ताप्लेजुङमा ३ दिनदेखि दूरसञ्चार सेवा अवरुद्ध, तीर्थयात्री र पर्यटकलाई सास्ती

  २०७८ कार्तिक ४ गते १३:०४     विकासन्युज

काठमाडौं । विगत तीन दिनदेखि परेको अविरल वर्षासँगै ताप्लेजुङको दूरसञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमबाट प्रवाह हुने ल्याण्डलाइन, इन्टरनेट र मोबाइल सेवा मङ्लबारदेखि अवरुद्ध भएको हो । दूरसञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । यसैगरी सेवा अवरुद्ध हुँदा अविरल वर्षासँगै आएको बाढीपहिराको क्षति सङ्कलन तथा उद्धारमा समेत कठिनाइ भइरहेको बताइएको छ ।

अविरल वर्षाका कारण इलाम जिल्लाको फिकल, इटहरी र विराटनगरका टावर तथा अप्टिकल फाइबरमा समस्या आएकाले ताप्लेजुङमा दूरसञ्चार कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुन पुगेको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए। उनका अनुसार तत्काल सेवा सञ्चालन गर्नका लागि प्राविधिक टोलीले काम गरिरहेको र कहिलेसम्ममा सेवा सुरु हुन्छ भन्न नसकिने अवस्था छ ।

नेपाल टेलिकमको सेवासँगै अन्य मोबाइल सेवा प्रदायक एनसीएल, इन्टरनेट सेवा प्रदायक सुविसु, टेकमाइन र वर्डलिङ्कलगायतको पनि सेवा अवरुद्ध भएको छ ।

इन्टरनेट सेवामा अवरुद्ध भएसँगै विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थाको कार्यसम्पादनमा समस्या भएको छ । मङ्गलबारदेखि नै इन्टरनेट अबरुद्ध भएपछि वित्तीय तथा बैंकिङ कारोबारमा समेत समस्या आएपछि सोवाग्राही मर्कामा परेका छन् ।

मोबाइल सेवा अवरुद्ध हुँदा सबैभन्दा धेरै प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री र विश्वको तेस्रो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न आउने पर्यटकले समस्या खेप्नुपरेको छ । ताप्लेजुङमा पुगेर समयमै होटल बुकिङ गर्न नपाउँदा तीर्थयात्री र पर्यटकले बासका लागि होटल नपाउने, मन्दिरसम्म जाने गाडी नपाउने आफ्ना आफन्तसँग सम्पकविहीन हुनुपर्नेजस्ता समस्या भएको थियो ।

मोबाइल सेवा र इन्टरनेट सेवा अजरुद्ध भएसँगै स्थानीय सञ्चारमाध्यमको समाचार प्रकाशन तथा प्रसारणमा समस्या उत्पन्न भएको छ भने सञ्चारकर्मीलाई पनि समाचार सङ्कलन र सम्प्रेषणमा कठिनाइ भएको छ ।

निरन्तर वर्षाका कारण राष्ट्रिय प्रसारण लाइनमा पनि दुई दिन अवरुद्ध भएको थियो । तर आज बिहानदेखि प्रसारण लाइनमा बत्ती बाल्न थालेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.