व्याजदर नियन्त्रणमा राष्ट्र बैंकको कडा हस्तक्षेप, १० प्रतिशतभन्दा बढाउन नपाइने, बढेको व्याज घटाउनु पर्ने

  २०७८ कार्तिक २ गते २१:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्याजदर नियन्त्रणका लागि कडा हस्तक्षेप गरेको छ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप र कर्जाको अनुपात (सीडी रेसियो) मिलाउनको लागि अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।

राष्ट्र बैंकले आज राति बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै अघिल्लो महिनाको प्रकाशित व्याजदरको १० प्रतिशतले मात्रै बढाउन पाइने व्यवस्था गरिएको जानकारी गराएको छ । राष्ट्र बैंकले गरेको यस्तो व्यवस्था कात्तिक महिनादेखि नै लागू हुनेछ ।

‘बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने व्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित व्याजदरमा १० प्रतिशतका दरले मात्र परिर्वत गर्न सक्नेछन्,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

यस्तै, संस्थागत मुद्दती निक्षेप (बोलकबोल समेत) मा प्रदान गरिने अधिकतम व्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम व्याजदरभन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । हिमालयन बैंकले कात्तिक महिनाको लागि प्रकाशित गरेको व्याजदरमा सर्वसाधारणलाई साढे १० प्रतिशत र संस्थागत निक्षेपकर्तालाई (बोलकबोलमा) ११.६७ प्रतिशतका दरले व्याज दिने सुचना प्रकाशित गरेकोे थियो ।

कात्तिक महिनाको लागि बैंकहरुले प्रकाशित गरेको व्याजदर असोज महिनाको भन्दा ३० प्रतिशतसम्मले बढाएका थिए । बैंकहरुले यसरी व्याज बढाएपछि राष्ट्र बैंकले कडा हस्तक्षेप गरेको हो । बैंकहरुले कात्तिक महिनाको लागि प्रकाशित गरेको व्याजदर राष्ट्र बैंकले गरेको १० प्रतिशतको सीमामा कायम गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमा प्रकाशित गर्नु पर्ने र यसरी संसोधन गरिएको नयाँ व्याजदर कात्तिक ५ गतेभित्रमा दैनिक पत्रिकामा समेत प्रकाशित गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

One comment on "व्याजदर नियन्त्रणमा राष्ट्र बैंकको कडा हस्तक्षेप, १० प्रतिशतभन्दा बढाउन नपाइने, बढेको व्याज घटाउनु पर्ने"

  • तोरी says:

    नियामक नै कार्टेलिंगमा लागेपछि अरुलाई के भन्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.