सनराइज बैंकको निक्षेप १९ अर्बले बढ्यो, राष्ट्रिय वाणिज्य बैंकले २२ अर्ब गुमायो

  २०७८ कार्तिक २ गते १७:४०     विकासन्युज

काठमाडौं । व्याजदर बढाउने वित्तिकै बैंकको निक्षेपमा बृद्धि हुन थालेको छ । केही वर्ष अघिसम्म एउटा बैंकका निक्षेपकर्ता अर्काे बैंकमा जाने प्रबृत्ति खासै नदेखिए पनि हालैका दिनमा भने जुन बैंकले बढी व्याज दिन्छ सोही बैंकमा निक्षेप बढी जम्मा हुने क्रम बढेको छ ।

चालु आर्थिक वर्षको तीन महिना (साउनदेखि असोज मसान्तसम्म) को विवरणले व्याजदर बढाउने वित्तिकै बैंकहरुमा निक्षेप बढ्ने देखिएको हो । सनराइज बैंकले गत असोजमा मुद्दति निक्षेपमा १०.०७ प्रतिशत व्याज दिने सूचना प्रकाशित गरेको थियो ।

गत असोज महिनामा सबैभन्दा बढी व्याज दिएको सनराइज बैंकले एक महिनामै करिब १९ अर्ब रुपैयाँले निक्षेप बढाएको छ । गत भदौसम्ममा १ खर्ब १३ अर्ब २ करोड रुपैयाँ निक्षेप रहेको सनराइज बैंकमा असोज मसान्तमा भने बढेर १ खर्ब ३२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, मुद्दति निक्षेपको व्याजदर बढाएर ९.५१ प्रतिशत पुर्याएको सानिमा बैंकले पनि असोज महिनामा मात्रै १० अर्ब ६७ करोड रुपैयाँ निक्षेप बढाएको छ । भदौ मसान्तमा १ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ निक्षेप रहेको सानिमाको असोज मसान्तमा बढेर १ खर्ब ४३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य (राबा) बैंकलाई भने निक्षेप बृद्धिका हिसावले चालु आर्थिक वर्षको पहिलो ३ महिना सुखद रहेन । यो तीन महिनाको अवधिमा राबा बैंकले २२ अर्ब २१ करोड रुपैयाँ निक्षेप गुमाएको छ । राबा बैंकमा गत असार मसान्तमा २ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ निक्षेप थियो भने गत असोज मसान्तमा घटेर २ खर्ब ४१ अर्ब ८९ करोड रुपैयाँमा सिमित भएको छ ।

यो ३ महिनाको अवधिमा बाणिज्य बैंकहरुले ६७ अर्ब २६ करोड रुपैयाँ निक्षेप बढाएका छन् । गत असार मसान्तमा बैंकहरुसँग ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप थियो भने गत असोज मसान्तमा यस्तो निक्षेप बढेर ४२ खर्ब ६८ अर्ब ६५ करोड रुपैयाँ निक्षेप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.