प्रतिस्पर्धामा गए १५ प्रतिशत पुग्न सक्छ व्याजदर, ऋण किन्ने विकल्पमा छलफल गर्दै बैंकर

  २०७८ कार्तिक २ गते १७:०४     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले कर्जा र निक्षेपको अनुपात (सीडी रेसियो) मिलाउन निक्षेपको व्याज दर बढाउने प्रतिस्पर्धा गरेपछि व्याजदर बढेर १५ प्रतिशतसम्म पुग्न सक्ने चिन्ता बैंकरले व्यक्त गरेका छन् ।

गत महिना सनराइज बैंकले मुद्दति निक्षेपमा १०.०७ प्रतिशत व्याज दिने गरी सुचना प्रकाशित गरेको थियो । असोज महिनाको सबैभन्दा बढी व्याज नै सनराइज बैंकको थियो । असोज महिनामा सनराइजपछि सबैभन्दा बढी व्याज प्राइम कमर्शियल बैंकको ९.७ प्रतिशत, मेगाको ९.५५ प्रतिशत र सानिमा बैंकको ९.५१ प्रतिशत थियो ।

कात्तिक महिनाको लागि हिमालयन बैंकले प्रकाशित गरेको व्याजदरमा संस्थागत निक्षेपकर्ताको निक्षेप लिलामी प्रतिस्पर्धामा भाग लिदा ११.६७ प्रतिशतसम्म दिने सुचना प्रकाशित गर्यो । कात्तिक महिनाको लागि सबैभन्दा बढी व्याज हिमालयन बैंकको नै छ ।

यस्तै, एनआईसी एसिया बैंकले पनि व्याजदर बढाएर मुद्दति निक्षेपमा ११.१ प्रतिशत दिने सुचना प्रकाशित गर्यो । लक्ष्मी बैंकले पनि मुद्दतिमा ११ प्रतिशतभन्दा माथि व्याजदर दिने सुचना प्रकाशित गरेको छ ।

व्याजदरमा यसरी प्रतिस्पर्धा हुन थालेपछि बैंकरले चिन्ता व्यक्त गरेका हुन् । यसरी व्याजदर बढाउने प्रतिस्पर्धा गर्ने हो भने केही महिनापछि नै निक्षेपको व्याज नै १५ प्रतिशत पुग्ने देखिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् ।

‘अहिले बैंकिङ क्षेत्रको सीडी रेसियो ८९ प्रतिशतको हाराहारीमा छ, केही बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि पुगेको छ, सीडी रेसियो मिलाउनकै लागि व्याजदर बढाउँदै जाने हो भने केही महिनाभित्रै निक्षेपको व्याज नै १५ प्रतिशतको हाराहारीमा पुग्ने देखियो, व्याजदर बढेकोमा उद्योगी व्यवसायीदेखि राष्ट्र बैंकसम्मले चिन्ता व्यक्त गरिरहनु भएको छ, व्याजदर बढाएर मात्रै निक्षेप बढ्ने होइन, एउटा बैंकको निक्षेप अर्काे बैंकले तानेर समस्याको समाधान हुँदैन, त्यसैले कुनै उपयुक्त विकल्प निकालेर त्यसमा गृहकार्य गरौं भनेका छौं,’ एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले विकासन्युजसँग भने ।

व्याजदर बढाउन बैंकहरुबीच चलेको प्रतिस्पर्धाको विषयमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छासँग पनि कुराकानी भएको दाहालले जानकारी दिए । व्याजदर बढ्दै जाँदा उद्योग व्यवसायको लागि चाहिने पुँजी महंगो हुने र त्यसले कोभिड महामारीपछि तग्रिन थालेको अर्थतन्त्रलाई अर्काे नकारात्मक असर पर्ने भएकोले १० प्रतिशतसम्मको सीमामा निक्षेपको व्याज रहनु पर्छ भन्नेमा महासंघ अध्यक्ष गोल्छा र आफू सहमत रहेको पनि दाहालको भनाई छ ।

व्याजदरलाई एउटा सीमामा कायम राख्नको लागि एउटा बैंकको कर्जा अर्काे बैंकले किन्ने विकल्पमा जान आफूले प्रस्ताव गरेको दाहालले बताए ।

‘नेपाल बैंकर्स एसोसिएसनको बैठक बसेर व्याजदरलाई एउटा सीमामा राख्ने सहमति गरौं भन्ने प्रस्ताव पनि आएको थियो, व्याजदर बढाउँदा धेरै खर्च बढ्ने भएकोले जुन बैंकलाई अप्ठेरो परेको हुन्छ, उसले मात्रै बढाउँदा भइहाल्छ, किन सहमति गरिराख्ने भन्ने कुरा पनि आयो, यसरी व्याज बढाउने प्रतिस्पर्धा नगरौं, जुन बैंकको कर्जा बढी भएर सीडी रेसियो मिलाउन समस्या भएको छ, उसको कर्जा सीडी रेसियो कम भएका बैंकले किन्ने विकल्पमा जाउँ भनेर मैले अक्टोबर ११ मा विहान ७ बजे नै सबै बैंकसमक्ष प्रस्ताव गरेको छु, यो राम्रो विकल्प हुन सक्छ,’ अध्यक्ष दाहालले थपे ।

दाहालले गरेको सो प्रस्तावमा बैंकरले छलफल थालेका छन् । दाहालको प्रस्ताव अनुसार जुन बैंकको सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी हुन्छ, सो बैंकको केही कर्जा सीडी रेसियो ९० प्रतिशतभन्दा कम हुने बैंकले लिइदिनेछ । यस्तो भएमा बैंकहरुलाई व्याज बढाउन दबाब नपर्ने र बैंकहरुको सीडी रेसियो पनि ९० प्रतिशतको सीमामा रहने अनुमान बैकरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.