बेमौसमी वर्षाको असरः ५ अर्बको धानबालीमा क्षति, सबैभन्दा बढी नोक्सान बर्दियामा

  २०७८ कार्तिक ५ गते १०:३६     विकासन्युज

काठमाडौं । पछिल्लो केही दिन यता परेको बेमौसमी वर्षाका कारण करिब ५ अर्ब बराबरको धानबालीको क्षति भएको छ । कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनअनुसार साढे ४ अर्बको धानबाली र ३२ करोड बढीको नगदेवालीमा क्षेति पुगेको हो ।

मन्त्रालयको अध्ययन अनुसार मन्त्रालयले देशभरबाट संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार १ लाख ६१ हजार २२३ मेट्रिक टन धानबारीमा क्षति पुग्दा ४ अर्ब ५१ करोड ४२ लाख २५ हजार रुपैयाँ कृषकले गुमाएका हुन् । असोज ३१ देखि लगातार परेको पानीले भित्र्याउने बेला भएको धानबालीमा क्षति पुर्याएको हो । मन्त्रालयले कात्तिक २ गतेसम्मको क्षतिलाई आंकलन गर्दै प्रारम्भिक अनुमान गरिएको जनाएको छ ।

लुम्बिनी प्रदेशमा धेरै क्षति

मन्त्रालयको अध्ययन अनुसार वर्षाका कारण अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशका जिल्लामा धेरै क्षति भएको छ । जसअनुसार बर्दिया जिल्लामा सबैभन्दा धेरै क्षेति पुगेको छ । बर्दियामा १० हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति हुँदा एक अर्ब ३५ करोड ६१ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

बर्दियापछि कपिलबस्तुमा ८ हजार हेक्टर क्षेत्रफलमा एक अर्ब १३ लाख ८० हजार, बाँकेमा ७ हजार हेक्टर क्षेत्रफलमा ७८ करोड ९२ लाख, प्युठानमा १२ करोड ४१ लाख र नवलपरासीमा ११ करोड ५६ लाख रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ ।

मन्त्रालयले काटिएको धानमा मात्र वर्षाले क्षति पुगेको भन्दै काटेको धानको मात्र क्षति विवरण संकलन गरेको हो ।

लुम्बिनीपछि प्रदेश १ र सुदूरपश्चिमको धानबालीमा वर्षाले बढी क्षति पुर्याएको छ । बिहीबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशले मात्रै मन्त्रालयमा प्रारम्भिक तथ्यांक पठाएको जनाईएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार निरन्तरको वर्षाका कारण पाल्पा, गुल्मी, अर्घाखार्ची, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बर्दिया, रुकुम पूर्व, प्युठान, रोल्पा लगायतका जिल्लामा लगाईएको धानबालीमा क्षति पुगेको छ ।

यस्तै, मन्त्रालयले राहत प्याकेज कार्यक्रम अन्तरगतका तरकारी तथा गहुँबालीमा समेत वर्षाले क्षति पुगेको जनाएको छ ।

जसअनुसार गहुँको उन्नत विउ वितरणमा २४ करोड ९४ लाख ८० हजार र मसुरोको उन्नत विउ वितरणमा ६ करोड ७८ लाख ८० हजार र तरकारी बिउ तथा हिउदे मकै अन्यको विउ वितरणमा ९५ लाख ४४ हजार रुपैयाँ क्षति पुगेको छ । उक्त राहत अन्तरगत ४२ हजार ७२७ हेक्टर क्षेत्रफलमा ३२ करोड ६९ लाख बढीको क्षति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.