सीडी रेसियो ‘टाइट’ भए पनि बैंकहरुको कर्जा लगानी ७० अर्बले बढ्यो, ४२ खर्ब नाघ्यो निक्षेप

  २०७८ असोज १८ गते १६:४७     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको छ । भदौ मसान्तको तुलनामा असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको हो ।

भदौमा ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले असोज दोस्रो सातासम्म कुल कर्जा लगानी ३९ खर्ब ४२ अर्ब रुपैयाँ पुर्याएका छन् ।
यस्तै, भदौको तुलनामा वाणिज्य बैंकहरुको निक्षेप पनि बढेको छ । भदौको तुलनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४२ अर्ब रुपैयाँले बढेको छ ।

भदौ मसान्तसम्म कुल ४१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका विकास बैंकहरुले असोज दोस्रो सातासम्म ४२ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

बैंकहरुको गत आर्थिक वर्षको अषाढ मसान्तमा पनि ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । साउन र भदौ महिनामा भने बैंकको निक्षेप निरन्तर ओरालो लागेको थियो । तर, फेरि निक्षेप बढेको छ ।

अहिले अधिकांश बैंकहरु कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमामा पुगिसकेका छन् भने कतिपयको सीमा पनि नाघिसकेको छ । यो अवस्थामा पनि बैंकको कर्जा लगानी भने बढिनै रहेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा–पुँजी–निक्षेप (सीसीडी) खारेज गरेर सीडी रेसियोको व्यवस्था गरेको थियो । राष्ट्र बैंकको नयाँ व्यवस्थाका करिब डेढ दर्जन बढीबैंकहरु थप कर्जा प्रवाह गर्न नसक्ने अवस्था रहेको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकले बैंकको सीडी रेसियो ९० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको थियो । सो व्यवस्था अनुसार हाल अधिकांश बैंकको ९० प्रतिशतको सीडी रेसियोको सीमा नाघेको छ । हाल बैंकहरुको औसत सीडी रेसियो भने ८८.१८ प्रतिशत रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.