राष्ट्र बैंक व्याजदर नियन्त्रणको उपाय खोज्दै गर्दा हिमालयन बैंकले मार्यो ‘बिगसट’

  २०७८ कार्तिक ३ गते १३:१८     विकासन्युज

काठमाडौं । भलद्मीपनको बैंकिङ गरिरहेको हिमालयन बैंक यसपाली व्याजदरका विषयमा जंगिएको छ । कात्तिक महिनाको लागि हिमालयन बैंकले मुद्दति निक्षेपमा ३.१७ विन्दुले व्याजदर बढाएर ११.६७ प्रतिशत पुर्याएको छ ।

कात्तिक महिनाको लागि प्रकाशित गरेको व्याजदरमा हिमालयनसँगै लक्ष्मी र एनआईसी एसिया बैंकले मुद्दति निक्षेपमा ११ प्रतिशतभन्दा माथि व्याज दिने सुचना प्रकाशित गरेका थिए । लक्ष्मी बैंकले ११.०५ प्रतिशत र एनआईसी एसिया बैंकले ११.१ प्रतिशत व्याज दिने भनेको थियो ।

व्याजदर उच्च अंकले बढाउनेमा हिमालयन बैंक नै सबैभन्दा अगाडी देखियो । कात्तिक महिनाको लागि प्रकाशित गरेको सुचनामा १६ वटा बाणिज्य बैंकहरुले निक्षेपको व्याज बढाएका छन् भने ४ वटाले घटाएका छन् । बाँकी बैंकको व्याजदर स्थीर थियो ।

गत असोज महिनामा सनराइज बैंकको सबैभन्दा उच्च अर्थात १०.०७ प्रतिशत व्याज थियो । यस्तै, ९ देखि १० प्रतिशतको बीचमा १३ वटा बैंकको व्याज थियो भने ८ देखि ८.९९ प्रतिशतको बीचमा १२ बैंकले व्याज दिएका थिए । ८ प्रतिशतभन्दा कम व्याज दिने एउटा मात्रै बैंक थियो ।

कात्तिक महिनामा १६ वटा वाणिज्य बैंकले व्याज बढाएपछि र हिमालयन, एनआईसी एसिया र लक्ष्मी बैंकले ११ प्रतिशतभन्दा बढी व्याज दिने सुचना प्रकाशित गरेपछि नेपाल राष्ट्र बैंकमा हल्लीखल्ली नै भयो । कात्तिक १ गते बैंकहरुले प्रकाशित गरेको सुचनापछि कात्तिक २ गते दिनभर राष्ट्र बैंकले कसरी व्याजदर १० प्रतिशतको हाराहारीमा राख्ने भन्ने आन्तरिक गृहकार्यमै जुट्यो ।

बैंकहरुले उच्च दरमा व्याजदर बढाएको सुचना प्रकाशित गरेपछि उद्योगी व्यवसायीले चिन्ता जनाए । यसरी सार्वजनिक रुपमा चिन्ता जनाउनेहरुमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग वाणिज्य महासंघकै उपाध्यक्ष अन्जन श्रेष्ठ लगायत अग्रपंतिमा देखिए । मोरङ उद्योग वाणिज्य महासंघले संस्थागत रुपमै व्याजदर बढेकोप्रति असहमति जनाउँदै प्रेस विज्ञप्ति नै प्रकाशित गर्यो भने कात्तिक १ गते ६० अंकभन्दा बढीले घटेको सेयर बजार २ गते १०० अंकसम्मले घट्यो ।

व्याजदर बृद्धिले सेयर बजारदेखि उद्योग व्यवसायसम्म आतंक फैलाएपछि राष्ट्र बैंकले कात्तिक २ गते राति अबेर नयाँ निर्देशन जारी गर्यो । नयाँ निर्देशन अनुसार बैंकहरुले अघिल्लो महिनाको भन्दा १० प्रतिशतसम्म मात्रै व्याजदर हेरफेर गर्न पाउने नयाँ नियम निर्देशिका मार्फत सार्वजनिक भयो । र, कात्तिक महिनाको लागि बैंकहरुले प्रकाशित गरेको नयाँ व्याजदर खारेज गरेर असोज महिनाको भन्दा १० प्रतिशतले मात्रै तलमाथि हुने गरी नयाँ दर सार्वजनिक गर्न निर्देशन मार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई भनियो ।

हिमालयन बैंकको बिगसट

राष्ट्र बैंक व्याजदर नियन्त्रणको उपाय खोज्न आन्तरिक छलफलमै जुटेका बेलामा हिमालयन बैंकले भने ‘बिगसट’ मारिसकेको छ । कात्तिक महिनाको लागि भनेर कर्मचारी संचय कोष र नागरिक लगानी कोषले असोज ३१ गते नै ‘अक्सन’ गरिसकेका थिए । बढी व्याज दिने बैंकमा रकम राख्ने भनेका यी दुबै संस्थाको निक्षेप हिमालयन बैंकमा जानबाट रोक्न राष्ट्र बैंकको निर्देशन पछि परेको छ ।

कात्तिक १ र २ गते लिएको निक्षेपको हकमा भने कात्तिक १ गते प्रकाशित व्याजदर अनुसार नै व्याज दिन राष्ट्र बैंकको निर्देशनले नरोक्ने राष्ट्र बैंकका प्रवक्ता देबकुमार ढकाल बताउँछन् ।

‘बैंकहरुले कात्तिक १ गते कात्तिक महिनाको लागि नयाँ व्याजदर प्रकाशित गरेका थिए, हामीले कात्तिक २ गते नयाँ निर्देशन जारी गरेका छौं, हामीले नयाँ निर्देशन जारी गर्नुअघि बैंकहरुले कात्तिक १ गते जुन व्याजदर प्रकाशित गरेका थिए, सोही व्याजदर नै कायम हुन्छ,’ बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख समेत रहेका प्रवक्ता ढकालले विकासन्युजसँग भने ।

ढकालको भनाई अनुसार कात्तिक १ र २ गते हिमालयन सहितका कुनै पनि बैंकले नयाँ व्याजदर अनुसार निक्षेप लिएका वा लिने भनेर अक्सनमा सहभागी भएका छन् भने उनीहरुले कात्तिक १ गते प्रकाशित व्याजदर अनुसार व्याज दिन पाउने छन् ।

हिमालयन बैंकले कात्तिक १ गते प्रकाशित गरेको नयाँ व्याजदर अनुसार नै नागरिक लगानी कोषबाट साढे ४ अर्ब रुपैयाँ निक्षेप उठाइसकेको छ । नागरिक लगानी कोषबाट हिमालयन बैंकले ११.१५ प्रतिशत व्याज दिने गरी अक्सन प्रकृयाबाट सो निक्षेप लिएको कोष स्रोतले जानकारी दियो ।

यस्तै, कर्मचारी संचय कोषको रकम पनि हिमालयन बैंकले नै पाउने सम्भावना बढी छ । कमैचारी संचय कोषले असोज ३१ गते अक्सन जारी गरेको थियो । सो अक्सन अनुसार हिमालयन बैंकले ११ प्रतिशतभन्दा बढी व्याज दिने गरी प्रस्ताव हालिसकेको छ । कर्मचारी संचय कोषले भोलि सिलबन्दी बोलपत्र खोल्दैछ । राष्ट्र बैंकको निर्देशन आउनु अघि नै हिमालयन बैंकले लिलाम बढाबढमा सहभागी भएर प्रस्ताव गरेको व्याजदर कायम हुन सक्ने आशा कर्मचारी संचय कोषको छ ।

कात्तिक महिनामा मात्रै कर्मचारी संचय कोषले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा राखेको मुद्दति निक्षेपको करिब १३ अर्ब रुपैयाँ परिपक्क हुँदैछ । यस्तो रकम पनि कोषले गत असोज ३१ गते प्रकाशित गरेको सुचनाका आधारमा लिलामी प्रक्रियाबाट बढी व्याज दिने बैंक तथा वित्तीय संस्थामा राख्नेछ ।

राष्ट्र बैंकले व्याजदर नियन्त्रणको लागि विकल्प खोज्न २ दिन ढिला गर्दा हिमालयन बैंकले करिब ८ अर्ब रुपैयाँ निक्षेप बढाउने र त्यसको प्रत्येक्ष लाभ कर्मचारी संचय कोष र नागरिक लगानी कोषले पाउने देखिएको छ ।

सम्बन्धित समाचार

व्याजदर नियन्त्रणमा राष्ट्र बैंकको कडा हस्तक्षेप, १० प्रतिशतभन्दा बढाउन नपाइने, बढेको व्याज घटाउनु पर्ने

सीडी रेसियो खारेज गर्न माग, कर्जाको व्याज ९ प्रतिशतमा सीमित राख्न दवाव

प्रतिस्पर्धामा गए १५ प्रतिशत पुग्न सक्छ व्याजदर, ऋण किन्ने विकल्पमा छलफल गर्दै बैंकर

One comment on "राष्ट्र बैंक व्याजदर नियन्त्रणको उपाय खोज्दै गर्दा हिमालयन बैंकले मार्यो ‘बिगसट’"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.