बैंकिङ नोकरी: घर बाहिरको जागिरको पीडा

  २०७८ असोज ९ गते ११:४१     सुशिल घिमिरे “त्रैलोक्य”

आज पनि आखाँमा फिटिक्कै निन्द्रा छैन । मलाई थाहा छ, स्वास्थ्यको लागि दैनिक ६/७ घण्टा सुत्नु पर्छ । म सुत्न नखोजेको पनि होइन । अनिदो बस्न त कसलाई पो मन हुन्छ र ? फेसबुक जबरजस्ति कत्ति चलाउनु ? यो ब्लग लेख्नुको पछाडि मलाई निन्द्रा नलाग्नु पनि हो । अहिले मैले ल्यापटपमा लेख्दै गर्दा मेरो भित्तामा झुन्डीएको घडीले साढे बाह्र बजेको संकेत गरिरहेको छ ।

जागिर खाएपछि खटाएको कार्यक्षेत्रमा अवश्य जानुपर्दछ । यसमा दुइमत छैन । निक्कै बर्ष विराटनगर को घर पाएक नोकरी गरेपछि नयाँ परिवेश , नयाँ अवसर ,नयाँ जिम्मेवारी र चुनौतिहरु सामना गर्ने आफ्नै इच्छाले पुर्विपहाडको विकट क्षेत्र मैले नै रोजेको हो । फेरि नोकरी भनेको कामको साथ साथै जागिरको दौरान सरुवा भएर नयाँ नयाँ ठाउँ हेर्ने अवसर पनि हो । विभिन्न जात जाति धर्म भौगोलिक बिबिधता र प्राकृतिक छटाहाहरु सँगं परिचित हुने मौका पनि हो ।

नोकरीको दौडान बाहिर जाँदा र बस्दा आफ्नै एक किसिमको अनुभव र अनुभुति हुने रहेछ तर पारिवारिक पाटो पनि निक्कै गाह्रो हुने रहेछ । त्यसमा पनि बैंकको नोकरी बाहिर बस्दाको पीडा सम्झदा जिवनका कयौ पारिवारिक पाटाहरु छुट्ने रहेछन् । मलाई सम्झना छ, कोरोनाको कारण गत साल यातायातको साधन नचल्दा र सरकारले लकडाउन को आदेश दिँदा करिब ६ महना पछाडि मात्र घर जान पाएको तितो अनुभव । अनि घरको मुल गेट खोल्दै गर्दा दुई वर्षमा देखेको र छोडेको छोरी आब्या एक्कासि अढाई वर्षमा मलाई देख्दा अपरिचित भनेर भाग्दै डराएर मामु को मान्छे हो ? भनेर म तिर फर्केर सोधेको नमिठो अनुभव । नमिठो लाग्छ छोरिले नै बाबा नचिन्दा ।

मलाई यहाँबाट घर जान एक दिन पुरै लाग्ने र आउन एक दिन पुरै लाग्ने कारणले त्यसमा पनि बैंकको नोकरीमा भनेको बेला छुट्टि नपाइने हुनाले अक्सर ५÷६ महिनामा म घर जान्छु । घर जान पाए भने खुसि लाग्छ । भोलि घर जाने भनेपछि त्यो रात निन्द्रा नै लाग्दैन । ५/६ महिनामा घर जाँदा छोरी पहिले देखेको भन्दा निक्कै बढेकी हुन्छे । सानो लिचीको बिरुवा नर्सरीबाट ल्याएर अस्तिको पल्ट रोपेको थिएँ । यात्रामा बसभरी विरुवा कत्रा भए होलान् भनेर सम्झन्ना आउँछ । घर पुगि हेर्दा ओइलिएछ । पानी दिनै पिच्छे पटाउन बिर्षे छन् क्यारे । गुलाफको फूल पनि ओइलिएछ । घरको पर्खाल पनि चर्किन थालेछन् ।

सम्झाउने म पनि त घरमा छैन नि । फोनबाट भएपनि पानी पटाओ है भनेर सम्झाउनु पर्थ्यो । मैले पनि बैंकिङ नोकरीको व्यस्तताले बिर्सेछु । उनीहरुले पनि बिर्सिएछन् । कोरोनाको कारणले १५ दिन पाइने फोर्स लिभ पनि सबै बैकले नदिने भइसक्यो । घरको बुढी आमाको एउटै सपना छ, हरेक बुढाबुढिको जस्तै भारतको चारधाम तिर्थ यात्र गर्ने । यो साल लामो बिदा नपाएर हो । अर्को पल्ट आउँदा पक्कै तिर्थ लान्छु भनेर मेरी बुढी आमालाई मैले ढाँट्दै गाडी चढेर कार्यक्षेत्रमा फर्केको मलाई अझै सम्झना छ ।

नजिकैको छिमेकि मरेर दुःख लाग्छ । म यहाँ छ,ु मलामी जान पाइएन । आफन्त नातागोेताको घरमा बिवाह लागेको छ । फोनबाट सुन्छु र चित्त बुझाउँछु । यहाँ आफन्त पनि कोही छैनन् । मेरा सबै सम्वन्ध पेशागत हुन् । दिनभरि काउन्टरमा आउने मान्छेसँग रमाउन खोज्छु । मेरो बैंक भित्र कोहि केटाकेटी आए भने मेरो छोरी पनि यत्रै भइ होली जस्तो लाग्छ । बृद्घवृद्घा हरेक चौमासिकमा सामाजिक सुरक्षा भत्ता लिन भत्ताको लाइन मा बसेको देख्दा मलाई ति चाहुरिएको अनुहारमा आफ्नै आमा देख्छु । प्रत्येक पटक घर ३/४ दिनको छट्टिमा जाँदा आफ्नै घर बिरानो लाग्छ । जाँदा हवर हवर नै हुन्छ ।

बिजुलको बिल नतिरेको ६ महिना भएछ। घर जग्गाको कर नतिरेको महिनौ भएछ । टेलिफोनको लाइन पनि नतिरेर काटिएछ । फ्रिज पनि बिग्रिएछ । घरमा यो साल चाहिँ रङ लगाउनु पर्ने छ खै भ्याइँन्छ वा भ्याइँदैन । बुढी आमा मात्र होइन घरको भित्ताहरुले पनि मलाइ नै खोजिरहेको छ । म भने यता अफिसको टारगेट पुर्याउन तल्लिन छु । पेशागत कर्तव्य र धर्म मान्दै । बैंकको काम गरेपछि महिनामा तलब आउँछ अनि किरानाको मासिक रासनको बिल तिरिन्छ । बैंकले घरको चुलो बालेको छ ।

अफिस त १० देखि ५ बजेसम्म लाग्छ । तर, अफिस सकिएपछि उकुसमुकुस हुन्छ । घुम्न जाने कतै ठाउँ पनि छैन । तास पनि खेल्न आउँदैन । रक्सि कहिल्यै खाइएन । उफ ! सम्झदा यो एकान्त गाह्रो र गाह्रो महसुस हुन्छ । साथी त एकान्तमा केबल भित्ताको घडी भएको छ । घडीको सुई चाँडो घुमे हुने नी । क्यालेन्डरको पन्ना चाँडो पल्टे हुने नी ।

दशैं आउन एक महिना पनि छैन । घर जान पनि कमै दिन बाँकी छ । यहाँ बसेको पनि चार वर्ष भएछ । एकै ठाउँ बस्दा बस्दै अब पट्यार लाग्न थालिसकेको अब त घर पायक नै ट्रान्सफर भए हुने नी काम कति बाँकि छ । ट्रान्सफर भइहाले घर नजिक भए आमालाई तिर्थ लाने थिएँ । सधैँ पानी पटाइ ओइलिएको गुलाफहरु फुलाउने थिएँ । अनि नजिकैको मन्दिरको देवतालाइ चढाउने थिएँ । अब त छोरी पनि बाबा खोज्छे । उ सँग साँझमा खेल्ने थिएँ । घरका भित्ताहरु रङ्ग्याउने थिएँ । अनि फुल फुलाए जसरी फुलाउने थिएँ, मेरो ओइलिएको बैंकर परिवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.