मूल्य बढ्दा काठमाडौंमा सुस्तायो खसी व्यापार, बिक्री नहुँदा व्यापारी निरास

  २०७८ असोज २७ गते १४:१२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा खसिबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन् । कोरोनाको कारण व्यापार व्यवसाय कम हुँदा खसीबोकोको व्यापार कम भएको उनीहरुको भनाई छ ।

कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरु गाउँमा दशैँ मनाउन गएकोले काठमाडौंमा खसिबोका व्यापार कम भएको बताएका छन् । खसिबोकाको ब्यापारमा काठमाडौंका स्थानीय ब्यापारीहरुको राम्रो ब्यापार भएपनि बाहिरबाट खसिबोका लिएर आउने व्यापारीहरुले परलमोल नै उठाउन नसकेको गुनासो गरेका छन् ।

काभ्रेबाट खसि बोका बिक्री गर्न बबरमहल आएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार हुन नसकेको बताए । गत वर्ष ३ सय खसि बोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उनले यस वर्ष अझै सय वटा बोका बेच्न बाँकी रहेको बताए ।

व्यापारी लामाले भने, ‘यस वर्ष पोहोरको तुलनामा आधा पनि व्यापार भएको छैन, सबै जना गाउँ गएको हो कि,खाने मान्छे नै नभएको हो कि ? महंगोले पनि होला, मैले साढे तीनसय ल्याएको थिएँ, अझै १ सय वटा बाँकी छ, पोहोर फूलपातीकै दिन सकाएर जान्थ्यौँ, यसपाली सय वटाबाँकी नै छ, मैले ६ सयदेखि ६५० रुपैयाँसम्ममा बिक्री वितरण गरिरहको छु ।’

त्यस्तै धादिङबाट खसिबोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आएका परशुराम चौलागाँईले पनि गत वर्षको जस्तो व्यापार नरहेको बतए । उनले यस पटक खसि किनेको परलमोल नै उठाउ हम्मेहम्मे परेको गुनासो गरे । उनले कोरोनाका कारण ग्राहकहरुको खरिद शक्ति (पैसाको कमी भएको) नभएको जनाउँदै खसी किन्न आएका ग्राहकहरुले मुल्य थोरै दिने गरेको बताए ।

उनले भने, ‘पहिला महंगो भयो, अहिले आएर घट्यो, त्यसैले यताका व्यपारीहरु सबै गाउँमा पसे, गाउँमा ६५० भयो, व्यपारीहरुमा नै प्रतिष्पर्धा भयो, पोहोर आजका दिनसम्म खसि किन्नेहरुले झम्टिएर लैजान आइपुग्थे यस वर्ष त्यति व्यापार हुन सकिरहेको छैन । अहिले २२, २५ हजारको खसिलाई १४ हजार दिन आउँछन्, हामीले साउँसम्म उठाउन पाए हुन्थ्यो भनेर बेचिरहेका छौँ, खोरमा हरायो भने पनि केही पैसा नपाउने रहेछ, आफैँ चिनेर लैजानुस् भन्ने, कहाँ खोज्न जानु ? हराएपछि आफैँलाई घाटा छ । ३५,४० वटा बेचिसक्यौँ, अब १०,१५ वटा बाँकी छ, कोरोनाले असर गरेको छ, व्यापारीहरुलाई त छँदै छ, ग्राहकहरुसँग पनि पैसा कमाएका छैनन्, अनि कसरी खसि किन्नु ।’

उनले कोरोना महामारीले गर्दा खसिबोका बिक्री वितरण हुन नसकेको बताए । बाहिरबाट खसिबोका र च्यांग्रा बिक्री गर्न काठमाडौं आएका व्यापारीहरु चाहे जस्तो व्यापार नहुँदा निरास देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.