रिङरोडमा तेर्सिए ५ सय बढी गाडी, भाडा नबढाए आन्दोलन जारी राख्ने चेतावनी

  २०७८ असोज १८ गते ११:४४     विकासन्युज

काठमाडौं । यातायात व्यवसायीले भाडा समायोजनको माग राख्दै सडकमा गाडी रोकेका छन् । सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडादर समायोजन गरेपनि काठमाडौंमा चल्ने गाडीको भाडा समायोजनको माग राख्दै गाडीसहित विरोध प्रदर्शन गरेका हुन ।

व्यवसायीहरुले सोमबार बिहानैदेखि चक्रपथ, रत्नपार्क लगायतका क्षेत्रमा गाडी रोकेर प्रदर्शन गरेका हुन् ।

व्यवसायीको प्रदर्शनका कारण चक्रपथमा गाडीको आवागमन प्रभावित भएको छ । अन्य समयको तुलनामा सोमबार गाडी कम हुँदा सडकमा सर्वसाधारण रोकिएका छन् ।

व्यवसायीको प्रदर्शन र यात्रुको भिड हुँदा काठमाडाैं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा कोटेश्वर, चाबहिल, सुकेधारा,गौशाला क्षेत्रमा ठूलो जाम भएको छ ।

सोमबार पिक आवरमा चावहिल, ग्वार्को, महाराजगञ्ज, एयरपोर्ट, बालाजु बसपार्क र सीतापाइलामा व्यवसायी आफैंले ५१८ वटा गाडी ‘होल्ड’ मा राखेका हुन् । चालकले गाडी सडक किनारामा राखेर बसेपछि चाबहिलमा यात्रुहरु अवरोधमा उत्रिएका छन् । यात्रु र चालकको बीचमा झडपको अवस्था आएपछि सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पटक पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि वाग्मती प्रदेश सरकारले वास्ता नगरेपछि व्यवसायीहरुले विरोध प्रदर्शन गरेका बताए ।

यसअघि गएको साउन ७ गते व्यवसायीले कोरोना विरुद्धको खोप माग गर्दै चक्रपथमा नै गाडी तेर्स्याएर विरोध प्रदर्शनसहित र्याली निकालेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.