काठमाडौंका सिडिओको आदेश गृह मन्त्रालयबाट ‘खण्डन’, सभा, जुलुस, महोत्सव गर्न पाइन्छ ?

  २०७८ असोज १५ गते १०:३५     विकासन्युज

काठमाडौं । संघीय सरकारको गृह मन्त्रालय अन्तरगतका निकायबीच विवाद देखिएको छ । गृह मन्त्रालय अन्तरगत रहेका काठमाडौं र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले जारी गरेको एक निर्देशनलाई गृह मन्त्रालयले खण्डन गरिदिएपछि विवाद देखिएको हो ।

काठमाडौं र भक्तपुरका सिडिओहरुले कोभिड महामारी संक्रमण नियन्त्रण तथा रोकथामका लागि हिजो (असोज १४ गते) एक आदेश जारी गरेका थिए । सर्वसाधारणको लागि भन्दै जारी गरिएको आदेशमा सभा, सम्मेलन, जुलुस, महोत्सव जस्ता भिडभाड हुने प्रकृतिका कार्यमा रोक लगाइएको उल्लेख गरिएको छ ।

‘बैठक, गोष्ठी, सेमीनारहरु भर्चुअल माध्यमबाट गर्ने, भौतिक उपस्थितिमा गर्नैपर्ने भएमा स्वाथ्य मापदण्ड अनिवार्य रुपमा पालना हुने गरी गराउने, स्वास्थ्यका मापदण्ड पालना गराउने दायित्व सम्बन्धित आयोजकको हुने र पालना नभएको पाइएमा निजलाई कानु बमोजिम कारबाही गरिने,’ काठमाडौं जिल्ला प्रशासन कार्यालयले हिजो जारी गरेको आदेशको बुँदा नम्बर ३ को (क) मा उल्लेख गरिएको छ ।

तर, जिल्ला प्रशासन कार्यालयहरुको माथिल्लो निकायको रुपमा रहेको गृह मन्त्रालयले भने सो आदेशको खण्डन गरेको छ । गृहले एक विज्ञप्ति नै प्रकाशित गरी ‘सो आदेशको विषयमा गम्भीर ध्यानाकर्षण भएको’ जनाएको हो ।

‘जिल्ला प्रशासन कार्यालय, काठमाडौं र भक्तपुरको मिति २०७८।०६।१४ मा जारी आदेशको विषयमा सार्वजनिक रुपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ, नेपालको संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरुकै भनाई स्पष्ट नभएपछि सर्वसाधारणमा अन्योल बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.