दशैंमा बिकेन खसीबोका, सरकारले बजारीकरणको व्यवस्था नगरेको व्यवसायीको आरोप

  २०७८ कार्तिक ३ गते १६:३३     विकासन्युज

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष दशैँमा खसिबोका कम बिक्री भएसँगै व्यपारीहरु बाँकी रहेका खसिबोका गाउँ फर्काउन थालेका छन् ।

दशैँमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरु गाउँ फर्किएपछि खसिबोका बजारमा गत वर्षको झैँ बिक्री वितरण नहुँदा बिक्री गर्न बाँकी रहेका खसिबोकाहरुलाई व्यापारीहरुले गाउँ फर्काउन थालेका हुन् ।

काठमाडौं उपत्यकामा यस वर्ष माग भन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका बजार व्यवस्थापक जीवरराज खतिवडाले जानकारी दिए । उनका अनुसार कोरोना महामारीको जोखिम कायमै भएकोले त्यसको असर पशुचौपाय व्यापारमा परेको हो ।

उनले गत वर्षको तुलनामा यस वर्ष विक्री वितरण कम भएको बताउँदै माग नहेरी अप्रत्यासीत रुपमा व्यापारीहरुले खसिबोका भित्र्याउँदा चाहेजस्तो बिक्री हुन नसकेको बताए । यस वर्ष काठमाडौं चौपाया खरिदबिक्री प्रालिमा ३५ हजारसम्म खसिबोका ल्याएको र २५ हजारसम्म बिक्री भएको जनाईएको छ ।

उनले भने, ‘कोरोना भाइरसको महामारी आएसँगै हरेक क्षेत्रमा यसको असर गरेको छ, पर्यटन क्षेत्र माथि उठ्न नसक्दा व्यापार भएको छैन, यसको प्रत्यक्ष असर खसीबोका व्यवसायमा पनि परेको छ, गत वर्ष भन्दा यस वर्ष आयात पनि धेरै भयो, पोहोरको अनुपातमा बिक्री वितरण कम भयो, २५ हजार विक्री भए, ३० हजारदेखि ३५ हजारसम्म खसिबोका आयात भएको थियो, बाँकी रहेका खसिबोका हामीले व्यापारीहरुलाई गाउँ नै फिर्ता गरिदिएका छौँ, अप्रत्यासीत रुपमा काठमाडौं उपत्यकामा खसीबोका भित्रिँदा बिक्री कम भएको हो ।’

उनले सरकारले बजारको मागअनुसार काम नगरेको भन्दै सरकारपक्षबाट बजारीकरणको व्यवस्था मिलाइनु पर्ने बताए ।

यस वर्ष काठमाडौं उपत्यकामा व्यपारीहरुले ६५ हजार खसीबोका भित्र्याएको बताइएको छ । बिक्री हुन नसकेका खसिबोका भने धमाधम गाउँ फर्काइएको व्यवसायीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.