“हाम्रो दिगो लक्ष्य भनेकै नमुना गाउँपालिकाका रुपमा विकास गर्नु हो”

  २०७८ असोज ७ गते १७:५४     विकासन्युज

बर्दगोरिया गाउँपालिका सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी देखी ७२ किलोमिटर पूर्वमा अवस्थित छ । यस गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, सांस्कृतिक एवं पर्यटन लगायतका पक्षमा निक्कै धनी छ । यस गाउँपालिकाका अध्यक्ष बलिराम डंगौरा थारू हुन् । उनी निर्वाचित भएर आए पछि शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई प्राथमिकतामा राखेर विकास निर्माणका योजना अगाडि बढाइरहेको छन् । यसैक्रममा गाउँपालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, त्यहाँ गरिएका विकास निर्माणका काम, सम्भावना, चुनौती लगायत विषयमा केन्द्रित रहेर उनै अध्यक्ष थारूसँग विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

गाउँपालिकाको अध्यक्ष भएपछिका सुरुवाती दिनलाई कसरी सम्झनुहुन्छ ?

लामो समयदेखि जनप्रतिनिधिविहीन रहेको र सीमित कर्मचारीको भरमा विकास निर्माण लगायतका कामहरू गर्नुपर्ने बाध्यता थियो । जनताका असिमित इच्छा, आकांक्षा थिए । सीमित स्रोत र साधनको बिचमा विकास निर्माणको कामलाई गति दिनु पर्ने थियो । स्थानीय सरकारले जनशक्ति व्यवस्थापन कानुन कार्य नियमावलीको निर्माण, कार्यान्वयन गर्न समेत समस्या थियो । जनउत्तरदायी जनप्रतिनिधि नहुँदा नागरिकले गुनासो गर्ने र माग राख्ने कुरा कठिन थियो । त्यसैले निर्वाचित भएर आउँदा निकै चुनौती थिए । पहिलाको तुलनामा अहिले नागरिकले गाउँपालिकाप्रति अपनत्व महसुस गर्न पाएका छन् ।

तपाइँ निर्वाचित भएपछि गाउँपालिकाले हासिल गरेका उपलब्धि के–के हुन् नी ?

स्थानीय तहको निर्वाचन सम्पन्न भए पछि गाउँपालिकामा धेरै कामहरू भएका छन् । हामी निर्वाचित भएर आएको पनि ४ वर्ष पुरा भइसकेको छ । बिस्तारै गाउँपालिकाको समग्र क्षेत्रमा प्रगति भएको छ । त्यसैले पहिलाको तुलनामा हाल पालिकाको हरेक क्षेत्रमा सुधार र परिवर्तन आउनुका साथै उपलब्धि समेत भएको छ ।

कुन कुन क्षेत्रमा के–के प्रगति भए होलान् नी ?

स्थानीय सरकार सञ्चालन भए पछि पालिकाको समग्र क्षेत्रमा प्रगति भएको छ । हामीले आर्थिक, सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण संरक्षण आदि सबै क्षेत्रको विकास गरी नागरिकलाई कसरी सुखमय बनाउने भन्ने कुरामा जोड दिँदै आएका छौं । पालिकाले शिक्षाको क्षेत्रमा पनि उत्कृष्ट काम गरेको छ । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं भने पालिकाको शैक्षिक स्तर धेरै माथि पुगेको छ । शिक्षालाई व्यवस्थित गर्न दरबन्दी नभएका विद्यालयमा अस्थाइ दरबन्दी तथा करारमा शिक्षकको व्यवस्था गरी पढाइलाई सहजीकरण गरेका छौं ।

हामीले स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रो कामहरू गरेका छौं । पालिकामा एम्बुलेन्सेको व्यवस्थापन गरी सेवासुचारु गरेका छौं । स्वास्थ्य संस्थाको सुधिरिकरण गरी त्यहाँको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने काम समेत भएको छ । पालिकाको स्वास्थ्य संस्थामा प्रजनन् केन्द्र समेत रहेको छ । हामीले पालिकाको प्रत्यके वडामा स्वास्थ्यचौकीको स्थापना गरी नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचसम्म पुर्याएका छौं ।

यसका साथै हाम्रो पालिका पर्यटकीय हिसाबले पनि महत्वपुर्ण छ । पर्यटन क्षेत्रको विकासका लागि लाखौं रुपैयाँ खर्च गरेका छौं । मठमन्दिर आदिको निर्माण भएका छन् । गाउँपालिकाको प्रशासनिक भवनको व्यवस्थापन गरी केही वडा कार्यालयका भवन पनि निर्माण गरेका छौं । हामीले पूर्वाधार निर्माणमा निकै महत्वपुर्ण काम गरेका छौं । सडकको स्तरोन्नती गर्ने, ट्र्र्याक खोल्ने समेत काम भएको छ । धेरै ठाउँमा कच्ची सडक छन् । कच्ची भए प्रत्येक वडामा सडक सञ्जाल पुर्याउन सफल भएका छौं । नमुना गाउँपालिकाका रूपमा विकास गर्ने दिगो लक्ष्य साथ पालिका अगाडि बढेको छ । नागरिकको घरमा खानेपानी पुर्याउने काम पनि भएको छ ।

चार वर्ष जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव कस्ता रह्यो ?

हाम्रो कार्यकालको ५ वर्ष अवधिमध्ये ४ वर्ष पुरा भइसकेको छ । राजनीतिमा मेरो धेरै लामो संर्घष छ । अनुभव राम्रो रह्यो भने अहिलेसम्मको काम गराईबाट पनि सन्तुष्ट छु ।

आगामी दिनका योजना कस्ता छन् ?

राष्ट्र निर्माणको मेरुदण्ड स्थानीय सरकार बन्नसक्नुपर्छ, भन्ने मान्यता राखि दीर्घकालीन सोचका साथ दिगो विकासका योजना तर्जुमा गरी अगाडी बढ्ने सोच राखेका छौं । गाउँपालिका भित्र देखिएको विविध समस्यालाई न्यूनीकरण गर्दै यस भूगोलका जनताको सुख दुःख, पिरमर्कासँग उदारभावले अगाडी बढी खुल्ला सरकारको अनुभूति दिलाउने अभिप्रायमा हामी लाग्ने छौं ।

अनि पालिकाले कृषि क्षेत्रमा कस्तो कामहरू गरेको छ नी ?

कृषि क्षेत्रलाई पनि गाउँपालिकाले विशेष ध्यान दिएर अगाडि बढेको छ । गाउँपालिका कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउनमा लागिपरेको छ । कृषि क्षेत्रमा देखिने गरी केहि कामहरू भएका छन् । पालिकाका केहि कृषकहरू ब्यवसायिक तरकारी खेतीमा लागेका छन् । बाख्रा पालन, गाई तथा भैसिपालनमा गर्ने कृषिहरूलाई सहजीकरण गर्दै आएका छौं । पालिकाले पकेट क्षेत्रको अवधारण पनि अगाडि सारेका छ । उक्त पकेट क्षेत्रअनुसार कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौं । कृषिहरूलाई गाउँपालिकाले ५० प्रतिशत अनुदानमा विउविजन, कृषिका यन्त्र पनि वितरण गर्दै आएको छ । अझै कृषि क्षेत्रलाई प्रभावकारी बनाउनको लागि चालु आर्थिक वर्षको बजेट पनि कृषि तथा पशुपन्छी क्षेत्रमा केन्द्रित छ ।

अनि चुनावी बाचा कति पुरा गर्नु भयो नी ?

चुनावी बाचाको संर्धवमा हामी लिखित प्रतिविद्धताका साथ जनतामाझ गएका थियौं । हामीले घोषणापत्रमा समयसामहिम विषयलाई नै धेरै जसो समेटेका थियौं । हामीले चुनाव अघि विद्युत, खानेपानी, सडक, सिचाइको सुविधा, कृषिलाई उत्पादन मूलक, स्वास्थ्य सेवा प्रत्येक वडामा पुर्याउने, शैक्षिक क्षेत्रको विकास गर्ने र गाउँपालिकालाई नमुना गाउँपालिका बनाउँछौं भनेका थियौं । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्ने छौं, भनेका थियौं ।

आफूले गरेका प्रतिबद्धता समय समयमा स्मरण गर्ने गरेको छु । निर्वाचनको समयमा गाउँपालिकालाई सुन्दर, समृद्ध पालिका बनाउने प्रतिबद्धता व्यक्त गरेको थिएँ । अहिले ती काम धेरै पुरा भइसकेका छन् । केही काम वाहेक हामीले चुनावमा गरेको प्रतिबद्धता भन्दा धेरै काम गरेका छौं । यस्तो भन्दै गर्दा हामी र नागरिकले देखेको सपनाहरू सबै पुरा भए भन्ने होइन । हामीले गर्नुपर्ने काम अझै बाँकी नै छ ।

स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ?

स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नेतर्फ पनि हाम्रो ध्यान केन्द्रत छ । युवा उद्यमशीलता वृद्धि गर्ने पशु र कृषिमा आकर्षण वृद्धि गर्ने लक्ष्यका साथ गाउँपालिका अगाडी बढेको छ । पालिकामा विस्तरै साना तथा मझौला उद्योगकोस्थापना हुँदै छन् । उक्त उद्योग मार्फत पनि धेरै युवाहरुले रोजगारी पाउने आशा छ । पालिकाले विभिन्न स्वरोजगारका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।

अन्त्यमा, के भन्न चाहनु हुन्छ ?

नजिकिँदै गरेको नेपालीहरूको महान् पर्व विजया दशमीको सवैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.