूर्वाधार निर्माणको सुरुआत गर्न लागेको हो । गाउँपालिकाले प्रशासकीय पूर्वाधार निर्माणलाई अगाडि बढाइ प्रशासकीय भवन र कार्यालय नभएका दुई वडामा वडा कार्यालय भवन निर्माण गरिरहेको छ ।

गाउँपालिकाको संस्थागत विकास तथा तीन तहको सङ्घीय संरचनाको सम्वद्र्धनमार्फत नागरिकलाई आफ्नै घर आँगनमा सेवा दिन यस प्रकारका संरचना निर्माणले ठूलो सघाउ पुग्ने गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए ।

गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङले गाउँपालिका निर्माण भएपछि निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकालमै अत्यावश्यक पूर्वाधारका अधिकांश योजना निर्माण सम्पन्न हुने वा निर्माणको चरणमा पुग्ने बताए । उनले सेवा प्रवाहमा पूर्वाधारका संरचनाले ठूलो सहयोग गर्ने भएकाले गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.