कर विवादपछि डण्डीको मूल्य बढ्यो, उद्योगीले बजारमा पठाउन पनि छोडे

  २०७८ असोज ११ गते १०:०७     विकासन्युज

काठमाडौं । फलामे डण्डीको मूल्य बढेको छ । सरकारले चालु आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयक मार्फत् आयातित बिलेटको कर बढाएपछि उद्योगीहरुले डण्डीको मूल्य पनि बढाएका हुन् ।

व्यवसायीका अनुसार डण्डीको मूल्य प्रतिकेजी न्यूनतम २ रुपैयाँदेखि अधिकतम् ६ रुपैयाँसम्म मूल्यवृद्धि भएको हो । अहिले डण्डीको मूल्य प्रतिकेजी ८५ देखि ८६ रुपैयाँ पर्ने गरेको छ । यसअघि प्रतिकेजी डण्डीको मूल्य ७९ रुपैयाँ पर्ने गरेको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले फलामजन्य सबै सामग्रीको मूल्य बढेको बताए ।

‘सरकारले बजेटमार्फत डण्डी बनाउन चाहिने बिलेट स्वदेशमै उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरनको भन्सार नलाग्ने व्यवस्था गरेको थियो, सो व्यवस्थाले डण्डीको मूल्य घट्छ भन्ने हाम्रो अनुमान थियो तर, उल्टै मूल्य बढ्यो, फलामजन्य सामग्रीको मूल्य बढ्ने मात्रै होइन, अहिले बजारमा अभाव पनि देखिएको छ, निर्माण सिजनमै डण्डीको अभाव सिर्जना गर्दा प्रत्यक्ष रुपमा निर्माण क्षेत्रमा असर परेको छ,’ अध्यक्ष सिंहले विकासन्युजसँग भने ।

यस्तै, ग्रिल तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले पनि डण्डीको मूल्य बढेको बताए । उनका अनुसार डण्डीमा प्रतिकेजी ५ रुपैयाँ बढेको छ ।

‘सरकारको संशोधित बजेट मार्फत बिलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार कर लाग्ने व्यवस्था गरेसँगै उद्योगीहरुले डण्डीको मूल्य बढाएका छन्, यसअघि पनि मूल्य धेरै बढेको थियो, अहिले पनि बढेको छ, सरकारले अनुगमन पनि गरेको छैन, हामीले गरेको विरोध कसैले सुन्दैन, उद्योगीहरुले आफूखुसी मूल्य बढाउन नपाउनु पर्ने हो तर, बढिरहेको छ,’ उनले भने ।

सरकारले फलामे डण्डी बनाउन प्रयोग हुने बिलेटमा प्रतिमेट्रिक टन एक हजार ६ सय रूपैयाँ अन्तशुल्क लाग्ने गरेकोमा अहिले भने बढाएर २ हजार पाँच सय रूपैयाँ पुर्याएको छ । सरकारले बजेट घोषणा गरेको एक सातामै डण्डीको मूल्य बढाएको कटुवालले बताए । उद्योगीले फलामजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना गरेको पनि उनको आरोप छ ।

सरकारले कर बढाएपछि व्यवसायीले बिलेट आयात पनि रोेकेका छन् । स्पञ्ज आइरन आयात गरी केही उद्योगीले नेपालमै बिलेट र छड उत्पादन गर्दै आएका छन् । केही उद्योगीले भने बिलेट आयात गरी छड उत्पादन गर्दै आएका छन् । यसले पनि अहिले उद्योगी तथा व्यवसायीहरु दुई धारमा विभाजित भएका छन् । स्वदेशमै बिलेट उत्पादन गर्ने उद्योगीले सरकारको नीतिको स्वागत गरेका छन् भने विदेशबाट विलेट आयात गरी नेपालमा रोलिङ मिलबाट फलामे डण्डी बनाउने उद्योगीले भने सरकारको नयाँ नीतिगत व्यवस्थाको विरोध गरिरहेका छन् ।

सम्बन्धित समाचार

विलेट उत्पादन गर्ने अत्याधुनिक उद्योग खोल्दै १० उद्योगी, पब्लिक कम्पनी बन्ने, पुँजी १० अर्ब

धेरै उद्योग बन्द गराउने, राजश्व गुमाउने र वातावरण दुषित गर्ने सरकारी नीति फिर्ता हुनुपर्छ- किरण साखः

करका दर चलाउँदा ८ उद्योगलाई फाइदा, २० वटा संकटमा

१ खर्बको लगानी डुबाइदिन पाइँदैनः साख:, भिटो लगाउँदै हिड्नुभयोः न्यौपाने

जनार्दन शर्माको बजेटः दशैंमा महंगी उपहार, घर बनाउने सिजनमै डण्डीको अभाव

फलामे छडको विक्री र आयात रोकियो, सरकारी नीति विभेदकारी भएको आरोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.