२० कम्पनीले गरे साढे ४२ अर्बको कृषि बीमा, कुनको कति ?

  २०७८ असोज ७ गते १३:१२     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एक वर्षमा साढे ४२ अर्ब रुपैयाँ बराबरको कृषि बाली तथा पशुधन बीमा गराएका छन् । सञ्चालित २० कम्पनीले गत एक आर्थिक वर्षमा ४२ अर्ब ४९ करोड रुपैयाँ बराबरको बीमा गराउन सफल भएका हुन् ।

बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कूल १ लाख ८७ हजार ३३७ वटा बीमालेख जारी गरी सो मात्राको कृषि बीमा गरेका छन् । कम्पनीहरुले उक्त बीमांक रकमबाट एक अर्ब ९० करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । त्यसमा ७५ प्रतिशत अर्थात एक अर्ब ४२ करोड रुपैयाँ बराबरको प्रिमियम सरकारको तर्फबाट आएकाे समितिले जनाएको छ ।

गत आवमा उक्त बीमा गर्ने कृषकलाई सरकारले प्रिमियमको ७५ प्रतिशत अनुदान दिने र बाँकी २५ प्रतिशत कृषक आफैले तिर्नुपर्ने व्यवस्था रहेको थियो । सोहि व्यवस्था अनुरुप सरकारले एक अर्ब ४२ करोड ६६ लाख रुपैयाँ बराबरको प्रिमियम अनुदान सरकारले दिएको छ । बाँकी ४७ करोड ५५ लाख ६० हजार रुपैयाँ भने कृषक आफैले तिरेका समितिले जनाएको छ ।

त्यस्तै, कूल बीमा रकमको आधारमा प्रुडेन्सियल इन्स्योरेन्सले सबैभन्दा बढी बिक्री गरेको छ भने बीमालेख संख्याको आधारमा सबैभन्दा बढी एनएलजी इन्स्योरेन्सले गरेको छ ।

नेशनल इन्स्योरेन्सले भने सबैभन्दा कम रकमको बीमा गरेको छ । त्यस्तै, बीमालेख संख्याको आधारमा प्रभु इन्स्योरेन्सले सबैभन्दा कम बिक्री गरेको छ ।

सबैभन्दा बढी रकमको बीमा गरेको प्रुडेन्सियल इन्स्योरेन्सले एक वर्षको अवधिमा ६ अर्ब ३२ करोड ५० लाख रुपैयाँ बराबरको कृषि वाली तथा पशुधन बीमा गरेको छ । कम्पनीले २८ हजार २३७ वटा बीमालेखबाट सो मात्राको बीमा गरेको समितिले जनाएको छ ।

त्यस्तै, बीमांक रकमको आधारमा सबैभन्दा बढीको बीमा गर्नेको दोश्रोमा एनएलजी इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले ३५ हजार ४६२ वटा बीमालेख ५ अर्ब ६९ करोड २९ लाख रुपैयाँ बराबरमा बीमा गराएको छ ।

त्यसैगरी, शिखरले गत एक वर्षमा कम्पनीले १९ हजार ८४८ वटा बीमालेख जारी गरी ४ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बढीको कृषि बीमा गरेको छ । कम्पनीले उक्त बीमांक रकमको २२ करोड ७१ लाख ४७ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जसमध्ये १७ करोड ३ लाख ६० हजार रुपैयाँ बराबरको अनुदान भने सरकारले दिने छ ।

कुनको कति ? (सूचीसहित)

त्यस्तै, अजोड र आईएमई लाइफ इन्स्योरेन्सले क्रमशः ३ अर्ब ९२ लाख र ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको बाली बीमा गरेका छन् ।

२ अर्बभन्दा बढी रकमको बीमा गराउनेमा ४ कम्पनी रहेका छन् । नेपाल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेको र लुम्बिनी जनरल इन्स्योरेन्स गत आवमा मात्रै २ अर्बभन्दा बढी रकमको बाली तथा पशुधन बीमा गराएका छन् ।

तथ्यांकअनुसार सगरमाथा, सिद्धार्थ र यूनाईटेड इन्स्योरेन्सले एक अर्ब रुपैयाँ माथिको बीमा गराएका छन् भने बाँकी रहेका ८ कम्पनीले एक अर्बभन्दा कम रकमको बीमा गराएका छन् ।

गत आवभन्दा चालु आवमा भने कृषि बाली तथा पशु बीमामा सरकारले दिने प्रिमियम अनुदान बढेको छ । अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेट मार्फत सरकारले दिने प्रिमियम अनुदान बढाएर ८० प्रतिशत पुर्याएका हुन् । यससँगै अब कृषि बाली तथा पशुको बीमा गर्ने कृषकले २० प्रतिशत मात्रै प्रिमियम तिरे पुग्छ भने बाँकी ८० प्रतिशत सरकारले तिर्नेछ ।

सम्बन्धित समाचार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.