सनराइज पेरोल लोन स्कीमः विनाधितो १५ लाखसम्म कर्जा, कसरी हुने सहभागी ?

  २०७८ असोज २० गते ११:०५     विकासन्युज

काठमाडौं । विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरुको मर्म र भावनालाई बुझेर सनराइज बैंकले ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ । विगत लामो सयमदेखि समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको सनराइज बैंकले यस पटक पुनः पृथक किसिमको योजना सार्वजनिक गरेको हो ।

बैंकले विभिन्न संघ संस्था तथा कम्पनीमा आवद्ध कर्मचारीहरुले बिना झन्झट सहज रुपमा कर्जाको सुविधा पाउन् भन्ने किसिमले यस्तो खालको सुविधा सार्वजनिक गरेको बताएको छ । बैंकको पेरोल सेभिङ अकाउन्टसँग आवद्ध हुने कुनै पनि संस्थाको कर्मचारीहरुलाई सहज र सरल सुविधा तथा सजिलोसँग कर्जा उपलब्ध गर्ने रणनीतिका साथ यो योजना सार्वजनिक गरेको बैंककी डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आरती राणाले बताइन् ।

‘सानो रकमको कर्जा सुविधा लिन ग्राहकले विभिन्न किसिमका समस्याहरु झेल्नु पर्ने अवस्था अहिले पनि कायमै छ, ती अनेकन झन्झट र प्रक्रियाहरुलाई कम गर्नको लागि हामीले सनराइन पेरोल लोन स्कीम ल्याएका हौं, यो योजनाले विभिन्न संघ संस्थाका कर्मचारीहरुलाई सजिलो मात्र होइन, राहत हुने पनि हाम्रो विश्वास छ,’ उनले विकासन्युजसँग भनिन् ।

के हो सनराइज पेरोल लाेन स्कीम ?

कुनै पनि संघ संस्था तथा फर्महरुमा कार्यरत कर्मचारीहरुको तलब बचतका लागि खोलिएको ‘सनराइज पेरोल सेभिङ अकाउन्ट’ अन्तर्गतका ग्राहकलाई दिइने यो एउटा स्कीम हो । सनराइज बैंकमा पेरोल सेभिङ अकाउन्ट भएका भएका ग्राहकहरुले मात्रै यो स्कीमको सुविधा पाउँछन् । पेरोल सेभिङ अकाउन्ट मार्फत नै ग्राहकहरुले विभिन्न प्रयोजनका लागि कर्जा पनि लिन सक्छन् ।

‘सरकारले पनि सबै संघ संस्था वा कम्पनीहरुलाई बैंकिङ प्रणालीमार्फत नै रकम भुक्तान गर्नमा जोड दिँदै आएको छ, हामीले पनि सनराइज पेरोल सेभिङ अकाउन्टमा यस योजनालाई लिंक गरेर विनाधितो कर्जा दिने योजना बनाएका हौं,’ उनले भनिन् ।

उनका अनुसार बैंकको बिजसेनभन्दा पनि ग्राहकको सहजका लागि यो योजना ल्याइएको हो । यो योजनामा धेरै संघ संस्था र त्यस संस्थामा कार्यरत कर्मचारीहरु आवद्ध हुने सक्ने बैंकको विश्वास छ ।

विनाधितो १५ लाखसम्म कर्जा

सनराइज बैंकले सनराइज पेरोल सेभिङ अकाउन्टमा आवद्ध ग्राहकहरुलाई मात्रै पेरोल लोनको सुविधा उपलब्ध गराउनेछ । अन्य खाता भएकाहरुका लागि भने यो सुविधा उपलब्ध छैन । उनीहरुले बैंका अन्य स्कीमहरुको नै सुविधा लिन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकले १५ लाख रुपैयाँसम्म विनाधितो कर्जा पाउनेछन् । यो योजनामा सहभागी हुने ग्राहकले डेबिट कार्ड र मोबाइल बैंकिङको सुविधा पनि निःशुल्क पाउनेछन् ।

डीसीईओ राणाका अनुसार यो योजना अन्तर्गत सनराइज बैंकका पेरोल सेभिङ अकाउन्टका ग्राहकले कर्जा लिँदा प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत सम्म छुट पनि पाइनेछ ।

यो योजनाको नयाँ विशेषता भनेको पेरोल अकाउन्ट होल्डरर्सले सनराइज पेरोल सेभिङ खातामा पाइने कर्जाका लागि योग्य हुनु हो, कुनै पनि कर्जा लिँदा धितो चाहिन्छ, तर यो योजनामा धितो चाहिँदैन, ग्राहकले न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम १५ लाख रुपैयाँसम्म विनोधितो कर्जा पाउँछन्,’ डीसीईओ राणाले भनिन् ।

उनका अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको ओभरड्राफ्ट र १० लाखसम्मको टर्म लोन गरी अधिकतम १५ लाख सम्मको कर्जा लिन सक्नेछन् । कर्जा लिन भने कुनै पनि संघ संस्था वा कम्पनीमा आवद्ध हुनु पर्नेछ । उक्त कर्जाको अवधि ५ वर्ष सम्मको लागि हुनेछ ।

यस योजना अन्तर्गत बीमाको सुविधा पनि रहेको छ । सनराइज पेरोल सेभिङ अकाउन्ट अन्तर्गत ग्राहकलाई बैंकले बीमाको सुविधा पनि प्रदान गर्नेछ । बैंकका अनुसार यो योजना अन्तर्गत ग्राहकलाई ५ लाख रुपैयाँसम्मको दुघर्टना बीमा र १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा (८० हजार रुपैयाँसम्म अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्म ओपीडीको सुविधा) उपलब्ध गराउने बताएको छ ।

यस्तो छ प्रक्रिया

सनराइज बैंकले पेरोल सेभिङ अकाउन्टमार्फत प्रदान गर्ने १५ लाख रुपैयाँसम्मको विनाधितो कर्जा पाउनको लागि तपाईंले केही प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ । तपाईं आवद्ध संस्थाको सिफारिसमा स्यालरी सर्टिफिकेट, प्यान लगायतका कागजातसहित तपाईंले सनराइज बैंकमा पेरोल सेभिङ अकाउन्ट खोल्नु पर्ने हुन्छ । सोही खाता मार्फत नै बैंकले पेरोल लोन स्कीम प्रदान गर्छ ।

खाता खोलेपछि तपाईं विनाधितो कर्जा लिन इच्छुक हुनुहुन्छ भने तपाईंले विगत २४ महिनाको ‘स्यालरी सर्टिफिकेट’ अर्थात स्टेटमेन्ट बैंकमा बुझाउनु पर्ने हुन्छ । तपाईंको सम्पूर्ण ‘डिटेल’ (विवरण) बैंकले अध्ययन गरेपछि बैंकले तपाईं आवद्ध संस्थाको स्तर र तपाईंको स्तर ठहर गरेर तपाईंलाई दिने ऋण निर्धारण गर्छ ।

डीसीईओ राणाका अनुसार बैंकले सुरुमा संस्थाको अर्थात रोजगारदाताको स्वीकृति लिन्छ । ‘रोजगारदाताले स्वीकृति दिएपछि विगत २४ महिनामा कर्मचारीले कति तलब पाएको छ ? स्टेटमेन्ट कस्तो छ ? कुन स्तरको कर्मचारी हो, मासिक तलब कति छ ? यी विभिन्न विषय हेरेर कर्जा निर्धारण गर्छौं, त्यसपछि मात्रै ग्राहकले कर्जा पाउनुहुन्छ,’ उनले भनिन् ।

उनका अनुसार विनाधितो कर्जा भएपनि ऋणीको ‘फ्याम्ली मेम्बर ग्यारेन्टी’ भने राख्नु पर्ने हुन्छ । यदी तपाईं ऋण लिँदै हुनुहुन्छ भने तपाईंको श्रीमान वा श्रीमति अथवा आमाबुवालाई तपाईंले ‘फ्याम्ली मेम्बर ग्यारेन्टी’का रुपमा राख्नु पर्ने हुन्छ ।

कर्जा प्रवाहमा रोजगारदाता को हो भन्ने विषयले पनि फरक पर्ने उनको धारणा छ । रोजगारदाताको स्वीकृति लिइसकेपछि मात्रै सो संस्थाका कर्मचारीहरुले कर्जाको सुविधा पाउने उनको भनाई छ ।

कसले कतिसम्म पाउँछ कर्जा ?

सनराइज बैंकको यो योजना अन्तर्गत न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम १५ लाख रुपैयाँसम्म विनाधितो कर्जाको सुविधा पाइन्छ ।

सीईओ राणाका अनुसार ग्राहकको मासिक तलबका आधारमा नै कर्जा सुविधा निर्धारण हुन्छ । उदाहरणका लागि तपाईंको मासिक तलब २५ हजार रुपैयाँ छ भने तपाईंले सनराइज बैंकको यो योजना मार्फत ६ लाख रुपैयाँसम्मको विनाधितो कर्जा सुविधा पाउन सक्नुहुन्छ । सनराइज बैंकले तपाईंको विगतको २४ महिनाको मासिक तलबको आधारमा नै कर्जा निर्धारण गर्छ ।

तर, यसका लागि कर्मचारी भने स्थायी हुनु पर्ने मापदण्ड बैंकले राखेको छ । ‘हामीले यो योजनामा सहभागी हुने कर्मचारी स्थायी हुनु पर्ने मापदण्ड राखेका छौं, तर, अनुभवी अस्थायी कर्मचारीहरुलाई पनि उहाँको सम्झौता अवधि अनुसार हेरेर कर्जा दिन सकिन्छ,’ उनले भनिन् ।

उनका अनुसार यो योजना सनराइज बैंकको सनराइज पेरोल सेभिङ अकाउन्टसँग आवद्ध भएका ग्रााहकलाई सहज रुपमा कर्जा उपलब्ध गराउनका लागि ल्याइएको प्रडक्ट हो । ‘धेरैका आ–आफ्नै समस्या हुन्छन्, सानो रकमको कर्जा भएपनि बैंकमा धितो राख्नु परेन, खातामा निरन्तर रुपमा बचत भएको छ भने त्यस्ता ग्राहकले यस्तो किसिमको कर्जा सुविधा सजिलै पाउँछन्,’ राणाले भनिन् ।

उनले बालबच्चाहरुको शिक्षा, पारिवारिक खर्च वा कुनै व्यक्तिगत कामका लागि चाहिने न्यूनतम कर्जाका लागि पनि धितो राख्नु पर्ने अवस्था अन्त्य गर्नको लागि यो योजना ल्याएको बताइन् । यस्तो खालको कर्जामा आधारदर प्लस प्रिमियम थपेर व्याजदर निर्धारण हुनसक्ने उनको भनाई छ ।

2 comments on "सनराइज पेरोल लोन स्कीमः विनाधितो १५ लाखसम्म कर्जा, कसरी हुने सहभागी ?"

  • awesome and market based new facility
    hope many more will utilize this jhanjhat free service

  • राम कृष्ण ढुंगाना says:

    हामी विदेश हुनेहरूको लागि पनि केही स्किम हरु लेर आउनुनी के कर्मचारीले मात्र ऋण पाउने जोर हामीपनि वैदेशिक कम्पनीमा कामगर्ने कर्मचारी नै होनि हामीपनि केही राम्रो बिजिनेस गर्न सक्छौ होला अलि हामीलाई पनि केही सोच्ने की।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.