९ बैंकको लाभांश घोषणा, कुमारी र नेपाल इन्भेष्टमेन्ट बैंककाे घट्यो, अरुको कति बढ्यो ?

  २०७८ असोज २१ गते १२:५२     विकासन्युज

काठमाडौं । अहिलेसम्म ७ वटा वाणिज्य बैंक, एउटा पूर्वाधार विकास बैंक र एक विकास गरी ९ वटा बैंकले लाभांश घोषणा गरेका छन् । घटस्थापनासम्म ९ बैंकले लाभांश घोषणा गरेका हुन् ।

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका बैंकहरुमध्ये कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ भने अन्यकाे बढेकाे देखिएकाे छ ।

गत आर्थिक वर्षको नाफाबाट हालसम्म माछापुच्छ्रे, सानिमा, कुमारी, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एउटा विकास बैंक कामना सेवाले लाभांश घोषणा गरेका छन् । यी बैंकमध्ये कतिको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ भने कतिको स्वीकृत हुन बाँकी छ ।

लाभांश प्रस्ताव गर्नेमा सबैभन्दा बढी हिमालयन बैंकको रहेको छ । हिमायलन बैंकको कुल लाभांश २६ प्रतिशत रहेको छ । बैंकले २१ दशमलव ३६ प्रतिशत बोनस सेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कुन बैंकको लाभांश कति ?

सबैभन्दा पहिला लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले कात्तिक २६ गतेका लागि साधारणसभा पनि बोलाइसकेको छ ।

यस्तै, सानिमा बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ । बैंकले १७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद गरी १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको सिटिजन्स बैंक इन्टरनेशनलले पनि सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले ११.२४ प्रतिशत बोनस र ४.७६ को नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । यो बैंकको अघिल्लो आर्थिक वर्षको तुलनामा भने लाभांश घटेको छ । अघिल्लो वर्ष बैंकले १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अर्को वाणिज्य बैंक कुमारीले ८ दशमलव ६७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद (कर प्रयोजनसहित) गरी ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो बैंकको पनि अघिल्लो आर्थिक वर्षको तुलनामा लाभांश घटेको छ । अघिल्लो वर्ष कुमारी बैंकले कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद (करसहित) गरी कूल १३.०६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने कामना सेवा विकास बैंकले पनि सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश समेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने बताएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.