सरकारको कामप्रति गगन थापा नै असन्तुष्ट 

  २०७८ कार्तिक ५ गते १५:५४     विकासन्युज

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं । त्यसैले डर लागेको छ, नेपाली नागरिक भएर । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौं । फेरी हामीले अव अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ । यो बेला सम्हालिनु पर्नेछ । हाम्रा अगाडि केही मौकाहरु अहिले पनि छन । एउटा हामीले माने पनि नमाने पनि एशीया त्यसमा पनि आजको दिन भारत र चीनलाई केन्द्र बनाएर चाहे राजनीति होस् अझ खास गरेर वल्र्डको ईकोनोमी सबै गतिविधि कहाँ छ, चीन र भारत केन्द्रित छ । त्यसको नजिकमा हामी छौं । यो अर्को १०, १५, २० वर्ष रहन्छ । यस भित्र नेपालले लाभ लिन सक्यो भने सक्यो, नत्र फेरी एक पटक मौका छुट्छ ।’

काँग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध रुपमा कामगर्नुपर्नेमा जोड दिए ।

उनले प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह समेत गरे । देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यक्ता उनले मुलुकका विद्यमान बेरोजगारी समस्या समाधान गर्न ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.