४१ अंकले बढ्यो नेप्से, कारोबार ३ अर्बमा खुम्चिँदा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको

  २०७८ असोज १९ गते १५:३४     विकासन्युज

काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मंगलबार भने उकालो लागेको छ । सो दिनको सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ४१.८४ अंकले उकालो लागेर २६१२.६५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशतले बढी हो ।

प्रि ओपनिङ्ग सेसनमा सामान्य अंकले घटेको बजार नियमित कारोबारको समयमा भने उकालो लागेको हो । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४५ प्रतिशतले बढेर ४९२.०३ बिन्दुमा पुगेको छ ।

मंगलबार परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । दिनभर खुलेको सेयर बजारमा जम्मा २ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२३ स्क्रिप्टको कारोबार भएको बजारमा ५८ लाख ४२ हजार १३५ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

जसमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सको संस्थापक सेयर कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक सेयर खरिद बिक्री भएका छन् । मंगलबारको बजारमा इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको छ ।

त्यस्तै, बढी कारोबार हुनेको दोश्रो स्थानमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । संस्थाको एकैदिन ११ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । संस्थाले गत आर्थिक वर्षको बम्पर लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरु संस्थाको सेयरमा आकर्षित भएका हुन् । मंगलबारको बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता १४०४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ८२.५० अर्थात ६.२४ प्रतिशतले बढी हो ।

कारोबारमा आएका १८५ कम्पनीमध्ये १७२ कम्पनीको सेयर मूल्य बढेको छ । ११ वटाको घटेको छ भने बाँकी ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

लामो समय पनि हरियो देखिएको बजारमा ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये मल्टीप्रपर्स फाइनान्स कम्पनी, समता घरेलु लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पार्टनरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, मैलुङ्ग खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

मंगलबार ट्रेडिङ्ग समूह बाहेक कारोबारमा आएका सबै समूहमा हरियाली छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.