दशैंमा मासुः खसीको प्रतिकेजी १३ सय रुपैयाँ, च्यांग्राको २ हजारभन्दा बढी

  २०७८ असोज २१ गते ११:१०     विकासन्युज

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष खसीबोका तथा च्यांग्राको मूल्य बढ्ने भएको छ । यस वर्ष जिउँदा खसीबोका तथा च्यांग्राको मूल्य बढेको भन्दै व्यवसायीहरुले मूल्य बढ्ने बताएका छन् ।

व्यवसायीले दशैंका लागि मासुको मूल्य सार्वजनिक गरेका छन् । राष्ट्रिय मासु व्यवसायी संघले दशैंका लागि भन्दै काठमाडौं उपत्यका सहित देशभरका लागि मूल्य सार्वजनिक गरेका हुन् ।

संघका अध्यक्ष रमेश खड्गीका अनुसार खसीको मासुको तीन थरी मूल्य निर्धारण गरिएको छ । जसमा आन्द्राभुडी राखिएको मासुको मूल्य प्रतिकेजी १ हजार, बोसो मिसिएको मासु प्रतिकेजी १२ सय र ग्राहकले आफ्नो रोजाइ अनुसार छानी छानी मासु खरिद गर्दा १३ सय रुपैयाँ मूल्य तोकिएको हो ।

यस्तै, संघल राँगा तथा बँगुरको मासु प्रतिकेजी ५ सय र कुखुराको मासुको मूल्य तीन सय रुपैयाँ तोकेको छ ।

खड्गीले देशभरका लागि मासुको मूल्य निर्धारण भएको भन्दै बढी लिने व्यवसायीलाई कारवाही हुने चेतावनी दिए ।

‘हामीले वाणिज्य विभागमा छलफलका क्रममा दशैंका लागि मासुको मूल्य निर्धारण गरेका गर्छाैं भनेका थियौं, दशैंमा खसीबोका र रागाँको मूल्य यथावत नै रहन्छ, मूल्य बढि लिने व्यवसायीलाई कारवाही हुन्छ’, उनले भने ।

चीनबाट आयात नहुँदा महंगियो च्यांग्रा

चीन सरकारले निर्यातमा रोक लगाउँदा नेपालमा च्यांग्राको मूल्य उच्च भएको छ । कोभिड–१९ महामारीपछि चीनबाट च्यांग्रा आयात नहुँदा नेपाली बजारमा मूल्य बढेको हो ।

यस वर्षको दशैंमा एउटा जिउदो च्यांग्राको मूल्य औसतमा ४० हजार रुपैयाँसम्म पुग्ने व्यवसायीले अनुमान गरेका छन् । पहिला एउटा जिउँदो च्यांग्राको मूल्य २५ हजारदेखि ३० हजार रुपैयाँ पर्ने गरेको थियो ।

गत वर्ष च्यांग्राको तयारी मासु प्रतिकिलो १८ सयदेखि २ हजार रुपैयाँसम्म बिक्री भएको भन्दै व्यवसायीले यस वर्ष मूल्य बढ्ने बताएका छन् ।

‘गत वर्ष पनि च्यांग्राको मूल्य धेरै थियो, यस वर्ष गत वर्षको मूल्यमा नपाइने व्यवसायीले बताएका छन्, उत्पादन कम र माग बढ्दा च्यांग्राको मूल्य बढेको छ, च्यांग्राको मूल्यमा एकरुपता नहुँदा व्यवसायीले आफूखुशी मूल्य बढाउँदा दशैंमा मूल्य उच्च हुने गरेको छ,’ राष्ट्रिय मासु व्यवसायी संघका अध्यक्ष खड्गीले भने ।

संघका अनुसार अन्य समयको तुलनामा दशैंको तीन दिन चार गुणासम्म मासुको खपत हुने गरेको छ । दशैं अगाडी खसी तथा बोकाको मासु काठमाडौं उपत्यकामा दैनिक २४ हजार किलो बिक्री हुने गरेकोमा दशैंको तीन दिन मात्र एक लाख केजीभन्दा बढी खपत हुने गरेको छ ।

व्यवसायीका अनुसार अन्य समयको तुलनामा दशैंमा खसीबोका तथा रागाँको मासुको माग उच्च हुने गरेको छ । तर, कुखुराको मासुको माग भने खासै बृद्धि नहुने व्यवसायीको भनाई छ ।

काठमाडौं भित्रदै च्यांग्रा

दशैंमा करिब ४५ सय च्यांग्रा उपत्यकामा उपलब्ध गराउने व्यवसायीको योजना छ । सोहीअनुसार पहिलो चरणमा ल्याईने च्यांग्रा मुस्ताङबाट हिडिसकेका छन् ।

मुस्ताङमै बढ्यो मूल्य

व्यवसायीको अनुसार गत वर्षको तुलनामा यस वर्ष मुस्ताङमा नै च्यांग्राको मूल्य बढेको छ ।

जिल्लामा नै च्यांग्राको मूल्य उच्च हुँदा काठमाडौंमा ल्याएर ढुवानी भाडा जोड्दा प्रतिच्यांग्रा औसतमा ४० हजार रुपैयाँसम्म पर्ने व्यवसायीहरु बताउँछन् । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा नै प्रति च्यांग्रोको मूल्य १० हजारदेखि १५ हजार रुपैयाँसम्म मूल्य बढेको छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत वर्षको तुलनामा यस वर्ष खसीबोकाको मूल्य बढेको जानकारी दिएको छ । कम्पनीको काठमाडौंमा बिक्री वितरण गर्न दाङ र हेटौडामा खसी खरिद गर्र्दा मूल्य बढेको जनाएको हो ।

गत वर्षको तुलनामा यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म बढेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दाङमा २५ किलोदेखि माथिका खसीको मूल्य प्रतिकिलो ५ सय ६५, २० देखि २५ किलोका खसी किलोको ५ सय ५० र बोकाको ५ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले जिल्लामा खरिद मूल्यमा ढुवानी भाडा, बजार मूल्य सबै जोडेर काठमाडौंमा खुद्रा बिक्री मूल्य निर्धारण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.