सधैं यस्तो भाग्यमानी भइदैन, आईपीओ भर्नुअघि जान्नै पर्छ यी तथ्य

  २०७८ कार्तिक ५ गते १६:४१     रविन्द्र भट्टराई

पछिल्लो समयमा सेयर बजारमा जति पनि नयाँ लगानीकर्ताको प्रवेश भएको छ, त्यसको प्रमुख कारण प्रविधि नै हो । प्रविधिले गर्दा लगानीकर्ताहरु सजिलो तरिकाले बजारमा छिर्न सक्ने पहुँचको विकास भयो ।

विशेष गरी गाउँ गाउँमा बैंक पुग्ने र उनीहरुले बैंक तथा डिम्याट खाता खोलिदिनाले नयाँ लगानीकर्तालाई सजिलै बजारमा प्रवेश गर्ने एउटा माध्यम बनायो ।

नयाँ लगानीकर्ताहरु प्राथमिक बजारमा आएको त थाहा हुन्छ, कुनै कम्पनीको आईपीओमा परेको आवेदन मार्फत । त्यसमध्ये कति वास्तविक हुन्, कति होइनन् भन्ने हुन्छ ।

जस्तै, एउटा परिवारमा ५ जना छन् । एउटा व्यक्तिले सबैको खाता म्यानेज गर्यो भने त्यहाँ त्यो एक व्यक्ति मात्रै प्रमुख पात्र तथा बजारको लगानीकर्ता अथवा चासो दिने व्यक्तिको रुपमा पर्छ । बाँकी ४ जना पर्दैनन् । औषतमा त्यस्ता लगानीकर्ता कति छन् त ? हामीलाई थाहाँ हुँदैन । ती व्यक्ति कति दोश्रो बजारमा छिर्छन्, कति प्राथमिक बजारमै अड्केर बसिरहेका हुन्छन् भन्ने अर्काे प्रश्न पनि आउँछ ।

लगाकर्ता जुनसुकै हिसाबले प्राथमिक बजारमा आउन् या दोश्रो बजारमा छिरुन्, उनीहरुले बजारको बारेमा न्यूनतम आधारभूत ज्ञान लिन आवश्यक पर्छ । जस्तो, हामी जुन सेयर भन्छौं, त्यो सेयरबाट कति फाइदा छ र त्यो सेयरसँग सम्बन्धित कम्पनीले भोलिका दिनमा कसरी फाइदा दिन सक्छ र, त्यो मैले कसरी प्राप्त गर्छु भन्ने विषयको ज्ञान नयाँ लगानीकर्तामा हुन आवश्यक छ । यदि प्राथमिक बजारमा मात्रै जाने हो भने पनि ।

अब प्राथमिक बजारबाट दोश्रो बजारमा पनि छिर्ने अथवा सिँधै दोश्रो बजारमा प्रवेश गर्ने लगानीकर्ताहरुले अझ बढी ज्ञान लिन आवश्यक हुन्छ । त्यो भनेको बजारको मुभमेन्ट कसरी हुन्छ बुझ्न जरुरी छ । र, के कारणले आफूले किन्न खोजेको कम्पनीलाई असर गर्छ भन्ने अर्को महत्वपूर्ण हो ।

किनभने प्राथमिक बजारमा मात्रै लगानी गर्नेलाई दोश्रो बजारमा त्यति अनुभव पनि हुँदैन । र, दोश्रो बजारको मुभमेन्टको मनोवैज्ञानिक असर पनि उसलाई पर्न सक्छ । दोश्रो बजारमा छिरेर सेयर किनबेच गर्दा बजारमा हुने अप एण्ड डाउनले लगानीकर्तालाई मनोवैज्ञानिक असर परिरहेको हुन्छ । उसको नाफाले भन्दा पनि सेयर किनेर घटेपछि उसले बढी फिल गर्छ ।

त्यो फिल गर्दा उसले के कारणले मार्केटमा अप एण्ड डाउन आइरहन्छ र त्यो अवस्थामा आफूले कसरी लगानी व्यवस्थापन गर्दै जाने भन्ने बुझ्नु पर्ने हुन्छ । त्यो बुझ्न सक्यो भने भोलि नाफा लिने र घाटालाई व्यवस्थित गर्न सकिन्छ ।

यसको लागि अध्ययन निकै महत्वपूर्ण हुन्छ । सबैभन्दा पहिला म कहाँ, किन र कसरी लगानी गर्दैछु भन्ने आफ्नो उद्देश्य कसरी तय गर्ने भन्ने हो । त्यसपछि मैले यो कम्पनीमा, यति पैसा, यति समयको लागि लगानी गर्छु भनेर रणनीति तय गर्ने । अथवा कारोबार नै गर्ने हो भने पनि यस्तो कम्पनीमा यति नाफा लिएर निस्किने गरी लगानी गर्ने । घाटा नै भएछ भने पनि यतिसम्म मैले घाटा व्यहोर्न सक्छु भन्ने भएपछि निस्किने ।

यति विषयलाई ध्यान दिएर लगानी गरियो भने बजारमा उसको लगानी सबैभन्दा व्यवस्थित र तनाव कम हुन्छ । यहाँ सबैभन्दा ठूलो कुरा नाफाभन्दा घाटाको तनाव र त्यसको असर सबैभन्दा डरलाग्दो हुन्छ । नाफा त नाफा भैहाल्यो, त्यसले एक किसिमको उत्साह दिन्छ । तर, त्यो उत्साहभन्दा घाटाको पीडा सबैभन्दा बढी हुन्छ । त्यसैले नाफाभन्दा पहिला घाटालाई व्यवस्थित गर्ने तरिका सिक्नुपर्ने हुन्छ । त्यसलाई हामी लगानीको बीमा पनि भन्छौं । जसरी हामीले हरेक ठाउँमा एक किसिमको सुरक्षा अपनाइरहेका हुन्छौं, त्यसैगरी लगानीमा पनि जोखिमलाई कम गर्नको लागि बजारमा भोलि आइपर्ने जोखिमको सुरक्षा आफैले अपनाउनु पर्ने हुन्छ ।

अर्को, कम्पनीलाई बुझ्न लगानीकर्ताले कम्पनी विशेषका कुराहरु बुझ्न जरुरी छ । जस्तो, कम्पनीको परफरमेन्स, नाफा नोक्सान, कम्पनीको व्यवस्थापन तथा सुशासन लगायतका कुराले प्रभाव पारिरहेका हुन्छ । यसलाई कसरी अध्ययन गर्ने, कहाँबाट हेर्ने, सूचनाका श्रोतहरु के के हो भन्ने जस्ता विषयमा आफू सचेत र जानकार हुनुपर्छ । श्रोत त अहिले जति पनि छन् । तर, ती श्रोतमध्ये पनि भरपर्दो श्रोत चाहिँ कुन हो ? भन्ने बुझ्नु पर्छ ।

किनभने एउटै कम्पनीको विवरण तथा प्रतिवेदनलाई १० वटा मिडियाले १० थरि विश्लेषण गरेका हुन्छन् । कसैले सही तरिकाले गरेका होलान्, कसैले बुझेर गरेका होलान् या कसैले नबुझी अनुमानको आधारमा पनि गरेका होलान् । कसैले केही विषयको मात्रै विश्लेषण गरेका हुन्छन्, जसले हामीलाई पर्याप्त जानकारी नदिन पनि सक्छ ।

कम्पनी स्थापना भएको ३ महिना, ६ महिना मै आगामी १० वर्षको एउटा प्रोजेक्सन गरेर हामीले यो बिजनेश गर्छौं भनेर आउने स्थिति बन्यो र त्यो किसिमले पैसा उठाएर बिजनेस गर्ने अवस्था आएर सेयरमा लाउनु पर्यो भने हामीले अहिलेको मात्रै ज्ञान र यति मात्रैको अध्ययनले यति सजिलै प्राथमिक बजारमा आवेदन दिएर हामी नाफा कमाउने स्थितिमा पुग्दैनौं ।

लगानीकर्ताले पर्याप्त सूचना लिनको लागि विश्वसनीय श्रोत के हो ? उनीहरुले कम्पनीकै वेवसाइटमा गएर वार्षिक प्रतिवेदनहरु हेरेर त्यसलाई बुझ्ने कोशिस गर्यो भने त्यो रिलायबल हुन सक्छ । हाम्रोमा रिलायबल श्रोतको विकास भएको छैन । जति पनि अनलाइन मिडियाहरु छन्, ती मिडियाहरुमा जसले लेखेपनि यो रिलायबल हो भन्ने आधार छैन । किनभने फरक व्यक्तिको विश्लेषण फरक फरक हुन्छ । हामीले कम्पनीबाट जे आउँछ, त्यहि नै पायो भने त्यो रिलायबल हो । व्याख्या गरेका कुराहरु सबै रिलायबल नहुन सक्छन् ।

कतिपय जानकारी तथा सुचनाहरु यस्ता हुन्छन् कि कम्पनीहरुले पनि पर्याप्त रुपमा दिन सकेका हुँदैनन् । हामी कम्पनीले दिएको प्रेस विज्ञप्ति आधिकारिक भन्छौं, तर त्यो आधिकारिकतामा नै कमजोरी भैदिन्छ । त्यहाँ पनि उसले पर्याप्त जानकारी दिन जान्दैन ।

अहिले लघुवित्तहरु जति छन्, त्यसमध्ये कुनै एउटाको सर्भे गरियो भने तिनका सबैको आफ्नो आधिकारिक वेवसाइट छैनन् । वेवसाइट भएकामध्ये सबैकोमा आफ्नो वार्षिक वित्तीय विवरण पनि छैन ।

प्राथमिक बजारमा प्रवेश गर्न पनि कम्पनीको बारेमा बझ्नु पर्छ ।

प्राथमिक बजारमा पनि जुनसुकै कम्पनीको सेयर किन्न हुँदैन । जुनसुकै कम्पनीको सेयर किनेर हामीले चाहे अनुसारको नाफा प्राप्त गर्न सक्दैनौं । मार्केट सधैँ यहि किसिमले अर्थात १०० रुपैयाँ लगानी गर्दा एकैपटक ५/६ सय रुपैयाँसम्म पुग्ने हुँदैन । सधैँ निरन्तर उकालो लागिरहन्छ भन्ने अवस्था आउँदैन ।

अहिले पो बढी वित्तीय संस्थाहरु आइरहेका छन् । र, यिनीहरुले हामीलाई एउटा कन्फिडेन्ट के दिएका छन् भने, यिनीहरु वेल रेगुलेटेड संस्था हुन्, यिनीहरुको नियामक तुलानात्मक रुपमा अन्यको भन्दा राम्रो छ भन्ने छ । भोलि योभन्दा बाहिर क्षेत्रका जस्तै, कुनै उत्पादनमूलक, कुनै सेवामूलक, जस्ता अन्य क्षेत्रका कम्पनीहरु आउन थाले र, ती कम्पनीहरुको पनि मार्केटमा सेयर जारी गर्न सक्ने कुनै कानुनहरु बन्यो, जसले ५/१० वर्षको इतिहास हुनै पर्छ भन्ने छैन । ६ महिनाको इतिहास बोकेर पनि मार्केटमा आउन सक्छौं भन्ने किसिमका कानुनी कुराहरु आए भने जुनसुकै कम्पनीहरु मार्केटमा आउन चाहन्छन् । त्यो बेला त सर्वसाधारणले मूल्यांकन गर्नुपर्ने हुन्छ । लगानीकर्ताले उसको सम्भावना, उसको व्यवसाय, नाफा गर्न सक्ने आधार, सुशासन, समूह, जस्ता उसको भावी योजनाहरु सबै बुझ्नु पर्ने हुन्छ ।

जस्तो अहिले सिमेन्ट कम्पनीको आउन खोजिरहेको छ । भोलि कुनै सर्भिस तथा हेल्थ सेक्टर अथवा जुनसुकै क्षेत्रका कम्पनीहरु मार्केटमा आउन सक्नछन् । जस्तै, अन्तर्राष्ट्रिय बजारमा ६ महिना एक वर्ष नभई मार्केटमा आइदिन्छ । उनीहरु रुपैयाँमा भन्दा पनि पैसामा सेयर जारी गर्ने हिसावले आउँछन् । कुनै बेला यस्तो कम्पनी आउँछ कि जुन एउटा कोठामा मात्रै सीमित हुन्छ । उसले भोलि म यो बिजनेस गर्छु भनेर एउटा सम्भावना देखाएर मात्रै पनि आज सेयर खुलाउन सक्छ । उसको बिजनेस अहिले शुरु नै भएको छैन, बिजनेस त अझ २/४ वर्षपछि शुरु हुन्छ ।

त्यस्तै, नेपालमा पनि भोलि ओटीसी मार्केटलाई व्यवस्थित गरेर त्यो किसिमले आउने वातावरण बन्यो भने हामीले थप बढी अध्ययन गर्नुपर्ने हुन्छ । जस्तो, ओटीसीमा एउटा निश्चित क्राइटेरिया पुगेपछि मात्रै स्टक एक्स्चेञ्जमा लिस्टिङ्ग हुने भन्ने हिसाबले हामी गयौं भने हामीले त्योभन्दा बढी अध्ययन गर्नुपर्ने हुन्छ । अहिले त हामीसँग यस्तो छ कि कम्पनीले कम्तिमा एक वर्ष पुरा गरेकै हुनुपर्छ, यो अवधिसम्मको वित्तीय विवरण सार्वजनिक गरेको हुनै पर्छ भन्ने किसिमका एउटा जुन मापदण्डहरु छन्, यो त हाम्रो भाग्य हो ।

यो किसिमले सेयर बजारमा आउने वातावरण, कानुन बन्नु भनेको हामीले लगानी गर्नको लागि भाग्यमानी नै मान्नुपर्छ । तर, कम्पनी स्थापना भएको ३ महिना, ६ महिना मै आगामी १० वर्षको एउटा प्रोजेक्सन गरेर हामीले यो बिजनेश गर्छौं भनेर आउने स्थिति बन्यो र त्यो किसिमले पैसा उठाएर बिजनेस गर्ने अवस्था आएर सेयरमा लाउनु पर्यो भने हामीले अहिलेको मात्रै ज्ञान र यति मात्रैको अध्ययनले यति सजिलै प्राथमिक बजारमा आवेदन दिएर हामी नाफा कमाउने स्थितिमा पुग्दैनौं ।

(सेयर विश्लेषक रविन्द्र भट्टराईसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.