सबै निर्जीवन बीमा कम्पनीको पुँजी ग्लोबल आईएमई बैंकको भन्दा कम

  २०७८ असोज ५ गते १३:०९     विकासन्युज

काठमाडौं । असोज ४ गते निर्जीवन बीमा कम्पनी समूहको परिसूचक १२ हजार ६९ रहेको छ भने वाणिज्य बैंक समूहको परिसूचक ८५० रहेको छ ।

पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुको न्युनतम सेयर मूल्य ६०० रुपैयाँभन्दा बढी रहेको छ । तर अधिकांश वाणिज्य बैंकको सेयर मूल्य भने ३०० देखि ५०० रुपैयाँको हाराहारीमा छ ।

दोश्रो बजारमा वाणिज्य बैंकभन्दा बीमा कम्पनीको सेयर मूल्य बढी छ । १५/२० प्रतिशत लाभांश दिने बैंकभन्दा १०/१२ प्रतिशत लाभांश वितरण गर्ने बीमा कम्पनीको सेयरमा लगानीकर्ताले बढी मूल्य तिरिरहेका छन् ।

बैंकिङ समूहमा नबिल बैंकको सेयर सबैभन्दा बढी छ । जसको मूल्य प्रतिकित्ता १४ सय भन्दा कम छ । निर्जीवन बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य सर्वाधिक माथि छ, जसको मूल्य प्रतिकित्ता १८ हजार रुपैयाँ छ । यो कम्पनीले विगत ९ वर्षदेखिको साधारणसभा समेत गर्न नसकेकोले बीमा समितिले कारवाही गरेको छ ।

वाणिज्य बैंकमा सबैभन्दा सस्तो सेयर मूल्य सेञ्चुरी कमर्शियल बैंकको छ । जसले गत वर्ष ७.५ प्रतिशत लाभांश दिएको थियो । सेञ्चुरी बैंकले गत असार मसान्तसम्ममा ७५ करोड रुपैयाँ नाफा गरेको छ । निर्जीवन बीमा कम्पनीमा सबैभन्दा सस्तो सेयर मूल्य (प्रतिकित्ता ६१५ रुपैयाँ) जनरल इन्स्योरेन्सको छ । जसले गत असार मसान्तमा नाफा ९ करोड रुपैयाँ गरेको थियो ।

यस कारण बीमाको सेयर महँगो
बीमा कम्पनीले दिने लाभांश धेरै नभई सेयर आपूर्ति नै कम भएकोले बीमा समूहको सेयर मूल्य उच्च रहेको देखिएको छ । एक दिनको सेयर कारोबारलाई हेर्दा पनि उक्त कुरा प्रष्ट हुने गरेको छ ।

असोज ४ गतेको बजारमा पनि ननलाईफ इन्स्योरेन्सको ४ लाख १२ हजार ४११ कित्ता सेयर ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी वाणिज्य बैंकको सोहि दिन ३५ लाख ५३ हजार कित्ता सेयर किता सेयर १ अर्ब ६० करोड रुपैयाँ बराबरका सेयर कारोबार भएको छ ।

सेयर कित्ता कारोबारका आधारमा बीमा समूह भन्दा बैंकिङ समूह साढे आठ गुणा बढी छ । रकम पनि साढे दुई गुणा बढी छ ।

कूल २० वटा बीमा कम्पनीले निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । जसमध्ये १८ वटा कम्पनीको सेयर दोश्रो बजारमा सूचीकृत छन् । सबै निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब १७ करोड रुपैयाँ रहेको छ । जसको साधारण सेयर हिस्सा ८ अर्ब १६ करोड रुपैयाँ बराबर रहेको छ ।

सूचीकृत सबै निर्जीवन बीमा कम्पनीहरुको सेयर पुँजी भन्दा ग्लोबल आईएमई बैंक एउटाको सेयर पुँजी बढी छ । साधारण सेयर पनि सबै निर्जीवन बीमा कम्पनीहरुको योगभन्दा ग्लोबल आईएमई बैंक एउटैको बढी छ ।

ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । जुन सूचीकृत निर्जीवन बीमा कम्पनीको भन्दा एक अर्ब ४६ करोड रुपैयाँले बढी हो । त्यस्तै, बजारमा साधारण सेयरको हिस्सा पनि निर्जीवन बीमा क्षेत्रको भन्दा ग्लोबल आईएमई बैंककै ९८ करोड रुपैयाँले बढी छ ।
बजारमा बीमा समूह अन्तर्गतका कम्पनीका सेयरको सप्लाई कम भएकै कारण उनीहरुको सेयर मूल्य बढी भएको जानकारहरु बताउँछन् ।

‘सबै निर्जीवन बीमा कम्पनीको सेयर पुँजी भन्दा एउटा बैंकको सेयर पुँजी बढी छ । बजारमा सेयर आपूर्ति कम भएकोले पनि बीमा कम्पनीको सेयर मूल्य बढी छ’ नेपाल निर्जीवन बीमा व्यवसायी संघको उपाध्यक्ष मनोहर दास मुलले भने । बीमा कम्पनीहरुले पुँजी बढाउन हकप्रद सेयर जारी गर्ने आशाले पनि बीमा कम्पनीहरुको सेयर मूल्य उच्च भएको उनको भनाई छ ।

निर्जीवन बीमा कम्पनीमा सबैभन्दा बढी शिखर इन्स्योन्सको रहेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपेयाँ रहेको छ । त्यस्तै, नेको इन्स्योरेन्सको १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने बाँकीको साढे १ अर्ब भन्दा कम रहेको छ ।

जसमध्ये राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा कम चुक्ता पुँजी रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ मात्रै रहेको छ ।

त्यस्तै, ९ इन्स्योरेन्स कम्पनीमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयर रहेको छ । शिखर, नेपाल इन्स्योरेन्स, एनएलजी, प्रभु, आईएमई जनरल, सिद्धार्थ, हिमालयन जनरल, प्रिमियर र यूनाईटेड इन्स्योरेन्सको चुक्ता पुँजीको ४९ प्रतिशत सेयर साधारण रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा कम बजार हिस्सा रहेको छ । संस्थाको चुक्ता पुँजीको १२.२ प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको साधारण सेयर छ भने बाँकी २३ करोड रुपैयाँ संस्थापक सेयर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.