तरलताको ‘इम्प्याक्ट’: सीईओहरुबीच मनमुटाव, राष्ट्र बैंक रुष्ट

  २०७८ असोज २४ गते १३:००     सन्तोष रोकाया

काठमाडाैं । सीईओ–१ः केशबजी (नाम परिवर्तित) व्याजदर कतिसम्म निकाल्नु हुन्छ ?

सीईओ–२ः सर, त्यही आठ वा साढे आठसम्म निकाल्छु होला ।

सीईओ–१ः त्यो कम हुँदैन र ?

सीईओ–२ः हुँदैन होला, कात्तिकमा फेरि घट्न सक्छ, अहिले यो ठीकै हो ।

सीईओ–१ः हुन्छ, म पनि त्यही हाराहारीमा निकाल्छु ।

माथिको वार्तालाप हो वाणिज्य बैंकका दुई प्रमुख कार्यकारी अधिकृत (सीईओ)को । यो कुराकानी उनीहरुले भदौ ३० गते गरेका थिए । बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गर्नु एक दिन अगाडि उनीहरुले फोन मार्फत कुराकानी गरेका थिए । बैंक तथा वित्तीय संस्थाहरुले ऋणी तथा निक्षेपकर्तालाई दिने व्याजदर सार्वजनिक गर्दा एकअर्काबिच समन्वय गर्दैनन् । अर्थात उनीहरुल ‘ब्लाइन्ड’ मै व्याजदर सार्वजनिक गर्छन् ।

उनीहरु पत्रिकामा देखेपछि मात्रै कुन बैंकले कति व्याजदर दिने भएछ भन्ने थाहा पाउँछन् । बैंकिङ क्षेत्रमा तरलताको चरम अभाव भइरहेको बेला कुन बैंकले कति व्याज दिन्छ भन्ने विषय निक्षेपकर्तालाई मात्र होइन बैंकरहरुबीच पनि निकै चासोको विषय बन्छ।

सोही चासो राखे एक वाणिज्य बैंकका सीईओले । अर्काे वाणिज्य बैंकका सीईओले पनि उनलाई केही ‘हिन्ट्स’ दिए । तर, उनले दिएको त्यो हिन्ट्स गलत सावित भयो । अर्थात उनले सुझाव एउटा र आफुले कार्यान्वयन अर्कै गरे ।

व्याजदर कति निकाल्ने भनेर सोधेका बैंकहरुले विकासन्युजसँग भने, ‘तरलताको चरम अभाव छ, हामीबिच पनि कुनले बैंकले कति व्याजदर निकाल्छ भन्ने चासोको विषय हुन्छ, त्यसैले पनि मैले मेरो नजिकका मित्र (अर्को बैंकका सीईओ)लाई सोधेँ, तर, उहाँले मलाई एउटा भन्नुभयो, आफुले अर्कै गर्नु भयो ।’

ती सीईओको सल्लाहलाई सही मानेर साढे ८ प्रतिशतको हाराहारीमा मुद्दती निक्षेपकाे व्याजदर सार्वजनिक गरेका ती सीईओ पछिल्लो दिन आफुलाई सल्लाह दिने सीईओको व्याजदर हेर्दा जिल्ल परे । सल्लाह दिने सीईओले १० प्रतिशतको हाराहारीमा व्याजदर सार्वजनिक गरेका थिए ।

ती बैंकर भन्छन्,‘ मैले नजिकको सम्झेर उहाँबाट सल्लाह लिएँ, तर उहाँले मलाई धोका दिनु भयो, अब उहाँले मबाट २/३ अर्ब रुपैयाँ निक्षेप खोस्नुहुन्छ, यहाँ त व्यक्तिगत सम्बन्धलाई पनि टुटाउने काम भइरहेको छ, तरलताको अभावकै कारण मनमुटाव भइरहेको छ ।’

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस पटकको बैंकिङ क्षेत्रमा भएको तरलताको अभावले धेरै बैंकरका मन टुटेका छन् र सम्बन्ध छुटेका छन् । केही बैंकका सीईओले त सबै बैंकको व्याजदर हेरेपछि मात्रै व्याजदर सार्वजनिक गरेको चर्चा पनि बजारमा छ । एक वाणिज्य बैंकका सीईओले ३१ गते बिहान सबै बैंकको व्याजदर हेरेर ३१ गते दिउसो नै प्रकाशित हुने एक दैनिक पत्रिकामा व्याजदर सार्वजनिक गरेको चर्चा अहिले बैंकिङ बजारमा छ ।

अर्का एक वाणिज्य बैंकका सीईओ भन्छन्, ‘व्याजदर सार्वजनिक गर्दा प्रायः हामीलाई एक अर्काले कति निकाल्छ भन्ने थाहा हुँदैन, हामीले मार्केट र आफ्नो बैंकको हरेक इन्डिकेटरहरुलाई अध्ययन गरेर निकाल्छौं, तर, यस पटक भने कसैले ‘ब्लाइन्ड’ खेले, कसैले ‘सीन’ नै खेले, सीनमै खेलेर अरुलाई हराउने काम भयो ।’

यो घटना राष्ट्र बैंकसम्म पनि पुगिसकेको छ । सीनमा खेल्ने बैंकका सीईओले आफुले गरेको गल्ति स्वीकार गरेको र अब त्यस्तो गल्ति नदोहोर्याउने प्रतिवद्धता राष्ट्र बैंकसामु गरिसकेको राष्ट्र बैंक स्रोतको भनाई छ ।

अहिले तरलता अभावकै कारण बैंकहरुबिच निक्षेप खोसाखोस छ भने बैंकहरुले राष्ट्र बैंकको नीतिमा ‘लुप होल’ खोजिरहेका छन् । बैंकहरुले नेपाल राष्ट्र बैंकले गरेको कर्जा–निक्षेप (सीडी रेसियो)को व्यवस्थालाई मेन्टेन गर्नकै लागि पनि विभिन्न उपायहरु अवलम्बन गरिहरेका छन् ।

बैंकहरुले कृतिम निक्षेप (आर्टिफिसियल डिपोजिट) देखाउने, कागजमा एउटा र निक्षेपकर्तालाई दिने अर्कै व्याजदर निर्धारणसम्मका काम गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले सीडी रेसियो कायम नगर्ने, कृतिम निक्षेप सिर्जना गर्ने, र बोलकबोलबाट संकलन हुने मुद्धती निक्षेपको ब्याजदर निर्धारण गर्ने बैंकहरुलाई मौखिक तथा लिखित निर्देशन दिँदै दिएको राष्ट्र बैंकको भनाई छ ।

‘अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट नियमहरु उल्लंघन भएको हामीले पाइरहेका छौं, हामीले कसले के गल्ति गरिरहेको छ निगरानी गरिरहेको छौं, कतिपयलाई स्पष्टीकरण सोधिसकेका छौं, भने कतिलाई सोध्ने तयारीमा छौं,’ राष्ट्र बैंकका प्रवक्ता देब कुमार ढकालले भने ।

बैंकहरुले भदौ १८ गतेपछि बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकको नीतिगत छिद्रको प्रयोग गर्दै फाइदा लिइरहेका छन् । बैंकहरुले नियम उल्लंघन गर्दै गएपछि राष्ट्र बैंक उनीहरुसँग रुष्ट पनि बनेको छ ।

राष्ट्र बैंकका सीईओहरुलाई बोलाएर राष्ट्र बैंकले सुझाव समेत दिइसकेको छ । ‘नियम पालना गर्नु हामी सबैको कर्तव्य हो, हामीले पनि सकेसम्म तपाईंहरुलाई सहयोग हुने काम गर्छौं, तर नियम नै उल्लंघन गरेर हामीलाई कारवाही गर्न बाध्य नबनाउनस्,’ राष्ट्र बैंकले ती बैंकरहरुको बैठकमा भनेको थियो ।

सम्बन्धित सामग्रीः राष्ट्र बैंकले २७ बैंककै सीईओसँग ‘आर्टिफिसियल डिपोजिट’ नबढाउने प्रतिवद्धता लियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.