‘बैशाखसम्म सबै नेपालीलाई काेराेनाविरुद्धकाे खाेप’

  २०७८ असोज १३ गते १३:३१     विकासन्युज

काठमाडाैं ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने गरी काम गरिरहेको जानकारी समेत दिए ।

विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको बताए । वर्तमान सरकारले आफ्नो करिव ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उनको भनाई छ ।

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरुको सुधार गर्न सरकार लागि परेको बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदुषणबाट बच्ने र नियमित शारिरीक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गरे । उनले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिए ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिका भित्र साँढे ३२ किलोमिटर साईकल ट्रयाक बनाएको जानकारी दिए । उनले साईकल चढेर नागरिकहरुले शारिरीक व्यायाम गरुन भनेर ललितपुर महानगरपालिका भित्रको चक्रपथमा १५ दशमलव ८ किलोमिटर साईकल ट्रयाक बनाउने योजना तय गरेको समेत बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.