यो वर्ष राष्ट्र बैंकले सोचेजति नयाँ नोट साटिएनन्, साना दरका ८ अर्ब रुपैयाँ मात्रै वितरण

  २०७८ असोज १८ गते १४:३७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै नयाँ नोट सटहीको व्यवस्था गरेपनि अपेक्षाकृत रुपमा वितरण नभएको बताएको छ । विगतका वर्षहरुको तुलनामा नयाँ नोट सटही कम हुँदा नेपाल राष्ट्र बैंकको अनुमानले फेल खाएको हो ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अपेक्षा अनुसारको नयाँ नोट नसाटिएको बताए ।

उनका अनुसार आइतबार साँझसम्म साना दरका कुल ८ अर्ब रुपैयाँ मात्रै साटिएका छन् । ‘अहिले दैनिक १० करोड रुपैयाँसम्म वितरण भइरहेको छ, सानो दरको नोट ठीकै हो, तर ठूलो दरको नोट अझै बजारमा गइसकेको छैन, गत वर्ष जुन किसिमबाट ठूला दरका नोटहरु जान्थे सोही तुलनामा यो वर्ष नगएको हाम्रो बुझाई छ,’ उनले भने ।

उनका अनुसार हालसम्म साना ठूला गरी कुल १७ अर्ब रुपैयाँ नयाँ नोट बजारमा गएका छन् । ‘जनताको आम्दानी कति छ, बचत कति छ ? यो वर्ष के किन्ने लक्ष्य छ ? सरकारी खर्च के कस्तो छ यी विभिन्न विषयहरुले नोट सटही प्रक्रियालाई फरक पर्छ, यो वर्ष सरकारी खर्च कम भएको र कर्मचारीहरुले पनि समयमै पैसा नपाइसकेको अवस्थाले नोट सटही सोचे जस्तो भएन,’ उनले भने ।

गत वर्षहरुमा २५ देखि ३० अर्ब रुपैयाँसम्म नयाँ नोट साटिने गरेको भएपनि यो वर्ष भने कमै हुन सक्ने राष्ट्र बैंकको अनुमान छ । तर, प्रक्षेपण भने ३० अर्ब नै साटिन सक्ने राखेको छ ।

यस्तै, सर्वसाधारणले भने सहज रुपमा नयाँ नोट पाइरहेको उनको भनाई छ । ‘भदौको २५ गतेपछि नै बैंकहरुलाई नोट सटही सुरु गरेका थियौं, त्यसैले पनि सहज भएको छ, जनताले नै ४ गतेदेखि पाए, गत वर्षहरुमा एक हप्ता मात्रै नयाँ नोट सटही हुन्थे, अहिले लामो समय छुट्याइएको हुनाले सहज रुपमा वितरण भयो, कुनै वादविवाद र भिडभाड विना नयाँ नोट सटही भइरहेको छ,’ उनले भने ।

उनका अनुसार अहिले राष्ट्र बैंकसँग २ खर्ब रुपैयाँ नयाँ नोट मौज्दात छ । असोज ४ गतेदेखि बैंकहरुले नयाँ नोट सटही गर्दै आएका छन् । उनका अनुसार प्रतिव्यक्तिले १८ हजार ५ सय रुपैयाँ मात्रै नयाँ नोट साट्न पाइरहेका छन् ।

‘हामीले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० का नोटहरू मिलाएर अधिकतम १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने व्यवस्था गरेका छौं, बढी साट्न चाहनेले १ सयभन्दा माथि ५ सय र १ हजारका नोट पनि साट्न पाउनेछ,’ उनले भने ।

उनका अनुसार १८ हजार ५ सय रुपैयाँका साना दरका नोटहरु एउटा व्यक्तिलाई प्रशस्त हुने भएकोले त्यो भन्दा बढी साट्न नपाइने व्यवस्था गरिएको हो, नयाँ नोट बढी चाहनेले ५ सय र १ हजारका नयाँ नोट लिन पनि सक्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.