यति एयरलाईन्सको पर्वतीय उडान असोज १० गतेबाट पुन: शुरु हुने

  २०७८ असोज ६ गते १५:१०     विकासन्युज

काठमाडौं । दोश्रो लकडाउनपछि रोकिएको यति एयरलाईन्सको पर्वतीय उडान असोज १० गते देखि पुन: सुरु हुने भएको छ ।

मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर-मार्च महिना उपयुक्त मानिने भएकोले उडान सुरु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

हालका लागि प्रत्येक आईतबार एक उडान गर्ने गरी बुकिङ खुल्ला गरिएको हो । ‘प्रत्येक आइतबारका लागि एटिआर-७२ विमान मार्फत एउटा पर्वतीय उडान हुने गरी तालिका तय गरिएको र यात्रुहरुको माग बमोजिम विस्तारै उडान संख्या थप गर्दै जाने नीति लिएकाे छौं,’ उनले भने ।

हालका लागि नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाई बराबरको ८ हजार ८४८ आकर्षक भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने उनले बताए ।

आवासीय विदेशी नागरिकका लागि भने १३ हजार दुई सय ७५ भाडादर कायम गरिएको बर्तौलाले जानकारी दिए । पहिलो लकडाउन पछि खुलेको पर्वतीय उडानमा पनि यतिले यहि भाडा दरमा उडान भरेको थियो ।

नेपाली यात्रुहरू तथा आवासीय बिदेशी नागरिककालागी छुट्टाछुट्टै प्यागेज ल्याएको यतीले २ वटा टिकटका लागि क्रमशः ९ हजार ८ सय ४८ र १४ हजार सात सय पचहत्तर भाडादर तोकेको छ ।

यो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्कोसँगैको झ्याल नभएको सिट प्राप्त गर्नेछ्न । पर्वतीय उडानका टिकट हरु नजिकको ट्राभल एजेन्सी, यतीको मोबाइल एप्स र अनलाइन मार्फत खरिद गर्न सकिने कम्पनिले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.