वायुसेवा निगममा बेथितिः कर्मचारी सय दिनदेखि आन्दोलनमा, जहाज जति एयरपोर्टमा घाम ताप्दै

  २०७८ असोज १५ गते १२:४८     विकासन्युज

काठमाडौं । नेपालीका ठूला चाडपर्व दशैं, तिहार तथा छठ नजिकिन थालेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई भ्याइनभ्याई हुन थालेको छ ।

दशैं आउन २०/२५ दिन बाँकी हुँदादेखि नै आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरुले दशैंका लागि सबै टिकट बुकिङ भइसकेको जनाएका छन् ।

दशैं अगाडी नै निजी कम्पनीले सबै टिकट सकियो भन्ने दाबी गरिरहँदा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमका जहाज भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा घाम ताप्दै थन्किएर बसेका छन् ।

आन्तरिक उडानका लागि निगमसँग रहेका ३ वटा ट्वीनअटर विमानमध्ये अहिले एउटा जहाजले मात्र उडान गर्ने गरेको छ । बाँकी २ वटा जहाजमध्ये एउटा जहाज सन् २०१४ देखि नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थन्किएर बसेको छ । अर्काे एउटा जहाज पनि विगत १० देखि विग्रिएर बसेको निगम स्रोतले जानकारी दियो ।

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न गन्तव्यमा दैनिक १ सयभन्दा बढी उडान तथा अवतरण गर्दै आएको छ । निजी क्षेत्रका वायुसेवा कम्पनीमध्ये बुद्धले धेरै उडान गर्दै आएको छ भने सरकारी ध्वजाबाहक कम्पनी आन्तरिक उडानको लागि आकाशमा जहाजविहिन जस्तै अवस्थामा पुगेको छ ।

नेपाल वायुसेवा निगम सञ्चालक समितिलेको २०७७ साउन १५ गते बसेको बैठकले आन्तरिक उडानमा प्रयोग भएका ६ वटा चिनियाँ जहाज ग्राउन्डेड गर्ने निर्णय गरेसँगै सो विमान समेत विमानस्थलमा ग्राउन्डेड छन् ।

निगमसँग सुगम तथा दुर्गम क्षेत्रमा उडान भर्न ९ वटा जहाज ग्राउन्डेड हुँदा १ वटा जहाजमा सिमित भएको हो ।

निगमका जहाज पुराना भएका कारण ट्विनअटर विमान उडानभन्दा धेरै ग्राउन्डेड हुने गरेका छन् ।

अन्तर्राष्ट्रिय उडानमा न्यून उपस्थिति

निगमले आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडानमा समेत ध्यान दिएको छैन । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई सय ७४ सिट क्षमताको दुई थान ‘ए३३०-२००’ वाइडबडी र एक सय ५८ सिट क्षमताको दुई थान ‘ए३२०-२००’ न्यारो बडी गरी ४ जहाज सञ्चालनमा छन् ।

निगम व्यवस्थापनको वेवास्ताका कारण यसअघि न्यारोबडी जहाजको गन्तव्यमा बाइडबडी जहाजले उडान गर्दै आएको छ । लामो दुरीका लागि भन्दै ल्याइएको वाइडबडी जहाजले गन्तव्य विस्तार नहुँदा क्षमताअनुसार उडान गर्न नपाएर छोटो दुरीको उडान गरिरहेको हो ।

कोभिडपछि कतारको दोहामा दैनिक उडान गर्दै आएको निगमले दशैं नजिकिएसँगै उडान संख्या कटौति गरेको छ । रोजगारीका लागि खाडी मुलुक पुगेका नेपाली दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्व मान्न नेपाल फर्किने समयमा नै निगमले उडान घटाएको हो । निगमको यस्तो कार्यले अन्य विमान सेवा कम्पनीहरुलाई व्यवसाय विस्तारमा सहयोग पुगेको छ ।

निगमसँगै प्रतिस्पर्धा गर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको संख्या बढेको भन्दै उडान संख्या बढाएर सातामा १० उडान गर्ने गरेको छ । जबकि सोही गन्तव्यमा उडान गर्दै आएको निगम भने यात्रु नपाइएको भन्दै उडान संख्या कटाएर सातामा ३ मा सिमित गरिरहेको छ । अन्य कम्पनीको व्यवसायमा सहयोग पुर्याउनको लागि उच्च व्यवस्थापनले सो क्षेत्रको उडान कटौति गरेको आरोप लाग्ने गरेपनि स्वतन्त्र र प्रभावकारी छानविन हुन नसक्दा यस्तो विषयको सत्य तथ्य पत्ता लाग्न सकेको छैन ।

१०० दिनदेखि कर्मचारी आन्दोलनमा

नेपाल एयरलाइन्सका कर्मचारीहरु विभिन्न माग राखी १०० दिनदेखि आन्दोलनमा छन् । कर्मचारीले विशेष गरेर निगम निजीकरण गर्न लागिएको भन्दै सोको विरोधमा आन्दोलन गरिरहेका हुन् । अहिले निगमका कर्मचारीहरु आन्दोलनमा छन् भने आन्तरिक उडानतर्फका ९ मध्ये ८ वटा जहाज एयरपोर्टमा घाम तापेर बसेका छन् ।

हाकिम थुनेर खाए तलब

सय दिनभन्दा अघिदेखि आन्दोलित कर्मचारीले तलब भने पाइसकेका छन् । आन्दोलनमा खटिएको समयमा तलब रोकिएको भन्दै कर्मचारीले निगमका विभागीय प्रमुखहरुलाई उनीहरुकै कार्यकक्षमा थुनेपछि गत सोमबार नै तलब खाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.