खसीबोकाको स्वास्थ्य परीक्षण, ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडिए

  २०७८ असोज २७ गते १३:३८     विकासन्युज

काठमाडौं । दशैँका लागि काठमाडौं ल्याउँदा ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडिएका छन् । क्लिन नेपालका सञ्चालक पदम थापा भन्छन, ‘ हिजो बजारबाट खवर आएपछि ७ वटा लगेर गाड्याैँ । आज विहानै ८ वटा ल्याएर गाड्ने क्रममा छन् ।’

थापाकाअनुसार गएको बर्ष कोभिडका कारण बजारमा खासै चहलपहल भएन । ०७६ सालमा भने मरेका भेडा, च्याङ्ग्रा, खसी, बोका गरेर करीव ५० वटा जति मरेका चौपाया गाडिएको थियो ।

हामीलाई कलंकीबाट चाहिँ खवर आउँछ । अरुतिर पनि खसी बजार छन् । ती बजारबाट चाहिँ खवर आएको छैन । थापा भन्छन, ‘खवर आउनेवित्तिकै हामीले टोली पठाएर मृत चौपाया उठाएर गाड्न ल्याउने गरेका छौँ ।’

काठमाडौँ महानगरपालिकाले स्वच्छ मासुका लागि चौपाया बजारमा ल्याइएका खसी बोका, भेडा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरिरहेको छ । काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन गरिरहेको हो ।

परीक्षण गरिएकामध्ये निरोगीको सिङ्मा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउने गरिएको छ । रातो रङ्ग लगाइएका चौपायाहरु उपचारपछि विक्री योग्य हुन्छन् । महानगरका वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाका अनुसार बजारमा भेटिएका मृत चौपायाहरु रोगले नभई ढुवानीका क्रममा च्यापिएर मरेका हुन् । जुनसुकै कारणले मरे पनि मृत चौपाया खान योग्य हुँदैनन् । त्यसैले यिनीहरुलाई गाड्ने गरिएको छ ।

नवमीसम्म चौपायाको विक्री धेरै हुने गरेको छ । कलंकी खसी बजारभित्रबाट मात्र होइन, वाहिर सडक किनाराबाट पनि व्यापारीहरुले चौपाया बेचिरहेका छन् । काठमाडौँ चौपाया खरिद विक्री प्रा. लि. का सञ्चालक व्यवस्थापक जीवन खतिवडा सडकमा चौपाया विक्री रोक्नु पर्ने बताउँछन् । उनका अनुसार सडकमा बिक्री बन्द गर्दा बजार व्यवस्थापनमा सहयोग पुग्छ ।

महानगरभित्रका दशैँ लक्षित चौपाया बजारहरु कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र हुन् । महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा विहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन गरिएका छन् ।

काठमाडौँ महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मा. वि. पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरीे (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.