४ करोड लागतमा साहित्यकार भवन बनाउँदै काठमाडौं महानगर

  २०७८ असोज २४ गते १३:५९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा ६ को रामहिटीमा साहित्यकारहरुका लागि सुविधा सम्पन्न भवन निर्माण गरिदिने भएको छ । आईतबार महानगरका प्रमुुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्दै साहित्यकारका लागि आवासीय सुविधासहितको भवन निर्माण गरिने बताएका हुन ।

भवन शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले, काठमाडौँको विकास हेर्न, सुन्न र महसुस गर्न सकिने ठाउँमा पुगेको बताए । ‘हामी स्थानीय निर्वाचनको दौरानमा हिँड्दा बेलुका कपडा हेर्नै नहुने गरी मैला भएको हुन्थ्यो । ननुहाई हुँदै हुँदैनथ्यो । अहिले त्यो अवस्था छैन । कोभिडको महामारीमा हामीले धेरै समय त्यत्तिकै खर्च गर्नु प¥यो । नत्र काठमाडौँ अर्कै भइसक्ने थियो ।’

हामीले पैसा हेरेर विकास योजना बनाएका छैनौँ । योजना तर्जुमा गरेर त्यसअनुसारको पैसा छुट्याएका छौँ । पैसा जति छ त्यतिको योजना बनाउँदा जनताका आवश्यकता पूरा हुँदैनन् । प्रमुख शाक्यले, मूर्त अमूर्त सम्पदाको ममर्त सम्भार र जीर्णोद्धार, शिक्षा र स्वास्थ्यका क्षेत्रमा थप लगानी हुँदै गरेकाले काठमाडौँ बस्न र हेर्न लायक सहर बन्दै गएको बताए ।

योजनाहरु शिलान्यास हुने तर उद्घाटन गर्न नपाइने उदाहरुण सुनाउँदै सांसद कृष्ण राईले साहित्य सदनको भवन समयमा निर्माण सम्पन्न हुने अपेक्षा व्यक्त गरे । जुन प्रयोजनका लागि भवन निर्माण हुने हो, त्यही प्रयोजनका लागि प्रयोग हुनुपर्ने बताउँदै उनले कुनै पनि कारणले काम रोकिनु नहुनेमा जोड दिए ।

महानगरका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार साहित्यकार भवन भूमिगतसहित भवन ५ तलाको हुनेछ । साहित्य सदन रहेको भवन परिसरको कि. नं. ११५ को २ रोपनी ११ आनामध्येको पश्चिमतर्फ भवन निर्माण हुनेछ । भवनको भूमिगत तला पार्किङ्का लागि प्रयोग गरिनेछ । जमिन र पहिलो तला कार्यालय प्रयोजन, दोस्रो र तेस्रो तलामा अतिथि आवास गृहका रुपमा सञ्चालन हुनेछ । त्यस्तै ८० जनासम्म अट्ने क्षमताको बैठक कक्ष पनि हुनेछ ।

इञ्जिनियर श्रेष्ठकाअनुसार भवनको भूमिगत, जमिन र पहिलो तला २ हजार ४० दशमलव ५३ बर्गफुटका हुनेछन् । दोस्रो तला २ हजार १२४ दशमलव ५६ बर्गफुट र तेस्रो तला १ हजार ६८७ दशमलव ४९ वर्गफुटको हुनेछ । भवन जम्मा ९ हजार ९७६ दशमलव ९१ वर्गफुटको हुनेछ ।
भवनमा ६ जना अट्ने लिफ्ट जडान हुनेछ ।

भवन अपाङ्गतामैत्री र जेष्ठनागरिक मैत्री हुनेछ । आउँदा बर्षको भदौ मसान्तभित्र (१२ महिनामा) निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण थालिएको भवनको सम्झौता रकम भ्याटसहित ४ करोड ३ लाख ५८ हजार ९९४ रुपैयाँ रहेको छ । यसको निर्माण सुनकोशी प्रजिल जे. भी. ले गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.