प्रतिविद्यार्थी हजार रुपैयाँका दरले विद्यालयलाई खर्च अनुदान पठाएका छौं: अध्यक्ष दुलाल

  २०७८ असोज ५ गते २२:३३     विकासन्युज

शैलुङ गाउँपालिका दोलखा जिल्लाको एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकिय महत्व बोकेको गाउँपालिका हो । यस गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलाल हुन् । उनी निर्वाचित भएर आइसकेपछि शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरी रहेका छन् । क्रमशः यही हिसाबले पालिकामा १० वर्ष काम हुने हो भने देशकै उत्कृष्ट गाउँपालिका बन्ने पनि उनी दाबी गर्छन् । भौतिक पूर्वाधारको विकाससँगै गाउँवासीलाई आत्मानिर्भर बनाउने नीति लिएको पनि अध्यक्ष दुलाल बताउँछन् । उनै अध्यक्ष दुलालसँग पालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीलता र रोजगारी प्रवर्धनमा पालिकाको नीति, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ र समग्र पालिकाका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सार :

स्थानीय सरकारको नेतृत्व सम्हाल्नुभएको ४ वर्ष पुरा भयो, शैलुङ गाउँपालिकाको मुहार कत्तिको फेरियो त ?

स्थानीय तहको निर्वाचन सम्पन्न भए पछि गाउँपालिकामा धेरै कामहरू भएका छन् । हाम्रो पालिका हिजो दोलखा जिल्लाको नै सबै भन्दा दुर्गम क्षेत्र मानिन्थ्यो । बिस्तारै गाउँपालिकाको समग्र क्षेत्रमा प्रगति भएको छ । त्यसैले पहिलाको तुलनामा हाल पालिकाको मुहार धेरै नै फेरिएको छ ।

कुन कुन क्षेत्रमा के–के प्रगति भए नी ?

हामीले पूर्वाधार निर्माणमा निकै महत्वपुर्ण काम गरेका छौं । हाल पालिकाले २ ओटा सडक निर्माणको कार्यलाई अगाडि बढाएको छ । एउटा सडक ठेक्का प्रक्रियाबाट निर्माण कार्य अगाडि बढेको छ भने अर्को सडक ठेक्का हुने क्रममा छ । ४ सय किलोमिटर कच्ची सडकको ट्र्याक यो बिचमा खुलाएका छौं । एक सय किलोमिटर सडक ग्राभेल गरी स्तरोन्नती गर्ने काम सम्पन्न भएको छ । यसरी नै पालिकाको प्रत्येक वडामा सडक सञ्जाल पुर्याउने प्रयास भएको छ ।

यसैगरी स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै काम गरेका छौं । हामी निर्वाचित हुनुभन्दा अघि ६ ओटा मात्र स्वास्थ्य चौकी थिए । हामी निर्वाचित भएर आएपछि थप ६ ओटा अस्पतालको निर्माण गरेका छौं । पालिकामा हाल १२ ओटा स्वास्थ्यचौकी रहेका छन् । नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने काम भएको छ । यो बिचमा हामीले कोभिड अस्पताल पनि निर्माण गर्यौं । पालिकामा १५ शैया बेडको अपताल निर्माण हुँदैछ ।

हाम्रो पालिकामा ३३ ओटा विद्यालयहरू छन् भने ९ ओटा मावि छन् । ती विद्यालयहरूमा शिक्षकहरूको व्यवस्थापन भएका थिएनन् । शिक्षक नभएका विद्यालयमा दरबन्दीको व्यवस्थापन गरेका छौं । गत वर्ष मात्रै हामीले विद्यार्थीलाई विज्ञान र प्रविधिसँग जोडन एक करोड रुपैयाँ खर्च गर्यौं । २ माध्यमिक विद्यालयमा कृषि र इन्जिनियरको प्राविधिक कक्षा सञ्चालन गरेका छौं । नमुना विद्यालयहरू बनि रहेका छन् । हामीले प्राविलाई एक लाख, माविलाई ५ लाख रुपैयाँ आर्थिक अनुदान पनि वितरण गरेका छौं । यो वर्ष पनि प्रति विद्यार्थी एक हजार रुपैयाँका दरले विद्यालयलाई खर्च अनुदान पठाएका छौं ।

पालिकामा खानेपानीको चरम अभाव थियो । उक्त समस्याको समाधान गर्नको लागि हामीले ‘एक घर एक धारा’ खानेपानी आयोजना सञ्चालन गरी प्रत्येक नागरिकको घरमा खानेपानी पुर्याउने लक्ष्य राखेका छौं । हालसम्म ५ सय घरधुरीमा खानेपानी पुगि सकेको छ भने अरू निर्माणका प्रक्रियामा छन् । २ ओटा ठुला सिचाईंका कुलो बनेका छन् ।

हाम्रो पालिका पर्यटकीय हिसाबले पनि महत्वपुर्ण छ । पर्यटन क्षेत्रको विकासका लागि करोडौं रुपैयाँ खर्च गरेका छौं । गुम्बा, मठमन्दिर आदिको निर्माण भएका छन् । स्थानीय तह सञ्चालन ऐन तथा संविधान अनुसार जे जति काम गर्न सक्छौं ती क्षेत्रमा हामीले काम गरेका छौं । गाउँपालिका क्रमशः हिजो भन्दा आज निक्कै माथि उठिरहेको छ । शैलुङ दोलखाको सबैभन्दा तल्लो तहमा गनिन्थ्यो भने अहिले अरू पालिकाभन्दा माथि आउने स्थिति बनेको छ ।

अनि कृषि क्षेत्रमा कस्तो कामहरू भएका छन् नी ?

हामीले कृषि क्षेत्रमा पनि उत्कृष्ट काम गरेका छौं । हाम्रो पालिकामा ८ ओटा वडा छन् । यी प्रत्येक वडामा कृषि र पशुपंक्षिका प्राविधिकहरुको व्यवस्थापन गरेका छौं । उत्पादनमा कृषकलाई कसरी अभिवृद्धि गर्न सकिन्छ र थोरै लगानीले धेरै आम्दानी लिने तरिकाले काम गरी रहेका छौं । कृषिलाई व्यावसायिकीकरण, आधुनिकिकरण, कृषि बजारमा सहज पहुँच तथा जैविक प्रविधिहरूको संयुक्त प्रयासबाट काम गरी रहेका छौं । उद्यमशीलता वृद्धि गर्न पशु र कृषिमा कृषकको आकर्षण बढाउने लक्ष्यका साथ गाउँपालिका अगाडी बढाएको छ । पालिकाले ५ ओटा कृषि संकलन केन्द्रको स्थापना गरेको छ भने ४ ओटा विउविजन भण्डारण केन्द्र समेत रहेको छ ।

हामीले ९ करोड रुपैयाँको लगानीमा कोल्ड स्टोरको निर्माण गरी रहेका छौं । पालिकाले झन्डै एक सय ओटा फार्मलाई आर्थिक सहयोग पनि गरेको छ । उक्त फार्महरूलाई ५ लाखदेखि एक लाख रुपैयाँसम्म नगद अनुदान दिएका छौं । कृषकलाई आर्थिक अनुदान पनि दिएका छौं । बिस्तारै पालिकामा उन्नत तरिकाले उत्पादनका कामहरू भइरहेका छन् । गाउँपालिकाले कृषिका विभिन्न कार्यक्रमहरू पनि गर्दै आएका छौं । जस अन्तर्गत प्लास्टिकमा तरकारी खेती, व्यावसायिक किसानलाई तालिमहरू दिने, उहाँहरूलाई कृषिमा उत्प्रेरणा गर्ने र प्रोत्साहित समेत गर्दै आएका छौं । किसानहरूको माग अनुसार सेवा गरिरहेका छौं । यसरी नै कृषि क्षेत्रमा पनि पालिकाको तर्फबाट व्यापक काम भएको छ ।

भौतिक पूर्वाधार विकासमा स्थानीय सरकारले झेल्नुपर्ने समस्या के–के हुन् ?

समस्या के छ भने हिजो सर्वदलीय शक्ति थियो । सुरुसुरुमा विकास निर्माणको काम अगाडि बढाउन पनि अप्ठ्यारो अवस्था आए । मानिसहरुले विकासको काममा अवरोध गर्ने पनि खोज्छन्, सहयोग पनि गर्छन् । जुनसुकै योजना सम्पन्न हुने गरी बहु वर्षीय योजना हुन्छन् । ठुला र महत्त्वपूर्ण गौरवका आयोजना बिस्तारै गर्नुपर्ने हुन्छ । बहु वर्षीय योजनाका रूपमा अघि बढाउँदा एउटै निर्माण व्यवसायीबाट निर्माण गर्न सकिने हुनाले स्रोत सुनिश्चित हुन आवश्यक पनि छ । राम्रो काम गर्नको लागि कठिन छ । यद्यपि हामी जनप्रतिनिधि, कर्मचारी, नागरिक आदिको सहयोगमा नै विकास निर्माणको काम अगाडि बढाईरहेका छौं ।

कोरोनाको पहिलो र दोस्रो लहरमा गाउँपालिकाले कति बजेट खर्च गर्याे ?

पहिलो वर्ष कोभिड रोकथाम र नियन्त्रण गर्नको लागि भनेर ६० लाख रुपैयाँ बराबरको कोभिड कोष स्थापना गरेका थियौं । उक्त कोष मार्फत् ४० लाख रुपैयाँ खर्च भएको थियो । यो वर्ष पनि हामीले एक करोड रुपैयाँ बराबरको कोभिड कोषको स्थापना गरेका छौं । गाउँपालिकाले उक्त कोषमार्फत नै दोस्रो लहर प्रकोप व्यवस्थापका लागि खर्च गर्दै आएको छ । कोभिडबाट संक्रमित भएका बिरामीहरूलाई पोषण भत्ता भनेर दिनको ५ सयका दरले ७ हजार रुपैयाँ दिएका छौं । हालसम्म पालिकाका २ सय नागरिकले कोभिड भत्ता भनेर ७ हजार रुपैयाँको दरले लिएका छन् ।

कोभिड दोस्रो लहर सुरु भएपछि भदौ मसान्तसम्म कोभिडबाट संक्रमित हुनेहरूलाई गाउँपालिकाले उक्त रकम उपलब्ध गराउने छ । घर शैलुङ गाउँपालिकामा भएका तर अन्य ठाउँमा बसोबास गरेकाहरूलाई पनि कोभिड पोजेटिभ भएको रिपोर्ट लिएर आएमा रकम उपलब्ध गराउने भनेका छौं । रकम लिनको लागि काठमाडौं अथवा अन्य ठाउँमा बसोबास गर्ने केही नागरिकहरू पनि आउनुभएको छ । कोभिडको दोस्रो लहर सुरु भएपछि पालिकामा २५ बेडको कोभिड अस्पताल पनि निर्माण भएको छ । उक्त अस्पतालको व्यवस्थापनका लागि केही खर्च भएको छ । यस वर्ष पालिकाको ५० देखि ६० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

आगामी दिनका योजना कस्ता छन् ?

हामीले हिजो जनतासँग घोषणापत्र लिएर निर्वाचनमा गएका थियौं । ती जनतासँग गरेका बाचाहरू पुरा गर्ने कोसिस गर्छौं । अब हामी धेरै नयाँ कामको सुरुवात गर्दैनौं । सुरु गरेका कामलाई सकेसम्म पुरा गर्नतर्फ लाग्छौं । गाउँपालिका भित्र जनताको जीवनस्तर उकास्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्ने पनि हाम्रो प्रमुख योजना छ ।

अनि चुनावी बाचा कति पुरा गर्नु भयो नी ?

यो बिचमा हामीले पालिकामा धेरै कामहरू गरेका छौं । त्यस कारणले गर्दा गत वर्ष बागमती प्रदेशको उत्कृष्ट गाउँपालिका भनेर पुरस्कृत समेत भएका थियौं । हामीसँग भएको स्रोत र साधन उपयोग गरी पालिकामा विकासका कामहरू अगाडि बढाएका छौं । हामीले संघ र प्रदेश सरकारको अनुदानमा पालिकाको विकास कामहरू अगाडि बढाउनु पर्ने हुन्छ । पालिकामा ३० लाख रुपैयाँभन्दा बढि आन्तरिक आम्दानी हुँदैन । हामीसँग ढुङ्गा बालुवा, गिटि आदि जस्ता चिजहरू छैन । त्यस हिसाबले हाम्रो आन्तरिक स्रोत कम छ । स्रोत कम हुँदाहुँदै पनि भएको बजेटलाई अधिकतम सदुपयोग गर्ने कोसिस गरेका छौं । हामीले घोषणापत्रमा दीर्घकालीन योजना पनि समावेश गरेका थियौं । तत्कालीन गर्नुपर्ने कामहरू पुरा भएका छन् । मध्यकालीन कामहरू पनि पुरा हुँदै छन् भने दीर्घकालीन कामको पनि हामीले सुरुवात गरेका छौं । क्रमशः यही हिसाबले पालिकामा १० वर्ष काम हुने हो भने हाम्रो पालिका देशकै उत्कृष्ट गाउँपालिका बन्छ ।

प्रदेश र संघ सरकारसँगको सहकार्य कस्तो रह्यो ?

प्रदेश र संघमा पनि स्रोतको तानातान छ । जहाँ मन्त्रीज्यूहरू हुनुहुन्छ उहाँहरूले बढि स्रोत लानुहुन्छ । यद्यपि उहाँहरूसँग समन्वय तथा सहकार्य गरी गाउँपालिकाका जनताको हितका लागि हामी लागेका छौं ।

स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ?

पालिकामा ठुलाठुला कलकारखाना खोल्न सक्ने सम्भावना छैन । हामीले युवा शक्तिलाई गाउँमै रोजगारीसँगै आय आर्जनका सम्भावनामा उत्प्रेरित गराउनको लागि जोड दिइरहेका छौं । हाम्रो पालिकाको तर्फबाट युवालाई रोजगार बनाउनको लागि भनेर नै विभिन्न स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । युवाहरूलाई व्यवसायिक कृषि तथा पशु र पर्यटन क्षेत्रमा जोडिन आग्रह गरेका छौं । युवाहरूलाई रोजगारीमूलक बनाउने कुरामा पनि उक्तिकै हाम्रो ध्यान गएको छ ।

अहिलेसम्मको काम गराईबाट सन्तुष्ट हुनुहुन्छ ?

हामी त अहिलेसम्मको काम गराईबाट सन्तुष्ट नै छौं । सडक सञ्जाल, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य खानेपानी आदिका क्षेत्रमा गाउँपालिकाले निकै महत्वपुर्ण काम गरेको छ । यती हुँदा पनि जनताको इच्छा र आकंक्ष आवश्यकता धेरै छन् । हिजो केही हुँदैन भन्ने थियो आज हुने रहेछ भनेर जनताको माग र चाहना बढेका छन् । सकेसम्म जनताको मागलाई संवोधन गरी अगाडि बढेका छौं । स्रोत साधनाको भरपुर उपयोग गरी पालिकाको विकास निर्माण गरेका छौं । म मात्र नभई हाम्रो कामबाट पालिकाका नागरिकहरू पनि खुसी र सन्तुष्ट हुनुहुन्छ भन्ने आशा छ ।

अन्त्यमा, के भन्न चाहनु हुन्छ ?

हामीले हाम्रो तर्फबाट स्रोत साधनले भ्याएसम्म राम्रो गर्ने कोसिस गरेका छौं । यतिले मात्र पुगेको छैन । तर, म निराश नहुन लागि सबैलाई अनुरोध गर्न चाहन्छु । क्रमशः हाम्रा बाटोहरू बन्नेछन् । हाम्रो विद्यालय, स्वास्थ्य, कृषि आदि सबै क्षेत्र अझै राम्रो हुनेछन् । बिस्तारै सहरबाट गाउँ फर्केर गाउँमा नै बस्नसक्ने वातावरण बन्दैछ । त्यसको लागि धैर्य गर्न आग्रह गर्छु । सबैको सहयोगबाट गाउँको विकास गर्न सक्छौं । त्यसैले सहयोगको पनि अपिल गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.