नेपालमा स्नातक तहमा ‘हस्पिटालिटी म्यानेजमेन्ट’ अध्ययन सुरु हुने

  २०७८ असोज १४ गते १३:४१     विकासन्युज

काठमाडाैं । नेपालमा ‘हस्पिटालिटी म्यानेजमेन्ट’ विषयमा अध्ययन अध्यापन हुने भएको छ । अन्तर्राष्ट्रिय हस्पिटालिटी म्यानेजमेन्ट इन्स्टिच्युट (होमिन)ले ललितपुरस्थित कुमारीपाटीमा स्नातक तहमा सो विषयको अध्ययन सुरुआत गर्न लागेको हो ।

होमिनका अध्यक्ष दुर्गादेवी खनालले स्वीट्जरल्याण्डको पाठ्यक्रममा नेपालमा पहिलोपटक स्नातक तहमा सो विषयमा अध्यापन गराउन तयारी सुरु गरिएकोे जानकारी दिए । होमिनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले विशेष गरेर पर्यापर्यटन ‘इको टुरिजम’का विषय होमिनको नयाँ पाठ्यक्रम हुने बताए ।

तीनवर्षे स्नातक तहको अध्ययन सुरू गर्न शिक्षा मन्त्रालयसँग अनुमतिका लागि प्रक्रिया सुरु गरेको होमिनका उपाध्यक्ष गोकर्ण खनालले पत्रकार सम्मेलनमा जानकारी दिए । कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी सो तह अध्ययन गर्न योग्य हुने जनाइएको छ । उनले भने, “नेपाल, भारत र स्वीट्जरल्याण्डमा अध्यापनसँगै युरोपियन देशका होटलमा कामको अवसर विद्यार्थीले पाउनेछन् ।”

भारतको चेन्नइमा रहेको अन्तर्राष्ट्रिय हस्पिटालिटी म्यानेजमेन्ट इन्स्टिच्युट र स्वीट्जरल्याण्डको हस्पिटालिटी जुरिजसँग होमिनको सहकार्य रहेको उपाध्यक्ष खनालले बताए ।

उनका अनुसार पहिलो वर्षको अध्ययन नेपालमा हुनेछ भने दोस्रो वर्ष भारतको चेन्नइमा हुनेछ । तेस्रो तथा अन्तिम वर्ष स्वीट्जरल्याण्डमा अध्ययन गर्नुपर्ने छ । नेपाल र भारतमा अध्ययन गर्दा विद्यार्थीले पूरै शुल्क तिर्नु पर्नेछ । स्वीट्जरल्याण्डको अध्ययनसँगै हुने ‘इन्टर्नसिप’मा भने रकम पाइने जनाइएको छ । नौ सय घण्टा इन्टर्नसिप गर्दा ३० हजार ‘स्वीस फ्रयाङ्क’ कमाउन सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘तीनवर्षे कोर्ष पूरा गरेपछि विदेशमा रोजगारीको अवसर विद्यार्थीले पाउनेछन्,’ खनालले भने । स्वदेशमा कामको अवसर नहुँदा लाखौँ नेपाली खाडी मुलुकमा पुग्नुपर्ने अवस्था विस्तारै अन्त्य गर्दै राम्रो आम्दानी हुने युरोपियन देशमा जाने वातावरण होमिनले बनाउन लागेको उनले दाबी गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.