मौसम खुलेपछि यस्तो देखियो हल्चोक-कलङ्की-चन्द्रागिरि क्षेत्र

  २०७८ कार्तिक ४ गते १३:१६     विकासन्युज

काठमाडौं । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौं उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ ।

वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन । भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो । हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ ।

“त्यस्ता प्रणालीले जलवाष्प र चिसो छाडेको हुन्छ, त्यसैले कतै बादल त कतै कुहिरो देखिन्छ”, पौडेलले भने, “कतैकतै छिटफुट वर्षाको सम्भावना पनि रहन्छ ।” त्यसले ठुलो प्रभाव भने नगर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सफा मौसममा स्वयम्भूनाथ मन्दिर

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उक्त प्रणाली गएको असोज ३१ बाट विकसित भएको थियो । कात्तिक १ र २ गते नेपालको पश्चिम (कणाली र सुदूरपश्चिम) क्षेत्रमा भारी वर्षा गराएको थियो भने कात्तिक २ को रातिबाट बुधबार साँझसम्मै त्यसभन्दा पूर्व क्षेत्र प्रदेश १, २ बागमती, गण्डकी प्रदेशमा बर्षा गराएको थियो ।

बेमौसम (कात्तिक) मा परेको भारी वर्षाका कारण मुलुकका विभिन्न २० भन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति गराएको छ । भौतिक संरचना तहसनहस पारेको छ भने भित्रिने बेलाको धानबालीसमेतमा निकै क्षति पुरयाएको छ । रासस

मौसम खुलेपछि स्वयम्भूबाट देखिएको हल्चोक क्षेत्र

मौसम खुलेपछि स्वयम्भूबाट देखिएको कलङ्की चन्द्रागिरि क्षेत्र ।

तस्वीरः प्रदीपराज वन्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.