राजमार्ग क्षेत्रका होटलको लुटधन्दा, कमिसन पाउने चक्करमा ठगिदै यात्रु

  २०७८ असोज २७ गते १३:५२     विकासन्युज

काठमाडौं । कञ्चनपुरका दिप महरा असोज २५ गते दशैं मनाउन काठमाडौंबाट घर फर्के । यसअघिका दशैंमा हवाइजहाजकै यात्रामा आहोर–दोहोर गर्ने उनी यस पटक साथीहरु पनि जाने भएपछि बसमा घर जाने भए । साथीसँग रमाइलो पनि हुने र सँगै खाना खान पनि पाइने भएपछि उनले बाटोमा खानका लागि काठमाडौंबाट पनि केही बोकेनन् ।

उनीसहित उनका साथीहरुले यात्रामा नै खाना खाने निधो गरे । राति १० बजे उनी चढेको सुदूरपश्चिम यातायातको गाडी न. ७९०५ ले नारायणगढ स्थित मानसरोवर होटलमा खानाको लागि यात्रुलाई ओर्लायो ।

उनीसहित उनका साथी र गाडीका यात्रुहरु खाना खान होटल तर्फ लागे । सो होटल नजिकै न कुनै अर्को होटल थिए नत मानव वस्ती नै । सुनसान ठाउँमा रह्ेको सो मानसरोवर होटलको खाना र खानाको शुल्क देखेर दिपका साथीहरु मात्र होइन गाडीका सबै यात्रुहरु छक्क परे ।
सो होटलले प्रति खानाको शुल्क ३ सय रुपैयाँदेखि ६ सय रुपैयाँ लिइरहेको थियो ।

दिपले भने, ‘सुनसान ठाउँ छ, वरपर अर्को कुनै होटल छैन, अर्को ठाउँ खान जाऔं भनेपनि विकल्प छैन, राति १० बजे भोक लागिसकेको छ, महँगो खाना नखानुको विकल्प छैन ।’

दिप मात्र होइन सो होटलमा खाना खान गएका यात्रुहरु होटल सञ्चालकसँग खाना नमिठो र महँग्गो भएको भन्दै गुनासो गर्दै तिए । तर, होटलवालाहरु भने खाए खानुस् नखाए जानुस् भनेर धम्किपूर्ण भाषा प्रयोग गरिरहेका थिए ।

‘खाना पनि मिठो छैन, महँगो असाध्यै छ, दशैंमा गाउँ फर्किने लाखौं यात्रु यसरी लुट धन्दा गरिहँदा पनि यस्ता होटलहरुमा कहिल्यै अनुगमन हुँदैन, गाडीका चालक, बस व्यवसायी र होटल सञ्चालकहरुको मिलोमतोमा यात्रु ठगिँदैछन्,’ उनले भने ।

उनले बस चालकले कमिसन पाउने चक्करमा एउटा एकान्त ठाउँको होटलमा यात्रलाई ठगिन बाध्य पार्ने आरोप पनि लगाए । बसमा रहेका यात्रुहरुले होटलबाट बस चालकले पैसा लिएर होटलमा यात्रुहरुलाई खाना खुबाउने अभ्यास गरिरहेको बताए ।

यो त एक प्रतिनिधि घटना मात्रै हो । अहिले दशैंमा काटमाडौंबाट गाउँ फर्किनेहरुलाई राजमार्ग क्षेत्रका होटलहरुले खानाको महग्ँगो शुल्क लिने बुझिएको छ । दशैं नजिकिएसँगै काठमाडौंबाट गाउँ फर्किने यात्रुहरुबाट खानाको शुल्क महँगो लिने गरेको भेटिएको हो ।

राजमार्गमा यात्राका क्रममा अस्वस्थ खाना खुबाउने मात्रै होइन महँगो शुल्क पार्न पनि बाध्य पारिरहेका छन् । राजमार्गका होटलहरुले यात्रुहरुलाई ठगी गर्ने घटना नयाँ नभएपनि अनुगमन भने हुने गरेको छैन । बस चालक, यातायात व्यवसायी र होटल सञ्चालकहरुले मिलोमतोमा यात्रुहरुलाई ठगी गरे पनि नियमन गर्ने निकाय भने जहिल्यै मौन देखिन्छ ।

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले यात्राको क्रममा टिकट र खानाको महँगो शुल्क तिर्नु पर्ने र खाना पनि अस्वस्थ खुबाउने प्रवृति बढेको हो ।

होटल व्यवसायी महासंघका महासचिव साजन शाक्य भने त्यस्ता होटलहरुलाई तत्कालै कारवाही गर्नु पर्ने बताउँछन् । ‘ग्राहकलाई सत्कार गर्नु हाम्रो कर्तव्य हो, पैसा कमाउने चक्करमा यात्रुलाई ठग्न मिल्दैन, त्यस्ता होटललाई सम्बन्धित निकायले तत्काल कारवाही गरोस्,’ उनले भने ।
उनले यात्रुहरुले होटेल सरकारी निकायमा दर्ता भएको छ कि छैन भनेर पनि हेर्नु पर्ने सुझाव दिए ।

कोरोनाकाल भन्दा अगाडि स्थानीय प्रशासन, होटेल संघ नेपाल र व्यवसायीको संयुक्त पहलमा राजमार्गका राम्रा होटेलमा हरियो स्टीकर टास्ने अभियान शुरु गरिएको थियो । तर, कोरोना महामारीपछि भने यो काम रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.