विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती छ: अर्थमन्त्री शर्मा

  २०७८ असोज ५ गते १५:१५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती रहेको बताएका छन् ।

मंगलबार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको ‘सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री शर्माले नेपालमा समग्र विकास रणनीतिमा समस्या रहेको बताएका हुन् । उनले विकासको कामका स्पष्ट रणनीति नभएका कारण पुँजिगत बजेटको खर्च कसरी गर्ने भन्ने चुनौती रहेको बताए ।

अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले सबै अधिकार आफैसँग राख्नाले पनि समस्या भएको भन्दै अर्थमन्त्रालयले अन्य मन्त्रालयहरुलाई र मन्त्रालयहरुले सम्बन्धित परियोजनालाई आवश्यकता अनुसार बजेट हेरफेर गर्न दिनुपर्ने बताए । आगामी दिनमा अर्थ मन्त्रालयले सो अधिकार अन्य मन्त्रालयलाई दिने पनि उनले उल्लेख गरे ।

‘मन्त्रालयलाई अर्थ मन्त्रालयले दिनुपर्ने अधिकार त्यो पनि कञ्जुस्याँई, मन्त्रालयले प्रोजेक्ट प्रमुखलाई दिने अधिकार त्यो पनि कञ्ज्युस्याँई । उसले फिल्मै बसेर त्यही तलमाथि गर्न पाओस् न, योजना सफल गर्नको लागि । तत्ः तत्ः ठाउँमा अधिकार दिने । प्रोजेक्ट प्रमुख छ भने उसलाई अधिकार दिएर पठाउने । राम्रो, नराम्रोको मुल्यांकन गर्ने । पुरस्कृत र कारबाही गर्ने कुराको मुल्यांकन गर्ने परिपाटी नहुनुको पनि परीणाम हो । अर्थ मन्त्रालयले आफुले सबै अधिकार मुठ्याएर राख्ने तल नदिने गर्दापनि समस्या हो । मन्त्रालयलाई अधिकार दिने । मैले भनेको छु, अधिकार दिनुस् । अब हामी दिन्छौँ । मन्त्रालयलाई हेरफेर गर्न पाउने । बजेट खर्च नभए अर्को ठाउँमा हाल्न पाउने अधिकार तल दिनुपर्याे । माथि राखेर नहुने रहेछ,’ उनले भने ।

अर्थमन्त्री शर्माले सरकारले प्रत्येक महिना कम्तिमा दश प्रतिशत बजेट खर्च गर्नुपर्ने नीति बनाउन लागेको बताए । खर्च नहुने ठाउँमा पैसा राख्ने र खर्च हुने ठाउँमा पैसा नराख्ने खालको प्रवृत्ति सच्याउनका लागि आफुले प्रयास गरिरहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.