सगरमाथा बेस क्याम्पमा ‘फेसन शो’ हुँदै, नेदरल्याण्डका राजकुमारी र इटालीका राजकुमार सहभागी हुने

  २०७८ असोज ६ गते १२:५९     विकासन्युज

काठमाडौं । सगरमाथाको बेसक्याम्‍पमा बिहीबार हुने फेसन शोमा नेदरल्याण्डको राजकुमारी र इटालीका राजकुमार सहभागी हुने भएका छन् । हिमालको संरक्षण तथा जैविक संरक्षण गर्न विश्‍वको ध्यानाकर्षण गर्ने उद्देश्यले बेसक्याम्पमा फेसन शो आयोजना गर्न लागिएको हो ।

उक्त फेसन शोमा विश्‍वका १३ देशका अन्तर्राष्‍ट्रिय मोडलहरूले सहभागी जनाउने छन् । इटाली, डेनमार्क, बेलायत, पोल्याण्ड, रसिया, नेदरल्याण्ड, नेपाल र फिनल्याण्डका मोडल सहभागी हुने भएका छन् । सोही फेसन शो मा क्याप्टेन विजय लामाले वार्क र्‍याम्प गर्ने भएका छन् ।

कासा बुटिक डिजाइन, आर बी डायमण्ड र के फिल्मसले फेसन शोको आयोजना गरेको हो । उक्त शोको सहयोगी संस्थाहरूमा नेपाल पर्यटन बोर्ड, स्टार अस्पताल, ग्लोबल आइएइ बैंक, चिभास, द सोल्टी काठमाडौं र इन्टरनेशनल सेरीकल्चर कमिसन लगायतका अन्य संस्था छन् ।

मौसम परिवर्तन विश्‍वव्यापी समस्याका रूपमा सम्पूर्ण मानवताकै लागि खतराका रूपमा देखिएको बेला सचेतना बढाउन फेसन शोको आयोजना गर्न लागिएको हो । हिमाल आरोहण गर्नेको संख्या बढेसँगै सगरमाथासहित सबै हिमाल प्रदूषित बन्दै गएका छन् । अपघटन नहुने जैविक सामानबाट बनेका उत्पादनको प्रयोग निरुत्साहन गर्नु सो कार्यक्रमको उद्देश्य रहेको कासा बुटिकले जनाएको छ ।

फेसन शोका साथै सो स्थानमा अपघटन हुने जैविक सामग्रीबाट नेपालामै उत्पादित पश्मिना र फेल्टसम्बन्धी जानकारीमूलक वर्कशपको पनि आयोजना हुनेछ । वर्कशपमा हिमाल आरोहण तथा ट्रेकिङ गर्नेहरूलाई अपघटन हुने जैविक कपडा प्रयोग गर्न प्रेरित गरिनेछ ।

फेल्ट र पश्मिनाजस्ता ‘मेड इन नेपाल’ कपडा प्रयोगबाट प्रकृति र हिमाललाई नोक्सान नहुने कासा बुटिकले जनाएको छ । कासा बुटिक नेपालमा स्थापित अन्तर्राष्ट्रिय फेसन ब्रान्ड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.