सरकारी चिकित्सकको तलब वृद्धि हुँदै, न्युनतम रु. १ लाख ५० हजार माग

  २०७८ कार्तिक २ गते १३:१०     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकको तलव सुविधा बढाउने तयारी भैरहेको बताएका छन् । उनी केही समयअघिसम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समाल्दै आएका थिए ।

चितवनस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकले निजी अस्पताल वा क्लिनिकमा काम गर्नु नपर्नेगरी तलव वृद्धि हुन लागेको बताएका हुन् । तर, उनले चिकित्सकहरुको तलव सुविधा कतिले वृद्धि गर्ने भनेर खुलास्त त बताएनन् ।

कम्तिमा ढेड लाख हुनुपर्ने माग

नेपाल चिकित्सक संघले चिकित्सकहरुको न्यूनतम तलव १ लाख ५० हजार रुपैयाँ हुनुपर्ने माग राखेको छ । संघका महासचिव डा. बद्री रिजालले मेडिकल अफिसरले मासिक कम्तिमा एक लाख रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म र सिनियर डाक्टरले मासिक ५ लाख रुपैयाँसम्म तलब पाउने व्यवस्था गरिनुपर्ने बताए । तर, यसरी तत्काल तलब बृद्धि गर्न सम्भव नभए निश्चित कार्ययोजना बनाएर वार्षिक रुपमा तलब बढाउँदै जान सकिने गरी संघले सुझाव दिएको उनले बताए ।

‘सरकारले एउटा कमिटि बनाएर अध्ययन गरोस् । छिमेकी भारतमा चिकित्सकको तलव सुविधा कस्तो छ । नेपाली डाक्टरहरुले काम गरिरहेको मलेसिया, म्यानमार, अष्ट्रेलिया, अमेरिकामा के कस्तो सुविधा छ ? त्यसका आधारमा सरकारले उचित निर्णय लिनुपर्छ’ संघका अध्यक्ष डा लोचक कार्कीले विकासन्युजसँग भने ।

हाल सरकारी अस्पतालमा काम गर्ने आठौं तहका चिकित्सकले मासिक ४२ हजार रुपैयाँ पाउँने गरेका छन् । १२ औं तहका चिकित्कसले मासिक करिव ७० हजार रुपैयाँ तलव पाउने गरेका छन् । ‘आय कर कट्टी गरेर चिकित्कसहरुले करिव ३८ हजारदेखि ६२ हजार रुपैयाँ पाउँछन् । भन्न पनि लाज लाग्छ । यति पैसाले कसरी घर चलाउने ?’ नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचक कार्कीले विकासन्युजसँग भने ।

अरु सरकारी कर्मचारीको भन्दा चिकित्सकको तलव बढी हुनुमा मुख्य तीन वटा आधारलाई लिनुपर्ने कार्कीको भनाई छ । उनका अनुसार पहिलो, एमडी गर्न एक करोड रुपैयाँ भन्दा बढी लगानी हुन्छ । अरु विषयमा ग्याजुएशन गर्न ४ वर्ष लाग्छ भने मेडिकल एजुकेशनको ग्याजुएशन गर्न ६ वर्ष लाग्छ । दोस्रो, प्राविधिक विषय भएकोले ट्यालेन्ट पनि हुनुपर्छ । तेस्रो, विरामीको उपचारको लागि चिकित्सकले जतिखेरा पनि काम गर्नु पर्ने हुन्छ । बढी जोखिम र तनाव लिएर काम गर्नुपर्ने हुन्छ ।

संघका महासचिव रिजाल सरकारले अहिले दिएको तलब भत्ताले डाक्टरहरुलाई खान लगाउनै नपुग्ने भएकोले बढाउनको विकल्प नभएको बताए । ‘सरकारले अहिले डाक्टरहरुलाई दिएको तलबले खान लगाउनै पुग्दैन, कुनै पनि डाक्टरलाई देश छोडेर विदेश जाने रहर हुँदैन तर, यहाँ पाइने तलबले खान लगाउनै नपुग्ने भएपछि विदेशिनुको विकल्प रहेन, त्यसैले हामीले विगतदेखि नै सरकारी सेवामा रहेका डाक्टरहरुको तलब बढाउनु पर्छ भनेर सरकारलाई भनिरहेका छौं,’ महासचिव डा. रिजालले विकासन्युजसँग भने ।

अर्थमन्त्री पनि सहमत

गत असोज ८ गते नेपाल चिकित्सक संघले आयोजना गरेको नेशनल हेल्थ समिटमा अर्थमन्त्री जर्नादन शर्मा र तत्कालिन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ सहभागी भएका थिए । दुबै मन्त्रीले चिकित्कसको तलव सुविधा वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरेको संघका अध्यक्ष डा कार्कीले बताए ।

2 comments on "सरकारी चिकित्सकको तलब वृद्धि हुँदै, न्युनतम रु. १ लाख ५० हजार माग"

  • तोरी says:

    प्रधामन्त्री , रास्ट्रपतिको तलब १ लाख हाराहारी हुदा MBBS डाक्टरको तलब डेढ लाख ? गज्जब छ हाम्रो देश। अनि डेढ लाख तलब बनाए पछि क्लिनिक नगई पुरा पुर् समय सरकारी अस्पतालमा नै काम गर्छन भन्ने ग्यारेन्टी दिन सकिन्छ अध्य्क्ष महोदय ज्यु ? सरकारी अस्पतालका अधिकाङ्क्स डाक्टरको पारा सर्बसाधारणले देखेका छन् भोगेका छन् |

  • Jk jha says:

    Salary should be increased & hospital facility should be enhanced

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.